महामारी
घोराहीबाट बस चढेँ। भोलिसम्ममा काठमाडौं पुग्नु थियो। बस कुदेपछि थाकेको मेरो शरीर उँघ्न थाल्यो। कतिबेला निदाएँ, पत्तै भएन।
०००
पोहोर साल गाउँमा महामारी पैmलियो। पानी–पँधेरो वर्षाले हिलाम्मे भएको थियो। त्यसैले वर्षाको पानी धमिलो हुन्थ्यो। हामी त्यही पानी पिउन विवश थियौं। एकनासको झरीले गाउँ रुझेको थियो। झरीको गुञ्जन र पातमा परेको पानीको आवाज मात्र सुनिन्थ्यो। तीन दिनको अविरल झरीपछि आकाश नवयौवनाको छातीझैं खुलेको थियो। दिनको प्रहरमा चर्को घाम लागेर जमिन तात्तिएको आभास दिलाउँथ्यो। गाउँलेहरू अविरल झरीपछिको चर्काे घाममा ज्यादै तिर्र्खाएका देखिन्थे। पानी–पँधेरो भने धमिलो थियो।
अचानक तल बेँसीमा दले पुनको घरमा झाडापखालाले सबै परिवार थला परे। एकदुई दिनमै यसले गाउँभरि महामारीको रूप लियो। स्वास्थ्यकर्मीको सल्लाह हुन्थ्यो, ‘जीवनजल पानी ज्यादा खानू।’ समस्या आखिर पानीको थियो। पाँच दिनमा पाँच जनाको ज्यान गयो, अनि मात्र विस्तारै मत्थर हुँदै गयो।
मुखिया बा भन्थे, ‘हाम्रो गाउँको समस्या भनेकै पानीको हो। स्वच्छ, सफा पानी हामीले कहिले खान पाउने ? ’
महामारी फैलिएपछि, पानी–पँधेरा, मुहान सफा गर्ने र योजनामा पार्ने कुरा चल्थ्यो। तर गाउँ परिषद् हुँदा गाउँ विकास समितिको कार्यालयसम्म जाने फुर्सद कसैलाई हुँदैनथ्यो। परिषद्मा बाटो, विद्यालय, शिक्षक भर्नामा मात्र बहस चल्थ्यो र पैसा छुट्याइन्थ्यो। म धेरै पटक हारेको अनुहार लिएर घर फर्केको थिएँ।
‘यो पटक तपाईं काठमाडौं जानुस्। त्यहाँ हाम्रोमा आउनुभा’को मान्छे निक्कै ठूलो नेता भए भन्नु भा‘हैन। बरु उहाँलाई भनसुन गर्नुस्’, मंगलीले मेरो मलिन अनुहार हेरेर भनेकी थिई।
मैले पनि एकपल्ट उनलाई सम्झेँ। संकटकालको समयमा एक साँझ उनी हाम्रो घरमा पाहुनाको रूपमा देखा परेका थिए। साँझ नहुँदै ढोका बन्द गर्ने हरेक नेपालीको बानी परिसकेको थियो। ढोका एकनासले ढकढक गरेको आवाजले ध्यान खिचेको थियो। म चाल मार्दै ढोका छेउ पुगेँ। त्यतिबेला मंगली र केटाकेटी चुप लागेर एकैठाउँ गुजुल्टिएर बसेका थिए।
‘ढोका खोल्नुस् न,’ बाहिरबाट मसिनो आवाज आयो।
स्वरमा विनम्रता र विनयता झल्किन्थ्यो। मैले ढोका खोल्नासाथ उनी भित्र पसे र भनेका थिए, ‘माफ गर्नुहोला, मैले तपार्इंहरूलाई दु:ख दिएँ।’
टुकीको मधुरो प्रकाशमा उनका जताततै फाटेका लुगा र घाउका चोटहरू देख्न सकिन्थ्यो। उनले सानो झोला पिर्का छेउमा फ्यात्त फाले। उनको अनुहार हेर्न लायक थिएन। काँडाले कोपरेका राता नीला डाम र घाउले अनुहार नै पुरिएको थियो।
मैले ढोका ड्यामडुम्म थुनेँ। मलाई हेर्दै उनले पीडादायक स्वर निकाले, ‘पानी पिउन दिनुहुन्छ ? ’
पानी लिन उनले हात बढाउँदा देखेँ हातमा पट्टी बाँधिएको थियो। उनले एकै सासमा घटघटी पानी सिध्याए। थकित शरीर र अनुहार मायालाग्दो देखिन्थ्यो। मैले भनेँ, ‘तपाईं ज्यादै थकित देखिनुहुन्छ। आराम गर्नुस्, म ओछ्यान लगाइदिन्छु।’
साँझमा आएका पाहुना। त्यसै फर्काउन पनि भएन। त्यसमाथि उनको हालत खराब देखिन्थ्यो। यो अवस्थामा सकेको सहयोग नै गर्नुपर्ने हुन्छ। तर बेला यस्तो थियो कि कसैले थाहा पाए हाम्रो हविगत कष्टकर हुन बेर लाग्दैनथ्यो।
उनी ओछ्यानमा पर्नासाथ निदाएका थिए। हामी घरमा गुमसुम भएर बस्यौं। मंगली चुल्हामा खाना पकाउँदै थिई। केटाकेटी एक छेउमा सुकुलमाथि लडिरहेका थिए।
रातको ९ बजेको थियो होला, उनी चल्मलाए। खाना खान आग्रह गरेँ। उनी बिस्तारै ओछ्यानबाट उठे। हात, खुट्टा र मुख धोएर खान बसे। हामीले खाइसकेका थियौं र केटाकेटी निदाइसकेका थिए। उनले खाँदै गरेको हेर्दै बसिरह्यौं।
‘म क्रान्तिकारी हुँ। हिजो हाम्रो संगठनको भेलामा घेराबन्दी भयो। भागाभागमा म उम्किएँ। लामो हिँडाइ र भागदौडपछि यहाँसम्म आइपुगेँ’, कुरा गर्ने क्रममा उनले भनेका थिए। उनको नाम, ‘विश्वजित’ रहेछ।
दुई दिनसम्म बस्दा उनले हामीलाई धेरै कुराहरू सुनाए। देशमा गरिबी राजतन्त्रको ढुकुटीमा जम्मा हुने भत्ताले गर्दा बढेको कुरा। गरिबले तिरेको तिरोबाट सिंहदरबार चलेको आदि। गृहकार्य सघाइदिँदा केटाकेटी उनीसँग निक्कै झुम्मिसकेका थिए। आफ्नो घाउको उपचार आफैंले गरेका थिए। उनी साँच्चै प्रगतिशील विचारका थिए। शान्त स्वभावका विश्वजित नरम थिए। गाउँको विकासमा देशको उन्नति छ भन्थे। हामीले देशका लागि केही गर्नु छ भन्ने सोच्नु पर्छ भन्थे।
युद्धमा हिँडेका जनसेना हुन् वा झोले कार्यकर्ताहरू, गाउँलेलाई थर्काउँथे। तर, उनमा त्यो अवगुण थिएन। त्यसैले हामीले पनि सक्दो सेवा गर्यौं। उनी चाँडै ठीक भएका थिए। हामी चाहन्थ्यौं उनी अरू समय बसून्, हामीलाई केही थप जानकारी दिँदै जाऊन्। तर उनको अर्कै जिल्लामा ठूलै भेला भएकोले हामीले कर गर्न सकेनौं।
हिँड्ने बेला उनले भनेका थिए, ‘म केन्द्रीय स्तरमा छु, कुनैबेला केही परेमा मलाई भेट्न आउनु होला।’
विगतका कुरा मंगलीले सम्झाएपछि म एक मनले खुसी भएँ। वास्तवमा अहिले गणतन्त्र आइसकेको थियो। रेडियोमा बेलाबेला उनको बारेमा समाचार सुन्ने गरेको थिएँ। उनी त अहिले काठमाडौंमै छन्। एकपल्ट उनलाई भेट्ने रहरले मनमा बुर्कुसी मार्यो । म सहरतिर जाने ध्याउन्नमा लागेँ।
०००
भोलिपल्ट घाम नलाग्दै काठमाडांै खाल्डोमा पुगियो। निकै हण्डर ठक्कर खाएर बल्लबल्ल पार्टीको केन्द्रीय कार्यालय पत्तो लगाएँ। गेटमा पुगेर सन्तोषको सास फेरेँ। मलाई लाग्यो, अब मेरो समस्याको समाधान हुनेछ। म हतारहतार भित्र पस्न खोजेँ। कसैले मलाई रोक्न खोज्यो। हतियारसहित उभिएको उसले सोध्यो, ‘के काम छ, कसलाई भेट्न आउनुभएको ?’
मैले भनेँ, ‘कमरेड विश्वजितलाई भेट्न आ‘को।’
‘उहाँ त आज कार्यालयमा हुनुहुन्न।’
‘अनि कता हुनुहुन्छ ? ’
‘संसद् भवन।’
उसले बताएबमोजिम म हतारहतार माइक्रो चढेर बानेश्वरतिर हानिएँ। उसले संसद् भवन बानेश्वरमा छ भनेको थियो।
बाहिरबाट संसद् भवन निक्कै ठूलो र आकर्षक देखियो। सुरक्षाकर्मी तैनाथ थिए। म डराई डराई मूल ढोकामा पुगेँ। एउटा सिपाहीले खस्रो भाषामा सोध्यो, ‘तपाईं यहाँ किन ? ।तपाईं सभासद्जस्तो त देखिनुहुन्न। के काम छ तपाईंको ?’
‘म कमरेड विश्वजितलाई भेट्न आएको। उहाँ यहीँ संसद् भवनमा हुनुहुन्छ रे !’, मैले नम्र बोलीमा भनेँ।
‘तपार्इंसँग पास छ ?’, उसले मेरो बोली नसिद्धिदै प्रश्न गर्योम।
‘छैन’, मेरो सोझो जवाफ थियो।
कत्रो आस लिएर काठमाडौं आएको थिएँ। गाउँमा मंगलीले ठूलो विश्वास पालेकी छे। तर यहाँ आएदेखि काम बन्ने कुनै छाँटकाँट देखिएको छैन।
‘त्यसो भए भित्र जान पाउनुहुन्न। आज यहाँ विशिष्ट बाहेकलाई प्रवेशको लागि अनुमति छैन। देशको ठूलो काम हुँदैछ यहाँ।’, उसले बेलिविस्तार लगायो।
मूलढोकाबाट चियाइहेर्दा भित्र चौरमा निक्कै मान्छे देखिए। कोही टहलिरहेका थिए। कोही कुरा गरिरहेका देखिन्थे। ठाउँठाउँमा झुन्ड बनाएर मान्छेहरू सल्लाह गरिरहे जस्ता देखिन्थे। उसको कुरा सुनेर मेरो आत्मबल कमजोर बन्यो।
ओठभित्र खैनी च्यापेको रहेछ, भुइँमा पिच्च थुक्दै भन्यो, ‘तपाईं जानुस्। उनलाई पार्टी अफिसमै भेट हुन्छ।’
विश्वजित आउने पर्खाइमा बाहिर कुरेर बस्नुबाहेक कुनै विकल्प देखिनँ। बानेश्वरको बाटो छेउमा उभिँदै आँखा एकनासले संसद् भवनतिरै बिछ्याइरहेँ। मनमा एउटा आस चाहिँ पलाएको थियो, विश्वजित बाहिर आउँछन् भन्ने। दिनभरि घामले सेकिएँ। तर अहँ ! कोही बाहिर आएको होइन। आजको दिन त्यसै बित्यो।
झमक्कै रात पर्यो। रात काट्नु थियो, त्यसैले म बासको खोजीमा हिँडेँ। एउटा सस्तो लज खोजेँ। भेट हुने हो कि होइन भन्ने मनमा हुटहुटी भइरह्यो। बेचैन हुँदै रात छटपटीमै काटेँ।
०००
भोलिपल्ट सबेरै उठेँ। लजको काउन्टरमा पुगेँ। कामदारले चिया ल्याइपुर्याखए। चिया पिउँदै मेचमा बसेँ। लजका म्यानेजर भन्दै थिए, ‘हिजो पनि चुनाव सफल भएन। यो देशले प्रधानमन्त्री नपाउने भयो। नाटक मञ्चन गरेजस्तै भयो।’ उसको कुरालाई मैले त्यति वास्तै गरिनँ। यस्ता कुरासँग मेरो सरोकार थिएन। मलाई त आफ्नै गाउँको समस्या नै ठूलो थियो।
म फेरि पार्टी कार्यालयको ढोकामा पुगेँ। हिजोझैं त्यहाँ अर्काे हतियारधारी सुरक्षार्थ खटिएको थियो। म विश्वजित आउने बाटो हेर्दै पर्खालबाहिर उभिइरहेँ।
दिउँसोको ११ बज्यो। कमरेड विश्वजित कालो चम्किलो भीआईपी जिपमा सवार हुँदै मूल गेटमा आइपुगे। मैले उनलाई सजिलै चिनेँ। गेट खुलिसकेको थियो। जिप कम्पाउन्डभित्र छिर्यो । म हेर्या हेर्यैे भएँ। उनले मलाई देखेनन्। भित्र उनी गफिँदै थिए। मेरा आँखा जिपको पछिपछि पछ्याउँदै पुगे। ढोका खोल्दै उनीहरू एकएक गरी ओर्लिए। भवनतिर लाग्दै गर्दा विश्वजितको मोटो शरीर सुटमा सुहाएको देखेँ। गोरो अनुहारमा उनी किन निरास देखिए भन्ने मनमा लाग्यो। सुरक्षार्थ खटिएको भाइलाई भनंँे, ‘मलाई भित्र जान दिनुस् न।’
उसले निराश पार्दै भन्यो, ‘आज हुँदैन। उहाँको केन्द्रीय कमिटीको बैठक छ। भेट्न पाउनुहुन्न।’
‘म टाढा दाङबाट आएको, नभेटी नहुने काम छ,’ मैले अनुरोध गरेँ।
तर, उसले मेरो कुरा सुन्न पनि छाड्यो। न त मलाई राम्रोसँग नै हेर्यो। ऊ ड्युटीमा खटिएको थियो, पहिलेझैं मूर्ति बनेर उभियो। अब मसँग मूल ढोकामा उभिएर उनको प्रतीक्षा गर्नुबाहेक कुनै उपाय रहेन। त्यसैले ढोकादेखि अलिपर छेउ लागेर कुर्न थालेँ।
एक्कासि पानी दर्कियो। अघिसम्म आकाश सफा नै थियो। अचानक कालोमैलो भएर पानी पर्न थाल्यो। आफूसँग ल्याएको छाता झिकेर ओढेँ। छाता ओढे पनि पानीबाट जोगिन भने सकिएन। बेस्सरी चलेको हावाले पानीका बाछिटा हुत्याएर ल्याइदिन्थ्यो। भिजाई त हाल्यो। त्यही रुझाइमा गाउँ सम्झिएँ। के गाउँमा पनि पानी पर्यो् होला ? ।गाउँमा हुने सम्भावित क्षतिको कल्पनाले तर्सायो। दिनभरि झरी दर्की नै रह्यो।
मूलढोकाबाट चिल्ला कारहरू छिर्थे। कोही मोटरसाइकलमा भित्र जान्थे। गाडीबाट छिर्नेहरूको हातमा पानीको बोतल हुन्थ्यो। जसबाट पानी पिउँदै गरेको पनि देख्थेँ। घरिघरि नीला ठूला जारमा पानी पार्टी कार्यालयभित्र यही बाटो हुँदै लगेको पनि देखेको हुँ। म झरीमा रुझ्दै भोकै पियासै गाउँमा पानीले गर्न सक्ने विनाशको शंकामा डराउन थालेको थिएँ। सोचें, ‘यो सहरको व्यवस्थामा पानी कति स्वच्छ र सफा छ। हिजो होटेलमा यस्तै पानी पिएको थिएँ। हाम्रो गाउँघरमा पानीको मुहान छ तर इन्टेक र हिलटेक छैन। कीटनाशक औषधिको व्यवस्था छैन।’
दिनभरि भोकै भएछु। बिहानै होटेलबाट हिँडेको थिएँ। जिउ गले पनि आँखा थाकेनन्, म पर्खिएरै बसिरहेँ। दिउँसो ४ बजे भित्रबाट एकएक गर्दै बाहिरिन थाले। मनमा आशाको दियो बल्यो। कमरेड विश्वजित देखा परे। म खुसी पो भएछु। साक्षात् देउतै प्रकट भएझैं लाग्यो।
म ढोकातिरै लम्किएँ। विश्वजित जिपमा पसे। म मूलढोकामा पुगिसकेको थिएँ। जिप त म नजिकै आइपुग्यो। एकदमै नजिक। मेरा र कमरेड विश्वजितका आँखा जुधे। तर कुनै प्रतिक्रिया आएन। मैले दुई हात जोडेँ। अहँ ! उनले मलाई चिनेनन्। विस्तारै जिप मदेखि पर हँदै गयो। म स्तब्ध मूर्तिवत् उभिइरहेँ। उनी टाढिँदै गएको एकोहोरो भएर हेरिरहेँ। मेरा दुई हात भने जोडिएकै थिए। अब चिन्ताको कालो बादलले झ्वाप्पै छोप्यो।
म निराश भएँ। यो नैराश्यताको कुनै मापन थिएन। कत्रो आस लिएर काठमाडौं आएको थिएँ। गाउँमा मंगलीले ठूलो विश्वास पालेकी छे। तर यहाँ आएदेखि काम बन्ने कुनै छाँटकाँट देखिएको छैन। हारेको सिपाहीझैं लुरुलुरु आफू बसेको लजतिर गरुंगो पाइला चालेँ। लज बागबजारको भित्री गल्लीमा थियो। एकोहोरो पाइला चालेछु क्यारे म चाँडै पुगेँ।
लजको म्यानेजर भन्दै थियो, ‘फेरि छैटौं पटक प्रधानमन्त्रीको निर्वाचन हुने भो।’
म उसलाई नसुनेझैं गरी आफ्नो कोठातिर लागेँ। ढोका ड्याम्म लगाएँ। आवाज ठूलै आयो। पछि पो विचार आयो, ढोका व्यर्थै हुत्याएछु। म होसमा पो कहाँ थिएँ र ! टाउको दुखिरहेको थियो। ओछ्यानमा पल्टिएँ। मनमा अनेकथरी कुराहरू आउन थाले। कतिबेला निदाएँ, पत्तो पाइनँ।
ढोका ढकढक्याएको एकोहोरो आवाजले झस्किएँ। भात खान बोलाएको रहेछ। म उठेँ। खानेबेला गाउँको यादले मन पिरोलिन थाल्यो। मंगलीलाई सम्झेँ। उसले पकाएको ढिँडोको झल्को आयो। ‘एक्ली मंगली आत्तिइसकी होला होला’ भन्ने सम्झेर मन चिसो भयो। राति अबेरसम्म निद्रा लागेन। एक मनले भन्यो, भोलि बिहानै घरतिर लागुँ तर अर्काे मनले सोचेँ, एकपटक त भेटौं।
०००
भोलिपल्ट बिहानै म फेरि त्यही पुगेँ। सुरक्षार्थ जवान हतियारसहित थिए। आँट गरेर भनेँ, ‘हेर्नुस्। म दाङबाट आएको। कमरेड विश्वजितलाई भेट्नु छ, उहाँले मलाई चिन्नुहुनेछ। संकटकालमा मेरो घरमा तीन दिन तीन रात बस्नु भएको थियो।’ उसले पर्खिन भन्यो।
एकछिनपछि दुईजना भित्र जान लागे। उनीहरू मेरो बारेमा लेखिएको चिर्कटो लिएर भित्र पसे। मेरो आशाको एउटा त्यान्द्रो बोकेर भित्रिएको थियो। आफूलाई भित्र बोलाइने कुरामा म ढुक्क थिएँ। आस गर्दै कुरिरहेँ।
घन्टौ बितिसक्दा पनि भित्रबाट किन बोलाएनन् भन्ने मनमा लागिरह्यो। दिउँसो भइसकेको थियो। म छट्पटिन थालेँ। अब बोलाउलान् तब बोलाउलान् भन्दै समय बित्दै थियो। मेरो धैर्य टुट्दै थियो। सोचेँ, मलाई उनले चिनेनन् वा बिर्सिसके। हुन सक्छ, त्यो व्यक्तिले चिट दिएन वा भ्याएन। यस्तै तर्कना गर्दागर्दै एकोहोरिएछु। सबै बाहिरिँदै गरेको चालै पाइनँ। गाडीहरू बाहिरिँदा पो झस्किएँ। गाडीको आवाजले झस्काएको थियो। आँखाले भ्याएसम्म हेरेँ।
विश्वजित आइरहेको देखेँ। उनी जिपमा थिए। गाडी विस्तारै बाहिरिँदा मेरो आँखा उनीसँग जुधे। तर कुनै प्रतिक्रिया आएन। अनायासै मेरा दुई हात जुटे। नमस्कार गरेँ। म ट्वाल्ल पर्दै उनैलाई हेरिरहेँ। अहँ, चिनेनन्। उनले मलाई राम्रोसँग हेर्दा पनि हेरेनन्। तर म भने उनैलाई एकोहोरिएर हेरिरहेको रैछु। जिप ओझेल भइसकेको थियो। सुरक्षामा खटिएको भाइ मलाई नै हेरिरहेको थियो। म लज्जित भएँ। मेरो शिर उठ्नै सकेन। हारेको सिपाहीझैं म झोक्राएर लुरुलुरु हिँडें। मेरो पाइला एकसुरले अघि बढिरह्यो। कालो बादल अब मेरो अनुहारमा थियो। उनीप्रतिको मेरो विश्वासको पर्खाल भत्किसकेको थियो। उनैले बनाएको विश्वासको पर्खाल आज उनैले भत्काएर गएका थिए। त्यही बिग्रँदो मनस्थिति लिएर म लजतिर लागेँ।
लजबाट झोला लिएँ। मनभरि अत्यासको आँधीबेहरी लिएर बसपार्क पुगेछु। दाङको गाडी भेटियो। यस्तो लाग्यो, मलाई मेरो गाउँले बोलाइरहेको छ र बसभित्रका सबै आफ्नै गाउँका हुन्।
सिटमा बसेर आँखा बन्द गरेँ। बेस्सरी थकाइ लागेको थियो। त्यहीँ थकान मेट्न चाहेँ। एकपल्ट गाउँलाई सम्झिएँ। भोलिदेखि फेरि दुई दिन पैदल हिँड्नुपर्ने हुन्थ्यो। झ्यालबाहिर हेर्न थालेँ। बसपार्कभरि मान्छेको भीड हतारिएका मात्र देखिन्थे। म पनि गाउँ पुग्न हतारिएको थिएँ।
गाडीमा एफएम बजिरहेको थियो। ४ बजेको समाचार आयो। समाचारवाचिका भन्दै थिई, ‘दाङको सुन्दरपुरमा परेको अविरल झरीपछि फैलिएको झाडापखालाको महामारीमा दुईको मृत्यु। झाडापखाला अझै नियन्त्रण हुन सकेको छैन। स्थानीय स्वास्थ्यकर्मीहरूद्वारा जीवनजल बाँडिँदै।’
यतिबेला मेरा कान भने ठाड्ठाडा भए। गाडी घ्यार्रघुर्र गर्दै अघि बढ्यो।
(हालै प्रकाशित कथासंग्रह 'दंश' बाट)