थपिएन चिनियाँ इन्टरनेट
काठमाडौं : नेपाल गत पुस २६ गते पहिलोपटक चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको थियो। तत्कालीन सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्तरूपमा इन्टरनेटको उद्घाटन गरेका थिए। चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै टेलिकमकी तत्कालीन कार्यकारी निर्देशक कामिनी राजभण्डारीले अब इन्टरनेटमा भारतको एकाधिकार तोडिएको उद्घोषण समेत गरिन्।
उनले चीनको इन्टरनेटसँग जोडिएसँगै नेपाल टेलिकमले ग्राहकलाई सहज र सस्तो इन्टरनेट प्रदान गर्ने बताइन्। ग्राहकमा पनि चीनबाट इन्टरनेट भित्रिएसँगै सस्तोमा इन्टरनेट प्रयोग गर्न पाइन्छ भन्ने अपेक्षा थियो। संविधान बनेसँगै भएको भारतीय नाकाबन्दीपछि चीनबाट इन्टरनेट ल्याउने योजना बनेको भए पनि भाका पटक–पटक सर्दै २०७३ माघमा यसका लागि पहिलोपटक सम्झौता भयो।
सम्झौता भएको एक वर्षमा बल्ल चीनको इन्टरनेट सञ्जालसँग जोडिएको नेपालले त्यसमा थप एक वर्ष बित्न लाग्दा पनि चीनबाट आउने इन्टरनेटको ब्यान्डविथ थप भएको छैन। सुरुमै चाइनाबाट १.५ जीबी इन्टरनेट ब्यान्डविथ खरिद गरेको टेलिकमले अझैसम्म पनि त्यहाँबाट इन्टरनेटको ब्यान्डविथ थप गरेको छैन। तर यो अवधिमा भारतबाट भित्रिने इन्टरनेटको ब्यान्डविथमा भने ठूलो परिवर्तन आइसकेको छ।
नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिँदा टेलिकमसँग भारतबाट आउने २२ जीबी इन्टरनेट ब्यान्डविथ मात्र थियो। टेलिकमले त्यो बेला भारतको टाटा, एयरटेल, बीएसएनएल, भारत पञ्जाव र रिलायन्सबाट २२ जीबी ब्यान्डविथ खरिद गरी प्रयोगमा ल्याएको थियो। अहिले टेलिकमसँग झण्डै ३६ जीबी इन्टरनेट ब्यान्डविथ पुगेको छ। त्यसमा भारतबाटमात्रै झण्डै ३४ जीबी इन्टरनेट आइरहेको स्रोतले जनाएको छ। यो अवधिमा भारतबाट १२ जीबी इन्टरनेट ब्यान्डविथ थप हुँदापनि चीनबाट आउने इन्टरनेटको ब्यान्डविथमा भने कुनै थप भएको छैन्।
सुरुमै चाइनाबाट १.५ जीबी इन्टरनेट ब्यान्डविथ खरिद गरेको टेलिकमले अझैसम्म पनि त्यहाँबाट इन्टरनेटको ब्यान्डविथ थप गरेको छैन।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य पनि यो कुरा स्वीकार गर्छिन्। वैद्यका अनुसार चाइनाबाट आउने इन्टरनेटको ब्यान्डविथ थप गर्न अहिले आएर प्रक्रिया अघि बढेको छ। उनका अनुसार भारतबाट र चीनबाट इन्टरनेट थप गर्न टेलिकमले एकैपटक प्रक्रिया अघि बढाएको थियो। प्रक्रिया एकैपटक अघि बढेता पनि योबीचमा भारतबाट इन्टरनेट ब्यान्डविथ थप भइसकेको छ, तर चीनबाट अझै थप हुन सकेको छैन। टेलिकमले दुवै देशबाट समानान्तर रुपमा इन्टरनेटको ब्यान्डविथ भिœयाउने योजना पनि बनाएको हो। त्यहिअनुसार काम भएको भएता पनि अझै चीनबाट इन्टरनेट भित्रिन सकेको छैन। उनका अनुसार चीनबाट इन्टरनेट ब्यान्डविथ थप गर्न ब्यान्डविथको खपतमा वृद्धि हुनुपर्ने छ। तर यही अवधिमा १२ जीबी इन्टरनेट ब्यान्डविथ थप भइसकेको छ।
चीनसँगस्थल मार्ग हुँदै फाइबर जोडिएसँगै नेपाललाई इन्टरनेटको ट्रान्जिट बिजनेस गर्ने अवसर पनि सिर्जना हुने उल्लेख गरिएको थियो। नेपालले भारतको इन्टरनेट चीन र चीनको इन्टरनेट भारतमा बेच्न सक्नेछ भनि उल्लेख भएको भए पनि अहिलेसम्म चीनबाट आउने इन्टरनेटको ब्यान्डविथमा वृद्धि हुन सकेको छैन। भारत हुँदै प्रयोग गरिएको रुटबाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि यो अर्को महŒवपूर्ण विकल्पका रूपमा हेरिएको थियो। त्यसमा कुनै उपलब्धि भएका छैन्। त्यो समयमा चीनले टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो त्यो पनि अहिलेसम्म अघि बढेको छैन।