तस्कर पक्राउ नपर्दा प्रहरीमाथि आशंका

तस्कर पक्राउ नपर्दा प्रहरीमाथि आशंका

बिर्तामोड : झापा प्रहरीले शुक्रबार दिउँसो मेचीनगर क्षेत्रबाट ३ सय ५० किलो मरीच बरामद गर्‍यो। तीनवटा मोटरसाइकलसहित चारवटा साइकल प्रयोग गरी भारततर्फ अवैध रुपमा लैजान लागेको अवस्थामा मरीच बरामद भएको प्रहरीले जनाएको छ। यसको मूल्य १ लाख ७५ हजार रुपैयाँ पर्छ। यसअघि पनि भद्रपुर नगरपालिका–५ देवी बस्ती नाकाबाट ६० हजार मूल्यबराबरको ४० किलो मरीच प्रहरीले बरामद गरेको थियो।

नेपालबाट भारततर्फ मरीच तस्करी हुन्छ भन्ने यी दुई उदाहरण मात्र हुन्। ससाना परिमाणमा झापा प्रहरीले मरीच र सामान बोक्न प्रयोग गरिने साधन पक्राउ गर्दै आएको छ। तर, अहिलेसम्म तस्करीमा संलग्न दोषीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। प्रहरीले तस्करीमा संलग्न व्यक्ति भाग्ने गरेको बताउँदै आएको छ भने तस्करीमा प्रयोग भएको सवारी साधन र बरामद मरीच मात्र सार्वजनिक गर्ने गरिएको छ।

तस्कर पक्राउ नपर्नुमा स्थानीयले प्रहरीमाथि नै शंका गर्न थालेका छन्। ‘प्रहरीले दिउँसो नै मरीच बरामद गर्छ, सवारी साधनसमेत समाउँछ तर तस्कर भाग भन्छ’, काँकडभिट्टाका मात्रिका पौडेलले भने, ‘प्रहरी दौडन र जनशक्ति परिचालन गर्न सक्दैन ? ’। प्रहरीकै मिलेमतोमा मरीचलगायत सामान भारततर्फ तस्करी हुने गरेको उनको आरोप छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटिएको बताए। ‘काँकडभिट्टा र भद्रपुर क्षेत्रबाट बढी मात्रामा मरीच बरामद भएको छ, मरीचसँगै बरामद भएका सवारी साधनको अनुसन्धानबाट तस्कर पत्ता लगाउन प्रहरी खटिएको छ,’ उनले भने, ‘केही दिनमा त्यसको नतिजा आउला।’

उनका अनुसार तस्करीमा भारतीय सवारी साधन प्रयोग हुने हुँदा अनुसन्धानमा समस्या भइरहेको छ। शुक्रबार मरीचसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा नेपाली नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेकाले अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।

यसपटक नेपाली नम्बर प्लेटको सवारी साधन पनि बरामद गरिएकाले तस्करको पहिचान खुल्न सक्ने प्रहरीको भनाइ छ।

‘काँकडभिट्टा प्रहरीलाई मरीचको विषयमा गहिरिएर अनुसन्धान गर्न भन्ने जिल्लाको निर्देशन छ, तस्कर पक्राउ नपर्दा प्रहरी पनि तनावम छ’, उनले भने, ‘यसपटक नेपाली नम्बर प्लेटको सवारी पनि पक्राउ परेकाले तस्करको पहिचान खुल्ने सम्भावना छ।’

काँकडभिट्टा क्षेत्रबाट यसअघि सुपारी तस्करी हुने गरेको थियो। अहिले मरीच पनि अवैध रूपमा भारततर्फ निकासी बढ्न थालेको छ। तेस्रो मुलुकबाट मरीच आयात गर्ने क्रम बढेको र त्यसलाई तस्करले भारततर्फ तस्करी गर्ने गरेको प्रहरीको दाबी छ। तेस्रो मुलुकबाट आयातीत सामान पुनः निकासीका लागि भन्सार जाँचपास नदिइने भएकाले मरीच भारततर्फ तस्करी हुने गरेको हो। प्रति मेट्रिक टन ३ लाख ७० हजार रुपैयाँ हाराहारीमा मरीच आयात हुने व्यापारी बताउँछन्। यस्तो मरीच भारतमा किलोको ७ हजार २ सयदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

भारतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न निर्यातमा प्रतिबन्ध र आयातमा कडाइ गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

०००

भारततर्फ लैजाँदै गरेको अवस्थामा भद्रपुरबाट प्रहरीले बरामद गरेको मरीच। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.