बालबालिकालाई फुटबल तालिम
भोजपुर : नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत जिल्ला फुटबल संघ भोजपुरको आयोजनामा ग्रासरुट फुटबल प्रशिक्षण भएको छ। प्रत्येक हप्ताको शुक्रबार गरिने ग्रासरुट फुटबल प्रशिक्षणमा ८ देखि १० वर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षण गराइरहेको संघले जनाएको छ।
विशेषगरी साना बालबालिकामा फुटबल खेलको क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रशिक्षण गरिरहेको टोलीका प्रशिक्षक एवं जिल्ला फुटबल संघ भोजपुरका सचिव विनम श्रेष्ठले बताए। उनले भने, ‘यसको खास उद्देश्य भनेको साना बालबालिकामा भएको क्षमतालाई अपग्रेड गर्न सकियोस् भन्ने हो। उनीहरूमा फुटबलको कलालाई भविष्यमा स्थायित्व दिलाउनुकै लागि प्रशिक्षण आयोजना गरिएको हो।’
हरेक शुक्रबार दिउँसो स्थानीय टुँडिखेलमा डेढदेखि दुई घन्टासम्म सञ्चालन हुने ग्रासरुट फुटबल प्रशिक्षणमा १० जनाको टिम बनाएर प्रशिक्षण गरिन्छ। बालबालिकामा फुटबल खेलको क्षमता विकाससँगै शारीरिक व्यायामका लागि पनि प्रशिक्षण आयोजना गरिएको सचिव श्रेष्ठले बताए। ‘हामीले अहिले उनीहरूको इच्छा र मनोञ्जनका लागि फुटबल प्रशिक्षण दिइरहे पनि यो प्रशिक्षणले उनीहरूमा फुटबलको विकास गरोस् भन्ने हो। भविष्यमा राम्रा खेलाडी उत्पादन गर्ने पनि हाम्रो सोच हो’, श्रेष्ठले भने।
जिल्लामा फुटबल क्षेत्रको विकासमा पनि टेवा पुर्याउने हिसाबले पनि यो ट्रेनिङ फलदायी रहने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवाल बताउँछन्। जिल्ला फुटबल क्षेत्रमा बालबालिकाले अहिलेबाटै यस्ता प्रशिक्षण बेलाबेला पाउन सकेपछि उनीहरूको खेलकुद क्षमतामा पनि विकास गर्न सकिने उनको भनाइ छ। उनी भन्छन्, ‘जिल्लामा एउटा पनि प्रशिक्षण नहुँदा विगतका वर्षमा जिल्लास्तरीय खेलहरूमा भोजपुर सधैं पछाडि रहनु परेको छ। बेलाबेला राम्रो प्रशिक्षण दिन सके उनीहरूमा कन्फिडेन्ट बढ्थ्यो। यही हिसाबले पनि इच्छुक सबै साना बालबालिकालाई संघले प्रशिक्षण दिन थालेको हो।’
हाल (एन्फा)ले भोजपुरलगायत नेपालका ४५ जिल्लामा ग्रासरुट फुटबल प्रोग्राम आयोजना गरिरहेको छ। अहिले प्रशिक्षण दिइएका बालबालिकाबाट एन्फाले जिल्लास्तरीय हुँदै राष्ट्रिय स्तरको बाल फुटबल खेलाडी छनोट गर्ने अध्यक्ष सुवालले जानकारी दिए।