कहिले बन्ला शौचालय ?

कहिले बन्ला शौचालय ?

 तेह्रथुम : जिरीखिम्ती बजारमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ। तेह्रथुमलाई दुई वर्षअघि नै खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिरीखिम्तीमा अहिलेसम्म सार्वजनिक शौचालय बनाइएको छैन।

टाढाबाट आएका यात्रुलाई शौच गर्नुपरे होटलमा गएर चियानास्ता खाने बहाना गर्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णकुमार श्रेष्ठ बताउँछन्। ‘पिसाब मात्र गर्नुपर्‍यो भने पनि कम्तीमा एक कप चिया खानुपर्छ’, उनी भन्छन्।

मंगलबार र शुक्रबार हटिया लाग्ने यो बजारमा सार्वजनिक शौचालय नहुँदा किनमेल तथा बेचबिखन गर्न आउनेलाई झनै समस्या हुने गरेको म्याङलुङ-५ का झमक खापुङको भनाइ छ। भन्छन्, ‘खाजा खाने पैसा नहुनेले शौच गर्न पाउँदैनन्।’

यो बजार म्याङलुङ नगरपालिकासहित मेन्छ्यायेम र फेदाप गाउँपालिकालगायत स्थानीय तहको व्यापारिक केन्द्र हो। यहाँ सार्वजनिक शौचालय नहुँदा आउने-जानेले जथाभावी दिसापिसाब गर्ने गरेकाले बजार क्षेत्र दुर्गन्धित भएको व्यापारी पवित्र कार्की बताउँछिन्। ‘यात्रुले घरको वरिपरि भित्तासम्म जथाभावी शौच गर्छन्’, उनी भन्छिन्।

साबिकका गाविस आम्बुङ, मोराहाङ, ओयाक्जुङ, साब्ला, जिरीखिम्ती र सोल्माका नागरिक दैनिक उपभोेग्य वस्तु खरिदका लागि यो बजारमा आउने गरेका छन्। उनीहरूले शौचका लागि नजिकै पसलमा चियानास्ता खाने बहाना गर्नुपर्ने बाध्यता रहेको सुनाएका छन्।

नगरपालिकाले रकम विनियोजन नगर्दा सार्वजनिक शौचालय बनाउन नसकिएको स्थानीय प्रेम खड्काको भनाइ छ। ‘सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नपाउनु नै मुख्य समस्या हो’, उनी भन्छन्।

जिरीखिम्ती बजारबाट हिउँदमा मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ पौठाकसम्म साना सवारी साधन सञ्चालन हुने गरेको छ। वर्षायाममा पनि यहाँबाट धरान, विराटनगरका लागि दैनिक आधा दर्जन साना तथा ठूला सवारी साधन सञ्चालन हुने गरेका छन्। स्थानीय निर्वाचनपछि सदरमुकाम सुनसान भए पनि जिरीखिम्ती बजारमा चहलपहल उस्तै रहेको व्यापारीले बताएका छन्।

शौचालय निर्माणका लागि माग गर्दा पनि सुनुवाइ नभएको स्थानीय यादवमणि दाहाल सुनाउँछन्। मेयर सञ्जयकुमार तुम्बाहाङ्फे भने जिल्लाको प्रतिष्ठासँग जोडिएको हुनाले यसै आर्थिक वर्ष शौचालय बनाइसक्ने बताउँछन्। ‘सदरमुकाम म्याङलुङको प्रवेशद्वारका रूपमा रहेको जिरीखिम्ती बजारमै सार्वजनिक शौचालय नहुनु दुखद् हो’, उनी भन्छन्।

दुई नगरपालिकासहित ६ स्थानीय तह रहेको तेह्रथुममा अन्य तीनवटामा पनि सार्वजनिक शौचालय नहँुदा सास्ती छ। मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.