मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रहरीका मुख्य अभियुक्त ?

मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रहरीका मुख्य अभियुक्त ?

महेन्द्रनगर : हत्या भएको २६ दिनपछि सोमबार प्रहरीले बालिका निर्मला पन्तको हत्या अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गर्‍र्यो ।

हत्यारालाई कारबाहीको माग राखेर सुरु भएको आन्दोलन अभियुक्त सार्वजनिक भएपछि झनै पेचिलो बनेको छ । मानसिकरुपमा ठीक नभएका युवकले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको निष्कर्षसहित प्रहरीले उनलाई सार्वजनिक गरेपछि आमकञ्चनपुरवासीलाई शंकाको घेरामा राखेको छ । 

२५ औं दिनसम्म प्रहरीले घट्ना गम्भीर प्रकृतिको भएकाले निकै चलाखीकासाथ घटना गराइएको बताउँदै आएको थियो । तर २६ औं दिनमा सार्वजनिक गरिएका अभियुक्तबारेमा भने आमकञ्चनपुरवासी सन्तुष्ट देखिएका छैनन् । जसका कारण प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्किएको छ । 

‘शारीरिक र मानसिक रुपमै अशक्त रहेको मानिसबाट यो हत्या भएको हुन सक्ने आधार देखिँदैन’ महिलाअधिकारकर्मी प्रीति धिरले भनिन्, ‘आन्दोलनलाई मथ्थर पार्न प्रहरीको यो योजना हो ।’ उनले वास्तविक हत्यारा उम्काउने प्रयास भएको बताइन् । 

हत्यारा पक्राउ गर्न मागसहित भएको आन्दोलन कम गर्न मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई पक्राउ गरि कारबाही थालिनुले मुख्य अभियुक्त जोगाउने खेल भएको स्थानीयको आरोप छ । 

‘पक्राउ परेका भनिएका विष्टको मानसिक अवस्था नै ठीक देखिएको छैन’ अधिवक्ता एवम् अधिकारकर्मी पुनमसिंह चन्दले भनिन्, ‘प्रहरीले घट्नाबाट आफू जोगिन गरेको काम खेदजनक देखिन्छ ।’ उनले योजनाबद्ध रुपमा घटना भएको २६ औं दिनमा प्रहरीले गलत अभियुक्त तयार पारेको बताइन् । 

दिलिप मानसिक विरामी 

अभियोग लागेका दिलीपसिंह विष्ट मानसिक बिरामी रहेको उनकै परिवारले समेत बताएको छ । ‘भाइको मानसिक स्वास्थ्य राम्रो छैन’, उनका दाइ खड्गसिंह विष्टले भने, ‘घरमा मात्रै ऊ झगडा गर्न खोज्ने हो, बाहिर उसको बानी व्यवहार त्यस्तो थिएन ।’ 

उनले आफ्नो भाइलाई प्रहरीले जबरजस्ती हत्यारा बनाएर उभ्याउन खोजेको आरोप लगाए । भाइले गाँजा खाने गरे पनि अन्य कुनै खराब बानी नरहेको उनले बताए । 

स्थानीयवासी समेत उनलाई लगाएको आरोप मान्न तयार छैनन् । ‘उसको दिमाग बिग्रेको हो, तर उसले त्यस्तो घट्ना गर्नै सक्दैन’, छिमेकी खेमा सुवेदीले भनिन्, ‘घरमा झगडा गर्न खोजेपनि बाहिर उसबाट कुनै अपराध हुन सक्ने अवस्था उसको थिएन ।’ उनले मानसिक रुपमा ठिक नभएको मानिसबाट त्यत्रो गम्भस्र घटना गर्न नसक्ने दावी गरिन् । 

प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका व्यक्तिबारे बालिकाका परिवारका सदस्यसमेत सन्तुष्ट देखिदैनन् । ‘परिवारले शंका गरेको मानिसका नाममा त अहिलेसम्म जाहेरी दिइएन,’ उनका बुवा यज्ञराज पन्तले भने, ‘चिन्दै नचिनेको र त्यसमा पनि मानसिक सन्तुलन ठिक नभएको मानिसबाट कसरी त्यत्रो अपराध सम्भव देखियो ?’ 

उनले आफ्नी छोरीको वास्तविक हत्यारालाई जोगाउने खेल प्रहरी प्रशासनबाट भइरहेको बताए । प्रहरीले अभियोग लगाएका व्यक्ति मानसिक रुपमा ठिक नभएकाले उनले एक्लैले घटना गर्‍यो भन्ने विषयमा स्थानीय विश्वस्त देखिएका छैैनन् । 

मूल सडकबाट करिब २ सय मिटरको दुरीमा कसरी लगेर एक्लै बलात्कार गरी हत्या गर्न ती युवक सफल भए भन्ने प्रश्नको जवाफसमेत प्रहरीले दिन सकेको छैन् । बालिकालाई कसरी सहजै त्यहाँसम्म मानसिक सन्तुलन ठिक नभएको मानिसले लगेर बलात्कारपछि हत्या गर्न सक्छ भन्ने प्रश्न आम मानिसमा उब्जेको छ । 

प्रहरीकै अनुसार समेत उनी मानसिक रुपमा ठिक नभएका व्यक्ति हुन् । प्रहरीले उनी गाँजा र मादक पदार्थ पिउने, बजारमा मानिसहरुसित २०÷३० रुपैयाँ मागी हिड्ने, कहिले घरमा जाने त कहिले नजाने, नयाँ लुगा भए पनि कहिले नलगाउने, सधैँ पुरानो लुगा लगाएर हिँड्ने, घरमा पनि बाहिरै सुताउने गरेको लगायतको आचरण अभियुक्तको रहेको बताएको छ । 

‘आफ्नै भेनाजुको हत्या गरी कारागारमा सजाय काटेर आएको व्यक्ति हो’ एसपी डिल्लीराज विष्टले भने, ‘अपराध स्वीकारेको र उसैबाट अपराध भएको प्रमाण फेला परेकै आधारमा हामीले अभियुक्तबाटै बलात्कारपछि हत्या गरेको पुष्टि गरेका हौं ।’ 

प्रहरीले अभियुक्तले घटना गराएकोबारेमा केही जानकारी सार्वजनिक गरेको छैन । २०६५ सालमा आफ्नो कान्छो भेनाजु नारायण सिंह थापाको हत्या गरेपछि ९ वर्ष जेल सजाय भुक्तान गरी गतवर्ष २०७४ जेठमा उनी थुनामुक्त भएका थिए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा निर्मलाको हत्या दिलीपसिंहले नै गरेको निष्कर्ष निकाल्दै सोमबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । 

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला अर्काेदिन भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा फेला परेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.