प्रकाण्डलाई रिहा गर्न माग गर्दै फेरि सर्वोच्चमा रिट
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिना सर्त रिहा गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सर्वोच्च अदालतले रिहा गरिसक्दा बिना प्रमाण प्रहरीले पटक-पटक पक्राउ गरेको भन्दै प्रकाण्डका आफन्त वीरेन्द्र विकले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्। उनले रिटमा प्रकाण्डलाई तत्काल बिना सर्त रिहा गर्न माग गरिएको छ।
पूर्वमन्त्रीसमेत रहेका ‘प्रकाण्ड’लाई गएराति नुवाकोट लगिएको छ। साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन उनलाई नुवाकोट लगिएको हो।
गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो।
आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रकाण्ड दोस्रो पटक सर्वोच्च परिसरबाटै पक्राउ परेका थिए। यसअघिसमेत प्रकाण्ड भदौ १ गते सर्वोच्च परिसरबाटै पक्राउ परेका थिए।
बिहीबार सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो।
प्रकाण्डमाथि भोजपुरमा भएको बम विस्फोटमा संलग्न भएको आरोपसमे छ।
प्रकाण्ड करोडौं चन्दा असुलीको अरोपमा पहिलो पटक साउन २३ गते दक्षिणकालीबाट पक्राउ परेका थिए। छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजालासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेश लगत्तै काठमाडौं प्रहरीले प्रकाण्डलाई काभ्रेमा एनसेल टावर आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो।