बालिका हत्या प्रकरण : महेन्द्रनगर तनावग्रस्त, प्रदर्शनकारीमाथि अश्रुग्यास

बालिका हत्या प्रकरण : महेन्द्रनगर तनावग्रस्त, प्रदर्शनकारीमाथि अश्रुग्यास

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले एकजना युवालाई सार्वजनिक गरेपछि महेन्द्रनगर बजार तनावग्रस्त बनेको छ । 

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । 

उनीहरुले महेन्द्रनगर बजारमा प्रदर्शन गरेका छन् । महेन्द्रनगर बजार बिहानैदेखि ठप्प छ । यातायात र शिक्षण संस्थासमेत बन्द छन् । स्थानीय व्यापारीसमेत आफ्नो बजार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्व नाराबाजी भइरहेको छ । प्रशासन कार्यालयमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास हानेको छ । 

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेट तोडेर भित्र जाने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटीले ११ राउण्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर २ प्रहरी जवान घाइते भएका छन् । 

भागदौडका क्रममा केही प्रदर्शनकारीलाईसमेत चोट लागेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रशासन अघिको आन्दोलनकारीहरुको भीड तितरबितर भएको थियो । 

१३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेको भन्दै दिनहुँ आन्दोलन भइरहेको थियो । हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित नागरिक संघर्ष समितिको नेतृत्वमा प्रशासन कार्यालय अघि भइरहेको रिले अनशन जारी छ । 

प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिप सिंह विष्टलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

२६ औं दिनसम्म समेत हत्यारा पक्राउ गर्न नसकेको अवस्थामा बढ्दो दबाब कम गर्न मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई पक्राउ गरि कारबाही थालिनुले मुख्य अभियुक्त जोगाउने खेल भएको स्थानीयको आरोप छ । 

‘पक्राउ परेका भनिएका विष्टको मानसिक अवस्था नै ठिक देखिएको छैन’ अधिवक्ता एवं अधिकारकर्मी पुनमसिंह चन्दले भनिन्, ‘प्रहरीले घट्नाबाट जोगिनका लागि गरेको काम खेदजनक देखिन्छ ।’ उनले आन्दोलन अझै शसक्त हुुने बताइन् । 

सोमबार हत्याका अभियुक्त सार्वजनिक गरिएपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा स्वःस्फूर्त व्यापारी र सर्वसाधारणले दोषीलाई उन्मुक्ति दिई निर्दोषलाई फसाउन नहुने भन्दै विरोधमा आन्दोलनमा उत्रिएका हुन् । 

सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अभियुक्तले आरोप स्वीकार गरेको र केही प्रमाणसमेत फेला परेको दावी गरेको थियो । तर पक्राउ गरिएका दीलीप सिंह विष्टलाई अदालतमा म्याद थपका लागि लाँदा न्यायाधीशसमक्ष आफूलाई फसाउन खोजिएको भन्दै आरोप स्वीकार गरेका थिएनन् ।

विष्टलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । निर्मलाको बलात्कार र हत्या कहाँ र कसरी भयो भन्नेबारे प्रहरीले अझै प्रष्ट खुलाउन सकेको छैन । म्याद थपपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ । 

पक्राउ परिएका दिलीप सिंह विष्टका नाममा किटानी जाहेरी दिन प्रहरीले हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई समेत दवाव दिएको थियो । तर बालिकाका परिवारले भने किटानी जाहेरी दिएका छैनन् । प्रहरीले अभियोग लगाएका व्यक्ति मानसिक रुपमा ठिक नभएकाले उनले एक्लैले घटना गराएको विषयमा स्थानीय विश्वस्त देखिएका छैैनन् । 

मुल सडकबाट करिब २ सय मिटरको दुरीमा कसरी लगेर बलात्कार गरी हत्या गर्न ती युवक सफल भए भन्ने प्रश्नको जवाफ समेत प्रहरीले दिन सकेको छैन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा निर्मलाको हत्या दिलीपसिंह विष्टले नै गरेको निष्कर्ष निकाल्दै सोमबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । 

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला अर्काे दिन भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा फेला परेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.