रुदानेमा टंकको रुझान

रुदानेमा टंकको रुझान

यसपालि सुरुमै निष्कर्ष ठोकियो– ‘रुदानेमा टंक चौलागाईंले गरेको मिहिनेतलाई पाठकी हिसाबले मेरो जोडदार अदव औ सलुट छ। रुदाने अर्थात् रूपचन्द्र विष्टको जीवनीमा आधारित उपन्यास जसलाई ‘जीवन्यास’ पनि भन्न सकिन्छ। यसमा उनले देखाएको खोज, अध्ययन र लेखन शील्पको त्रिवेणीलाई ‘आहा’ नभनी रहन सकिन्न। एकताका माधवी जस्तो जटिल पौराख्यानलाई सरल रूपमा नाटकीकरण गरी दर्शकको मन जित्न सफल निर्देशक उनी यसपटक भने यही रुदानेमार्फत आफूलाई अब्बल उपन्यासकारका रूपमा प्रमाणित गर्न सफल छन्।

रूपचन्द्र विष्टका अनेक किस्सा र कहानी चल्तीमा छन्। चोक, गल्ती, सडक, भित्ता र पर्खालहरूमा ‘थाहा’ शब्द खोपी हिँड्ने रूपचन्द्र कतिका लागि रहस्यमयी पात्र थिए। युवावयमा सामन्ती संस्कारका विरुद्ध रणमैदानमा उत्रिएका रूपचन्द्र शिक्षक, प्रधानाध्यापक, राजनीतिज्ञ, समाजसेवी, बागी, जोगी हुँदै साधुसम्म बने। उनी एक हिसाबले कवि लेखक हुन्। अर्का हिसालबे दार्शनिक। सामाजिक अभियन्ता पनि हुन्। शिक्षाको मूलमन्त्र गाउँदै हिँड्ने एक स्वप्नद्रष्टा पनि हुन्।

तर पनि यिनलाई दर्शन बाँड्दै हिँडे पनि दार्शनिक मानिएन। शिक्षा बाँड्दै हिँडे पनि शिक्षाविद् मानिएन अनि राजनीति गर्दै हिँडे पनि राजनीतिज्ञ मानिएन। यस्तै मान्नु र नमान्नुबीचको अन्तरविरोधबाटै उनी मानिसका दिलमा स्थापित हुन पुगे। गुन बिर्सने नेपाली समाजलाई रुदानेमार्फत टंकले फेरि एकचोटि झस्काउने र सम्झाउने काम गरेका छन्। रूपचन्द्र मानिसलाई मानिस बनाउने अभियानमा अनवरत लागे। झुप्रे र झुत्रेका पक्षमा हरदम उभिने रूपचन तत्कालीन सत्ताको निशानामा थिए। तर उनी जीवनभर कहीँ कतै गिरेनन्, चुकेनन्। आफ्नो आस्था, त्याग र समर्पणको बाँसुरी बजाइरहे।

‘हिसाब पढाउने चस्मे सरको योग्यता थाहा पाऊँ।’ सानैदेखि ढिट, अराजक, जिद्दी र बाउँठो जस्तो लाग्ने रूपचन्द्र विष्टले स्कुले जीवनमा आफ्नो हिसाब पढाउने मास्टरका बारेमा थाहा पाउन कागजको चिर्कटोमा लेखेर विद्यालय प्रशासनसित गरेको विद्रोहको नमुना थियो यो। थाहा लेखेर गुँडुल्किएको प्रश्न चिह्न भित्ताभित्तामा खोपी हिँड्ने रूपचन्द्र ‘थाहा’ दर्शनका प्रणेता हुन्। उनको मान्यता थियो– ‘जीवनमा थाहा पाउनुपर्ने कुरा धेरै छन्। थाहा पाउन प्रश्न गर्नुपर्छ। प्रश्न गर्नका लागि हिम्मत चाहिन्छ। हिम्मत एउटा ज्ञान हो। ज्ञान शिक्षाबाट प्राप्त हुन्छ।’

आधुनिक शिक्षा प्रणालीले त हिम्मतलाई पनि व्यवहार कुशल सीपको एउटा नमुना मानिदिन सक्छ। अहिले हामीलाई प्रश्न सोध्ने नागरिकको खाँचो छ। प्रश्नमा गहिरिने मान्छेहरू मानवबाट महामानव बन्न पुग्छन्। बुद्धले, सुकरातले, लिंकनले, आइन्स्टाइनले, न्युटनले, यी सबै सबैले प्रश्न गरेर उत्तरको खोजी गर्दागर्दै साधारण मान्छेभन्दा माथि उठेका हुन्। थाहा र प्रश्नका शृंखलामा जोडिन आउने मानिस विश्वमा अनेक छन्। तिनै मानिसको लहरमा उभिन आइपुग्ने एउटा अग्लो मानिसको नाम हो रूपचन्द्र विष्ट।

विद्रोहीले विद्रोहको सुरुआत आफ्नै परिवारबाट गर्छ। परिवार, साथीभाइ, समाज हुँदै राष्ट्रका बेथितिमाथि हुँकार गर्छ। रूपचन्द्रले सामन्ती संस्कारग्रस्त तत्कालीन समाज र परिवारबाट विद्रोह सुरु गरे। ‘हुने बिरुवाको चिल्लो पात’, रूपचन्द्रको जीवनमा यो उखान चरितार्थ हुँदैन। उनी हुने बिरुवाको खस्रो पात थिए। खस्रो भएरै खस्रो बोलेरै उनले समाजमा व्यप्त सख्रा खण्डहरूलाई चिल्लो पार्ने प्रयत्न गरिरहे।

विष्ट सच्चा क्रान्तिकारी थिए। उमा शाहसित उनको विवाह भयो। विवाह पनि रोचक तरिकाबाट भयो। आफूले जिउमा लगाइराखेका सामान्य लुगामा बिना तामझाम तर धेरै जनताका सामुन्ने दुलहा–दुलही दुवैले एक–एक भाषण ठोकेपछि विवाह सम्पन्न भयो। बिना कर्मकाण्ड, बिना लोकाचार अनि व्िबना आडम्बर। विवाह पत्रमा लेखिएको थियो– ‘हामी जनताबीचका दुई जनहितलाई सर्वोपरि राख्ने छौं। धन र मानलाई भन्दा ज्ञान व्यवहार रुचाउने छौं। हाम्रो सम्पूर्ण बचाई इन्साफका पक्षमा हुनेछ। प्रगति मार्ग नै हाम्रो जीवनमार्ग हुनेछ।’ 

यति लेखेर दुवैले हस्ताक्षर गरेका थिए।

‘एक थाल भात एक अँगालो लोग्ने र स्वास्नीका लागि जीवन नबिता भाते।’ आफ्नो विवेक बन्धक राखेर काम गर्ने मानिसलाई यसो भनी भनी रूपचन्द्र जीवनमा केही गर्न घच्घयाई रहन्थे। उनको अर्को घच्चीको विचार थियो– ‘आफूभित्र सुतेको मानवलाई नजगाई केही जानिँदैन।’ यही मान्यताको अभिप्रेरित भएर दिउँसै सुतिरहेका मानिसलाई जगाउन रूपचन्द्र कुदिरहे। उनका स्वभावजन्य विशेषता पनि अनौठा थिए। कहिले गाउँमा रहेको अजंगको ढुंगालाई एक्लै घनले हानेको हानै गरेर फुटाउन खोज्ने, कहिले विद्यालयमा भएको खर्चको विवरण ढाडमा टाँसेर प्रदर्शन गर्दै घरघर हिँड्ने त कहिले साँढेसित एक्लै जुधेर साँढे भगाएर रमिता देखाउने।

यस्तैयस्तै कृत्यहरू गरेर उनी आफ्नो जीवनकालभरि चर्चित रहे। उनी महललाई छोडेर झुपडीमा बसे। सुखसयलको बाटो त्यागेर दुःखैदुःखको राजमार्ग अवलम्बन गरे। उनैले पाविस अर्थात् पालुङ विकास समितिको निर्माण गरे। उनका यस्ता अनगिन्ती असल कर्मका बारेमा जनमानसलाई जानकारी गराउन रुदाने उपन्यास सफल देखिन्छ। रूपचन्द्र कृषि, शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउन गाउँगाउँ डुले। पालुङको जनकल्याण माविलाई त्यतिखेरकै नमुना विद्यालय बनाएर चर्चा कमाएका थिए। किताब पढ्नुमात्र पढाइ होइन।

समाज, समाजका मानिस, चालचलन र यहाँका समस्या बुझ्नु पढाइ हो भन्ने भाव राख्ने रूपचन्द्र साँच्चै नै शिक्षाका सारथि हुन्। उनको एउटै भनाइबाट नेपाली शिक्षाको हविगत कस्तो छ स्पष्ट हुन्छ। अहिले पनि त हाम्रो देशको शिक्षालाई सबभन्दा बढी शिक्षाबाटै त खतरा छ। उनी भन्थे– तँ भातेले जे सिकाइस्, त्यही मान्नलाई यी बाँदर हुन् ? यसो गर भनेर केटाकेटीलाई नसिका। उनीहरूलाई आफैं हुर्किन दे।’

के यस भनाइले अहिलेको अवस्थालाई पनि प्रतिनिधित्व गर्दैन ? छोराछोरी नपढाउने आमाबाबु मुर्दावाद। विद्यार्थीलाई दिनको एक घण्टा भए पनि श्रम गराउने कुरा पनि पढाइ हो। यस्तै यस्तै विचार राखेर शिक्षामा छर्लंग देखिने गरी परिवर्तन ल्याउन खोज्ने परिवर्तनकर्मी हुन्। आफैं कर्ममा खट्ने कर्मवीर हुन्। श्रमको पूजा गर्नुपर्छ भन्ने श्रम संस्कृतिका अगुवा हुन्।

‘तेरो देश यति राम्रो छ। प्राकृतिक सुन्दरतामा यति धनी छ तर किन यहाँका धेरैजसो मानिस दुःखी र गरिब छन् ? ’ रूपचन्द्रलाई एउटा विदेशी पर्यटकले सोधेको प्रश्न हो यो। यसको जवाफ आज सारा नेपालीले खोजिरहेको छ। लुगा लगाउनु र नलगाउनु लाज होइन। लाज यो सामन्ती ढोङ हो। रूपचन्द्रको विचारमा सामन्ती सोच र संस्कार नै राजनीतिमा हाबी भयो। परिणामस्वरूप राजनीतिले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन।

१९९० को पुस २६ गते मकवानपुरको घर्तीखोलामा जन्मिएका रूपचन्द्र भन्थे– ‘अँध्यारो के हो ? यसलाई चिर्ने कुन बुद्धिले हो ? त्यही थाहा दिन गाउँगाउँ हिँडेको हुँ। थाहाले नै भ्रमको जालो च्यात्छ। त्यसैले आफ्ना बारेमा थाहा पाऊ। आफूलाई परिवर्तन गर।’ परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भनेर उनले आफ्नै नाउँलाई पनि संशोधन गरेर ‘रुदाने’ राखे। रुदाने अर्थात् रूपचन्द्र दामन नेपाल। मानिसका अँध्यारा मनमा उज्यालोको बिउ सल्काउँदै हिँड्ने जूनकीरी रूपचन्द्र विष्टका बारेमा उपान्यास लेखेर टंक चौलागाईंले नेपाली साहित्यलाई ठूलो गुन लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.