चाडपर्व लक्षित गीत गाउने होडबाजी
गुलरिया : हालै ‘माया टोक्नै नमिल्ने’ बोलको गीत सार्वजनिक गरेका बर्दियाका गायक प्रभात सुवेदी अहिले यस क्षेत्रमा चर्चामा छन् । गायिका तुलसी घर्तीमगरको युगल स्वरमा गाएको गीत दुई दिनमै ५० हजार भ्युअर पुग्दा उनी मक्ख छन् ।
बर्दियाकै कमल अधिकारी, प्रभात सुवेदी, कमल बीसी (माल्दाइ), सीता बोहोरा, रोशन अधिकारीलगायत गायकहरू चाडपर्वलाई लक्षित गर्दै गीतको कोसेली ल्याउन व्यस्त छन् ।
संगीतकार बीबी अनुरागीको संयोजन तथा गायक सुवेदीको संगीतमा संयोजन गरिएको लोकलयमा आधारित गीतको भिडियो पनि सार्वजनिक भएको छ । विनोद न्यौपाने र अनिशा न्यौपानेले मोडलिङ रहेको गीतको कोरियोग्राफी ओजश्वी साउद र आशुतोष एडीले गरेका हुन् । माया टोक्नै नमिल्ने बोलको गीत बजारमा ल्याउँदा धेरै खुसी लागेको बताउने सुवेदीले युवा पुस्तामाझ आफ्नो सांगीतिक कोसेली हिट हुने दाबी गरे ।
बर्दियाका गायक रोशन अधिकारीले ‘मलाई यस्तो सजाय किन तोक्यौ मायालु’ बोलको आधुनिक गीत बजारमा ल्याएका छन् । ‘आफ्नै दाजु कमल अधिकारीको संगीत तथा मदन आचार्यको शब्द रहेको आधुनिक गीतको भिडियो ल्याउने तयारी उनको छ । ‘ श्रोताको माया पाए मोफसलमा बसेर गरेको सांगीतिक कष्ट हराउने रहेछ’, उनले भने ।
बर्दियाकी गायिका सीता बोहराले पनि तीजको गीत बजारमा ल्याएकी छन् । बर्दियाका युवा कमल बीसी माइल्दाइसँगको स्वरमा ‘नाच माया लजाउँदै लजाउँदै’ बोलको तीज गीत बजारमा आएको हो । गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ । गीतमा कमल बीसी, करिश्मा ढकाल र गायिकाका छोरा वैभव अधिकारीले नृत्य गरेका छन् ।
बर्दियाका संगीतकार कमल अधिकारी मोफलमै बसेर पनि सांगीतिक क्षेत्रमा स्थापित भएका छन् । उनले संगीत दिएको ‘मबिना पोखरा’ मा बोलको गीत चर्चा कमाइसकेको छ । विभिन्न गीतमा संगीत भरेर चर्चा कमाएका अधिकारीले शिव परियार, प्रमोद खरेल, अञ्जु पन्त, स्वरूपराज आचार्यलगायत थुप्रै गायकका गीतले चर्चा पाएका छन् । अधिकारी भन्छन्, ‘सांगीतिक बजारका लागि मोफसललाई बिर्सनु हुँदैन ।’