पहिरोभित्र स्काभेटर !
विराटनगर : मोरङको उर्लाबारीदेखि पाँचथरको रविसम्मको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको स्काभेटर पाँच दिनदेखि पहिरोले पुरेको छ । उर्लाबारी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुली गाउँपालिका–६ को सिस्ने भन्ने ठाउँमा पहिरोसँगै ठूला चट्टान खसेर पुरेको स्काभेटरलाई बाहिर निकाल्न सकिएको छैन । यो सडक तराईबाट पहाड जोड्ने सबै भन्दा छोटो दूरीको हो । स्काभेटर प्रयोग गरेर सडकको मोड र घुम्ती फराकिलो पार्ने काम भइरहेको थियो । सडकमा काम गरिरहेका बेला अचानक पहिरो खसेर गत बुधबार स्काभेटर पुरे पनि कुनै मानवीय क्षति नभएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पहिरोले स्काभेटर पुरेसँगै सडकको स्तरोन्नति गर्ने काम रोकिएको छ । तोरिबारीदेखि फुङ्नामसम्मको १५ किलोमिटर खण्डमा सिद्धदेवी कन्सट्रक्सन प्रलिले एक वर्षदेखि सडक स्तरोन्नतिको काम गरिरहेको छ । कन्सट्रक्सनका डाईरेक्टर हेमन्त बस्नेतले सडकको ट्रयाक सुधार गर्दै घुम्ती फराकिलो पार्ने काम भइरहेका बेला अचानक माथिबाट पहिरो खसेर स्काभेटर पुरेको जानकारी दिए ।
‘काम गरिरहेको अवस्थामा ठूला चट्टान सहितको पहिरो खसेर स्काभेटर पु¥यो,’ उनले भने, ‘पन्साउन नसक्दा पाँचदिनदेखि पहिरो भित्रै पुरिएको छ ।’ बस्नेतले पानी पर्ने र पहिरो जाने क्रम नरोकिएका कारण स्काभेटर बाहिर निकाल्न नसकिएको बताए ।
लामो समयदेखि पहिरोले पुरेका कारण लाखौं मूल्य पर्ने स्काभेटर काम नै नलाग्ने अवस्थामा पुगेको हुन सक्ने उनको भनाइ छ । ‘हामीले अर्को स्काभेटर प्रयोग गरेर निकाल्ने तयारी गरेका थियौं । तर पहिरो जाने क्रम जारी रहेका कारण अर्को स्काभेटर नै घटनास्थलमा पु¥याउन सकिएको छैन,’ उनले भने, ‘चलाउँदा चलाउँदैको मेसिन पहिरोले पुरेपछि काम लाग्ने अवस्था छ जस्तो लाग्दैन । पहिलो दिनको पहिरोले थोरै पुरेको पनि निकाल्न नसक्दा त्यसपछि थपिंदै गएको पहिरोले भने अहिले स्काभेर नै देखिंदैन ।’
बस्नेतले स्थानीय बासिन्दाँंग सहयोग लिएर पहिरो पन्साउँदै स्काभेटरलाई बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।
तराई र पहाड जोड्ने सबै भन्दा छोटो उक्त सडकलाई पूर्वकै समृद्धिसँग जोडेर हेरिएको छ । २०२८ सालबाट सडकको ट्रयाक खोल्न थालिएको हो । तर अहिलेसम्म पनि सडक निर्माण पूरा हुन सकेको छैन । सामान्य ट्रयाक खोलेर सञ्चालन गरिएको सडकमा हिँउदका समयमा भने मोटरसाइकल तथा ट्याक्सी, जिप लगायतका साना सवारी साधन सञ्चालन गर्न सकिने चुलाचुली– ६ का वडा अध्यक्ष हेमन्त राईले बताए । उनका अनुसार बर्खा लागेर पानी पर्न थालेसँगै सडक गत जेठदेखि बन्द छ । ‘हिउँदमा साना सवारी साधन सञ्चालन हुने गरेको थियो,’ राईले भने, ‘बर्खामा पानीले हिलाम्मे भएर पहिरोको समेत जोखिम रहेपछि सवारी साधन सञ्चालन हुन नसक्ने भएका कारण अहिले भने सडक बन्द रहेको छ ।’