कांग्रेसले बनायो विधान मस्याैदा समिति
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समिति गठन गरेका छन्। उनले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ११ सदस्यीय समितिसमेत गठन गरेका छन्। महासमिति भेलाबारे पछिल्लो समयमा अन्योल बढेपछि बिहीबार बिहान सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीको अनौपचारिक बैठक डाकेका थिए। बैठकलगत्तै देउवाले समिति घोषणा गरेका हुन्।
शुक्रबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महासमिति भेलाको तिथि र स्थान टुंगो लगाउने पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। भदौभित्रै महासमिति भेला गर्ने गरी सभापति देउवाले प्रस्ताव लैजाने तयारी गरेका हुन्। काठमाडौं–पोखरामा हुने भनिएको महासमिति भेलाको तिथि नवगठित मस्यौदा समितिलाई तयारी गर्न लाग्ने समयलाई ध्यानमा राखी तोकिनेछ।
नवगठित समितिको पहिलो बैठक शुक्रबार बस्नेछ। बैठकलगत्तै केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। समितिको पहिलो बैठकले कार्यविधि र लाग्ने समयबारे निष्कर्ष निकाल्ने र त्यसबारे समितिका संयोजकले पार्टीको बैठकमा जानकारी गराउने तयारी छ। महामन्त्री खड्काले पार्टीको बैठकमा त्यसको जानकारी गराएपछि महासमिति भेला तय हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
नया“ विधान मस्यौदा समितिले पार्टीको वर्तमान संरचनालाई नै विस्थापित हुने गरी विधान बनाउने भएकाले यसप्रति चौतर्फी चासो छ। संघीय ढा“चामा मुलुक गइसके पनि कांग्रेसको संरचना पुरानै छ।
महासमिति भेलाको तिथि नवगठित मस्यौदा समितिलाई तयारी गर्न लाग्ने समयलाई ध्यानमा राखी तोकिनेछ।
खड्का नेतृत्वको समितिका अन्य सदस्यमा मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन्। वैशाख १६ मा कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति भेला गर्ने र त्यसका लागि जतिसक्दो चा“डो विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो।
बिहीबारको बैठकले महासमिति भेलाका लागि तयारीस्वरूप विभिन्न समितिसमेत गठन गर्ने विषयमा छलफलसमेत गरेको छ। त्यसका लागि देउवा नेतृत्वमा मूल तयारी समिति गठन गर्ने, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव प्रतिवेदन लेखन समिति, महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा संगठनसम्बन्धी प्रस्ताव समिति, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति र सहमहामन्त्री महतको संयोजकत्वमा आर्थिक नीति एवं प्रचारप्रसार समिति गठन गरिनेछ। यी समिति गठनको औपचारिक निर्णय शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने बताइएको छ।
शुक्रबार नै पार्टीको कार्यसम्पादन र अनुशासन समिति गठन गर्ने कांग्रेसको तयारी छ। यस विषयमा सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग छलफल गरेको देउवा निकट एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस !