तालाबन्दी खोल्न साढे दुई लाखको बार्गेनिङ
नेपालगन्ज : नेपाल विद्यार्थी संघका विद्यार्थीले नेपालगन्जको एक प्राविधिक शिक्षालयमा लगाएको तालाबन्दी खोल्न दुई लाख ५० हजार रुपैयाँ बार्गेनिङ गरेको रहस्य खुलेको छ।
नेपालगन्ज हेल्थ क्याम्पसमा लगाएको तालाबन्दी खोल्ने विषयमा पैसाको लेनदेनमा विवाद भएपछि झडप भइ नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटा कुटिएपछि पैसा वार्गेनिङको भेद खुलेको हो। देवकोटाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।
क्याम्पसका कांग्रेसका पूर्वसभासद् तथा क्याम्पसका निर्देशक मैकुलाल वाल्मिकीले आइतबारदेखि तालाबन्दी खोल्न पैसाको बार्गेनिङ गरेको बताए। ‘मसँग हिजोदेखि साढे लाख रुपैयाँबाट मागेका थिए। डेढ लाख रुपैयामा कुरा मिल्यो भनेर सुर्खेतबाट प्रकाश राना भन्ने व्यक्ति चेक लिन आएका रहेछन्’, वाल्मिकीले भने, ‘उनीहरुले आफैं कुरा गरे। मैले ३० हजार रुपैयाँसम्म लिने भए लैजाउ भने। उनीहरुले जबरजस्ती गर्दा सर्टको कलर समात्दा आफैं लडेका हुन्।’
नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति चेतनारायण शर्माले वार्ताका लागि बोलाएर निर्देशक वाल्मिकीले आफ्नै कार्यकक्षमा कुटपिट गरेको आरोप लगाएका छन्। वाल्मिकीले भने नेविसंघका कार्यकर्ताले आपसमा झगडा गर्दा कुटपिट भएको जिकिर गरेका छन्। नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र वडुवाललाई बार्षिक परीक्षा दिनबाट बञ्चित गरेको भन्दै नेविसंघले चार दिनदेखि तालाबन्दी गरेको थियो।