सहर पसे आरन चलाउनेहरू
भोजपुर : आरनबाट फलामे सामान बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । गाउँमा आरन चलाउने व्यक्ति नपाउँदा पौवादुङ्मा गाउँपालिका च्यांग्रेका स्थानीय तयारी सामानमै भर पर्न थालेका छन् ।
यहाँ विश्वकर्मा समुदायका १५ घरपरिवारले आरन चलाउँदै आएका थिए । तर, सबै परिवार धरान, इटहरी, विराटनगर, बिर्तामोड, काठमाडौंलगायत सहर पसेपछि अहिले गाउँमा एक जना पनि आरन चलाउने व्यक्ति भेटिँदैनन् । हँसिया अर्जाप्न या नयाँ किन्न पनि १०–११ कोश पर सदरमुकाम या लेगुवा बजार धाउनुपरेको च्यांग्रे औलियाका वीरबहादुर सुनार सुनाउँछन् । ‘सामान्य एउटा हँसिया बनाउन, किन्न पनि सदरमुकाम जानुपर्छ’, उनी भन्छन्, ‘अरू सामान पनि उताबाटै ल्याउनुपर्छ । के गर्नु ? बनाउने मान्छे सबै तराई झरे, आफूसँग सीप छैन ।’
च्यांग्रे मान्ताङका अमृत दर्नाल बाबु–बाजेको पुख्र्यौली पेसाप्रति पछिल्लो पुस्ताले चासो नदिँदा अरूकै भर पर्नुपरेको सुनाउँछन् । ‘प्रायः आरन चलाउनेहरू वैदेशिक रोजगारमा गए’, उनी भन्छन्, ‘केही सहरतिरै अन्य पेसा अँगालेर बसेका छन् । आफ्ना बाबु–बाजेले गर्ने गरेको पेसा हामीले अँगाल्न सकेनौं । अहिले फलामको सामान बनाउन, किन्न कोशौं टाढा धाउनुपरेको छ ।’
आरन चलाउने घरमा फलाम पिटी हँसिया, खुकुरी, कोदाली, कोदालो, कुटे, बञ्चरो, फालीलगायत सामान बनाउन, अर्जाप्न स्थानीय आउने गर्थे । दसंै, तिहारका बेला हातहतियार बनाउन गाउँलेहरू बढी संख्यामा आउने गरेको अर्का स्थानीय बलबहादुर विक स्मरण गर्छन् । उनका अनुसार फूलपातीसम्म भ्याइनभ्याइ हुने आरनघरमा स्थानीय बढीभन्दा बढी मार हान्ने खुँडा, कट्टी, खुकुरी धार लगाउन, घरायसी सामान चोख्याउन आउँथे ।
करिब ५ सय घरधुरी रहेको च्यांग्रेका औलिया, च्यांग्रे बजार, प्याक्ला, मान्ताङ गाउँ जिल्लाको पूर्वी भेगका लागि फलामे सामान, कृषि औजार बनाउने थलोका रूपमा लिइन्छ । तर, तीन वर्षअघि आरन चलाउने बाँकी तीन घरका सदस्य पनि वैदेशिक रोजगार र वैकल्पिक पेसा अँगाल्दै बसाइँ गएपछि समस्या भएको प्याक्लाका मेरमान पाण्डे बताउँछन् ।
आरन पेसा हुँदा गाउँमा बालीघरे प्रथा अर्थात् यसका लागि अन्नबाली लेनदेन चल्थ्यो । एक घरबराबर एक मुरी अन्नमा ज्यालाको हिसाब हुन्थ्यो । दसैंका बेला हातहतियार, हाते औजार र अन्य गाउँबाट सामान बनाउन आउनेसँग भने पैसामा ज्यालादारी हुन्थ्यो ।
आरन चलाउनेहरू सहर हिँडेपछि अहिले हाटबजारमा फलामका सामग्रीको बेचबिखन पनि हुन छाडेको स्थानीय रामकुमार राई बताउँछन् । ‘फलामे सामान किन्न मान्छेहरू अन्तबाट यहाँ आउँथे । बिक्रीवितरण पनि राम्रै हुन्थ्यो’, उनी भन्छिन्, ‘तर, अहिले सबैले पेसा गर्न छाडे, बजारमा पनि खासै बेचबिखन हुन्न ।’