ससुरालीमा पुगेर पत्नी र छोरीमाथि खुकुरी हानियो

ससुरालीमा पुगेर पत्नी र छोरीमाथि खुकुरी हानियो

विराटनगर : विराटनगर महानगरपालिका ११ मा एक व्यक्तिले मंगलबार विहान पत्नी र झड्केली छोरीको हत्या प्रयास गरेका छन् । 

४२ वर्षीय दिलिप सहनीले ससुरालीमा पुगेर पत्नी ३७ वर्षीया पुनम सहनी र झड्केली छोरी मनिताको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते दुवैजनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

उनीहरुको अनुहार, टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले विराटनगर आएपछि मंगलबार विहान ९ बजे दुवैजनालाई नियन्त्रणमा लिएर खुकुरीले हानी हत्याको प्रयास गरेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । 

पुनम दिलिपकी कान्छी पत्नी हुन् । प्रहरीका अनुसार चार वर्षअघि पति प्रविण सहनीको मृत्यु भएपछि उनी विराटनगर–११ स्थित माइतमै बस्दै आएकी थिइन । 

पुनमले दिलिपसँग सात महिना अघि मात्रै दोस्रो विवाह गरेकी थिइन् । पुनमका पहिलो पति प्रविणतर्फका चार छोरी र दुई छोरा गरेर छ सन्तान छन् । 

प्रहरीका अनुसार तीन छोरीको विवाह भइसकेको तथा एक छोरी र दुई छोरा भने मामलीघरमा पुनमसँगै बस्दै आएका थिए । आमाले विवाह गरे पनि विवाह नभएका छोरा छोरी भने मामलीमै बसिरहेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी मनिता पुनमकी प्रविणतर्फकी छोरी हुन् । 

परिवारका अनुसार दिलिपको भने पुनमसँगको विवाह तेस्रो हो । यस अघि विवाह गरेका दुई पत्नीले छाडेर गएपछि उनले सात महिना अघि पुनमसँग तेस्रो विवाह गरेको स्थानीय सुनिल सहनीले बताए ।

‘दिलिपले यस अघि विवाह गरेका पत्नीलाई पनि धेरै यातना दिने गरेका कारण बस्न नसकेर उनीहरुले छाडेको पाइयो,’ उनले भने, ‘तेस्रो विवाह गरेर भित्राएकी पत्नी र अर्को श्रीमानतर्फकी छोरीलाई पनि खुकुरी हानेर यो हालत बनाइदिएछन् ।’ 

सुनिलले घटना थाहा पाएर छुट्याउनका लागि स्थानीय बासिन्दा नपुगेको भए दुई जनाको हत्या गर्ने उदेश्यले घटना गराएको बताए । ससुराली घरमै आएर दिलिपले खुकुरी हान्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । दिदी र भान्जीलाई काट्दै गरेको देखेर छुट्याउनका लागि पुगेका दिलिपका सालो २७ वर्षीय सन्दिप सहनीको पनि हातमा खुकुरीको चोट लागेको छ । 

विवाह गरेपछि पुनमलाई सिरहा लिएर गएका दिलिपले त्यहाँ पनि धेरै कुटपिट गर्ने गरेको खुलेको डिएसपी थापाले बताए । उनका अनुसार सिरहामा पनि पटक पटक कुटपिट र यातना दिन थालेपछि सहन नसकेर पुनम दुई साता अघि विराटनगर स्थित माइतमै आएर बसेकी थिइन । 

‘धेरै पटक डोरीले बाँधेर म माथि कुटपिट गर्ने काम भयो । एक पटक त मारिदिन्छु भनेर डोरीले बाँध्न थालेपछि हारगुहार गरेर छिमेकीको सहयोग लिंदै भाग्न सफल भए,’ पुनमले भनिन्, ‘त्यसपछि विराटनगर आएर माइतमै बस्न थालेकी थिएँ । उनलाई छाडेर माइतमा बस्दा पनि धर पाइँन ।’ 

उनले विनाकारण मादक पदार्थ पिएर घर आएपछि कुटपिट गर्ने गरेकोे बताइन । माइतमा आएर बसेपछि धेरै पटक फोन गरेर गोलबजार नआए विराटनगरमै आएर मारिदिने धम्की पनि दिएको उनको भनाइ छ । पुनमले पतिबाट आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा एक साता अघि निवेदन पनि दिएकी थिइन् । 

डिएसपी थापाले यस अघि सिरहामा घटना भएका कारण मोरङ प्रहरीको कार्यक्षेत्र भित्र नपर्नाले अनुसन्धान गर्न नपाइएको बताए । उनले पतिले धम्की दिने गरेको भनेर प्रहरी कार्यालयमा परेको निवेदनबारे राम्ररी अध्ययन गर्न नपाइ अचानक घटना भएको जानकारी दिए ।

घटनामा संलग्न दिलिपलाई भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । प्रहरीले घटनाबारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.