कष्ट व्यहोर्दै सडक व्यापार
तुलसीपुर : तुलसीपुर–५ की ६५ वर्षीया कली नेपालीलाई मकै पोल्ने हतारो छ । चर्काे घाम, पानी आगोको रापमा मकै पोल्नु उनको बाध्यता हो । सडकछेउमै मकै पोलेको दशक बित्यो । ग्राहक कुर्दै, मकै पोल्दै गरेर गुजारा टार्ने खर्च जुट्छ ।
बिहान ९ बजे सडकको छेउमा बसेर मकै पोल्ने र राति मात्रै घर जाने उनको दैनिकी बनेको छ । ‘के गर्नु ! नगरौँ खान पुग्दैन, काम गरौँ आगो र घामले खपिनसक्नु हुन्छ, उनले भनिन्, ‘गरिबीकै कारण सडकमा पीडा सहेर झुल्नु परेको छ ।’ उनले मकैको सिजनमा मकै पोलेर आम्दानी गर्छिन् भने अन्य सिजनमा पाइने च्याउ, काफलको व्यापार गर्ने गरेको बताइन् ।
सडक व्यापाराबाटै दैनिक ४ सयदेखि ७ सयसम्म आम्दानी गर्ने कलीले घरखर्च चलाएकी छन् । मासिक केही बचतसमेत हुने गरेको उनको भनाइ छ । पहिले मजदुरी गर्ने कलीलाई सडक व्यवसाय राम्रैसँग फापेको छ ।
तुलसीपुरकै ५५ वर्षीया सुगमाया विकको पीडा पनि कम छैन । कलीकै जस्तो पीडा उनले खप्न थालेको वर्षांै भइसक्यो तर सोचेजस्तो सुख पाउन नसकेको उनको गुनासो छ । १५ वर्षदेखि श्रीमान् सम्पर्कविहीन भएपछि यो पेसा अँगालेको उनले बताइन् । ‘अहिले लेबर काम गर्न सक्दिनँ, त्यसैले मकै पोलेर बस्ने गरेकी छु’, उनले भनिन् । यो व्यापारबाट मासिक १० हजार रुपैयाँ कमाइ हुने उनी बताउँछिन् । सिजन अनुसारका फलफूलसमेत बेच्ने गरेको उनले बताइन् ।
दिनभर सडकको छेउमा बसेर मकै पोल्ने १३ वर्षीय अभिषेक विकले काम गरेर खान साह्रै सास्ती भएको सुनाए । स्थानीय सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका विक पढाइ खर्चकै लागि मकै पोल्न सडकमा आउँछन् । उनले यसरी नै पढाइ र घरखर्च जुटाउन सहयोग गर्दै आएको बताए । उनले आमाको पेसालाई सघाएका हुन् । ‘आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले यो पेसालाई निरन्तरता दिएको हुुँ,’ निधारको पसिना पुछ्दै उनले भने, ‘आर्थिक अवस्था कमजोर छ, साँझ–बिहानको खाना र पढ्ने खर्च पुग्दैन ।’ गरिबीकै कारण यो काम गर्दै आएको उनले बताए ।