चार दिन हिँडेर सेयर आवेदन दिन सदरमुकाम
धादिङ : धादिङको रुवीभ्याली गाउँपालिकाको तिप्लिङका ६० वर्षीया ङावाङ तामाङ चार दिन हिँडेर सदरमुकाम धादिङबेसी आइपुगे। गाउँमै बसिरहेका उनी धादिङबेसी आउनुको एउटै कारण थियो, आँखुखोला जलविद्युत् आयोजनाको सेयर भर्नु। ङावाङले भने, ‘छोराले सेयर भर्न सदरमुकाम आउ भन्यो, अनि चार दिन हिँडेर आएँ।’
हिउँदको समयमा दार्खाफेदीसम्म सवारीसाधन चले पनि बर्खामा सदरमुकामसम्मै हिड््नुपर्ने धादिङको उत्तरी क्षेत्रका वासिन्दाको बाध्यता हो। लौरो टेकेर सेयर भर्न आएका ङावाङलाई सेयर किन भर्ने भन्नेसम्म जानकारी छैन। ङावाङका छोरा डिलबहादुर तामाङले भने, ‘धादिङवासीका लागि धादिङकै जलविद्युत् आयोजनाको सेयर खुलेको छ, भर्नुहोला भनेर रेडियोबाट सूचना सुनियो। फाइदा बेफाइदा के हुन्छ त केही थाहा छैन, अरु साथीभाइले भरेको देखेर बुवालाई समेत सदरमुकाम धादिङवेसी ल्याएको हुँ।’ धेरै जनाको नाममा भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने सुनेर बुवाको, छोराको र आफ्नो नाममा १०÷१० हजारको सेयर भरेको डिलबहादुरले बताए।
आँखुखोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित धादिङका स्थानीयका लागि साधारण सेयर खुला गरेको छ। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। छिटोमा साउन ३१ र ढिलोमा भदौ १५ गतेसम्म भर्न सकिने आँखु खोला जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरुले जानकारी दिए। उनले भने, ‘आईपीओमा धादिङ जिल्लावासीले न्युनतम् ५० कित्ता र अधिकतम् चार हजार कित्तासम्म आवेदन दिन सकिनेछ।’
सेयर भर्न धादिङको उत्तरी क्षेत्रका बासिन्दा टोलटोलबाट समूह बनाएरै सदरमुकाम झरेका छन्। सदरमुकाममा बस्ने छोरानातिले खबर गरेपछि चार दिन हिँडेर सदरमुकाम आएको ७२ वर्षीय मेन्जोम घलले बताइन्। मेन्जोमका छोरा शुकबहादुरका अनुसार साथीहरुले भरौ फाइदा हुन्छ भनेकाले आमा र आफ्नो नाममा सेयर भरेको बताए।
आँखुखोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित धादिङका स्थानीयका लागि साधारण सेयर खुला गरेको छ।
धादिङ जिल्लास्थित मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका विभिन्न शाखाबाट सेयर भर्न मिल्ने भएपछि गत आइतबारदेखि बैंकमा सेयर भर्नेको लामनै लागेको छ। सेयर किन भर्ने, के फाइदा हुन्छ र कसरी फाइदा हुन्छ भन्ने जानकारी नै नभएकाले पनि अरुको लहैलहैमा लागेर सेयर फाराम भरिरहेका छन्। प्रभु बैंक धादिङ शाखाका प्रबन्धक ईश्वर श्रेष्ठले भने, ‘पछिल्ला दिनमा उत्तरी धादिङका स्थानीयको भीड नै लागेको छ, आँखुखोला हाइड्रोपावर पनि उत्तरी धादिङमै भएकाले उत्तरका स्थानीयले विशेष चासो दिएर टोलटोल नै उल्टिएर सेयर भर्न आएका छन्।’
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको रिंनेमा ८.४ मेगावाटको आँखुखोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यस आयोजनाबाट २०७० सालदेखि नै नियमित रूपमा विद्युत् उत्पादन हुँदै आएको छ। निजी क्षेत्र, ‘आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड’ ले निर्माण गरेको आयोजनाको लागत प्रतिमेगावाट झण्डै २९ करोड रुपैयाँ पुगेको छ। स्थानीयलाई सेयर वितरण गरेपछि कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर नेपालभरका सर्वसाधारणका लागि निश्कासन गर्नेछ। २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यावसायिक रूपमा बिजुली उत्पादन थालेको हो।