रोकिएन गिट्टी-ढुंगाको अवैध उत्खनन

रोकिएन गिट्टी-ढुंगाको अवैध उत्खनन

 धनगढी : वर्षायाममा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खननमा रोक लगाए पनि प्रदेशको राजधानी धनगढी आसपासका नदीनालामा उत्खनन रोकिएको छैन। सरकारले असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। स्थानीय जनप्रतिनिधिको संलग्नतामै दैनिक उत्खनन भइरहेको स्थानीयको आरोप छ। धनगढीसँगै जोडिएको गोदावरी नगरपालिका-९ मा पर्ने खुटिया नदीबाट खुलेआम बालुवा उत्खनन भइरहेको छ।

सरकारले भदौ मसान्तसम्मका लागि नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न पूर्णरूपमा रोक लगाएको छ। भारी वर्षा हुने तीन महिना नदीजन्य पदार्थको उत्खननले नदीले धार परिवर्तन गरी बाढीको सम्भावना बढ्ने र अन्य जोखिम हुने भएकाले सरकारले पछिल्ला वर्षमा असार, साउन र भदौमा उत्खननमा रोक लगाउने गरेको हो।

जथाभावी नदीजन्य सामग्री उत्खननगर्दा आसपासका बस्ती जोखिममा पर्ने गरेका छन्। गोदावरी नगरपालिका-९ धनचौरी क्षेत्रमा बालुवा उत्खनन नरोकिएपछि बस्ती नै जोखिममा परेको छ। स्थानीयले पटक-पटक रोक्न माग गरे पनि वर्षायाममा समेत रातारात नदीजन्य पदार्थ उत्खनन हुने गरेको छ।

‘वडा नम्बर ९ मा खुटिया नदीले धेरै भाग घेरेको छ’, स्थानीय सागर जोशीले भने, ‘त्यसैमा बालुवा उत्खनन गरेर नदीको धार परिवर्तन हुने खतरा बढेको छ।’ उनले पटक-पटक स्थानीय सरकारलाई जानकारी गर्दा पनि बेवास्ता गरेकाले त्यसमा स्थानीय जनप्रतिनिधिको मिलेमतोको आशंका व्यक्त गरे।

रोयल्टीबिनै बालुवा उठाउँदा पनि कसैको ध्यान जान सकेको छैन। लुकीछिपी बालुवा उत्खनन गर्दा प्रहरी प्रशासनले कुनै सुनुवाइ नगरेको उनले बताए। ठेकेदारले दैनिक सयौं ट्र्याक्टर बालुवा उठाइरहेको अर्का स्थानीय बलबहादुर रावतले बताए। स्थानीयले रोक्न आग्रह गर्दा पनि कसैले नमानेको रावतको भनाइ छ। जथाभावी उत्खननले गर्दा बल्मी क्षेत्र उच्च जोखिममा रहेको रावतले जानकारी दिए।

यसअघि जिल्ला विकास समितिले झन्डै ४ करोडमा वार्षिक ठेक्का दिने गरिएको खुटिया नदीको यसपालि स्थानीय तहले ठेक्का लगाउने अधिकार पाएको छ। खुटियाको आधा भाग गोदावरी नगरपालिका र आधा भाग धनगढी उपमहानगरपालिकामा पर्छ। अहिले गोदावरी र धनगढीको सिमाना पर्ने क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको हो। ‘खुटिया धनगढी र गोदावरी दुईवटै स्थानीय तहमा पर्छन्’, गोदावरी नगरपालिका-९ शेहरीकी वडाध्यक्ष राधिका जोशीले भनिन्, ‘हामीले प्रहरीको जिम्मा लगाए पनि धनगढीका जनप्रतिनिधिले छाड्न लगाउने गरेका छन्।’

स्टकबाट भन्दै ठेकेदारले रातारात नदीबाट ढुंगा-बालुवा उठाएर धनगढीका सडक ग्राभेल हुने गरेका छन्। सडकमा धेरै खाल्डा भएपछि स्टक सामग्रीबाट मगाएको धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष नरबहादुर बमले बताए। तर, स्थानीयले भने नदीबाटै ग्राभेलसमेत उत्खनन भइरहेको बताएका छन्।

बर्षातका बेला बजारमा बालुवा अभाव हुने र मूल्य धेरै पाइने भएपछि धनगढी आसपासका ट्र्याक्टर बिहान-बेलुकी खुटियाबाट बालुवा उत्खनन गर्ने गरेका छन्। ठेकेदारले नदी आसपासमै स्टक केन्द्र बनाएर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका छन्। नदीजन्य पदार्थ उत्खनन बन्द हुनुअघि दुई हजार पर्ने एक ट्र्याक्टर बालुवा बजारमा चार हजारसम्म बिक्री हुने गरेको व्यवसायी बताउँछन्।

जिल्लामा नदीजन्य सामग्री व्यवस्थापन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले पूर्णरूपमा बन्द रहेको जानकारी दिए। उनले कतै उत्खनन गरेको पाइएमा पक्राउ गर्ने बताए। आइतबार मात्रै ५ हजार रुपैयाँ जरिवाना तिराएर एक ट्र्याक्टर छाडिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.