पानी पर्दा चिया मजदुरको विचल्ली
बिर्तामोड : शनिबार राति पानी पर्दा अर्जुनधारा नगरपालिकास्थित गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया मजदुर तिलरुपा बिक रातभर सुत्न पाइनन्। करिब एक घण्टा परेको पानीले उनी बस्दै आएको क्वाटरभित्रको सबै लत्ताकपडा र सुत्ने स्थान भिज्यो। अहिले पनि उनी बरु गर्मीसहन आँट गर्छिन् तर रातमा पानी नपरोस् भनी प्राथना गर्छिन्।
तिलदरुपा मात्र होइन गिरीबन्धु टी–स्टेटको मजदुर आवासगृहमा बस्तै आएका सबै मजदुरको अवस्था उस्तै छ। भनिन्, ‘दिनभर चिया बगानमा चिया टिप्नेदेखि कम्पनीमा काम गर्नपर्छ तर क्वाटरमा पानी पसेर बस्न सकिँदैन, चिया मजदुर तिलरुपाले भनिन्, गर्मीमा त हम्किँदै सुत्न सकिन्छ तर पानी परे उपाय छैन।’
दुई दशकअघि निर्माण गरिएको मजदुर आवास गृहको मर्मत नहुँदा हिउँदभन्दा वर्षात्को समयमा मजदुरको अवस्था दयनीय बन्ने गरेको छ। ‘दिनभन्दा रातमा समस्या छ, दिउँसो जसोतसो बितिहाल्छ रातमा पानी परे एउटा कुनामा पोको परेर बस्नुको विकल्प छैन’, अर्का मजदुर फुनमुनि उराउ बताउँछिन्। वर्षौदेखि चिया बगानमा चिया पत्ती टिप्दै आएकी उनी पानी पर्नसाथ मजदुर आवासमा बस्दै आएका मजदुरको अवस्था दयनीय बन्ने गरेको दुखेसो पोख्छिन्।
बगान सञ्चालकलाई बारम्बारभन्दा समेत आवास मर्मतमा चासो नदिएको मजदुरको गुनासो छ।
चिया मजदुरले स्थानीय अगुवालाई पटक–पटक क्वाटरको छाना चुहिने समस्या राखे पनि समाधानको प्रयास नभएको अरोप लगाएका छन्। चिया मजदुरका नेताले पनि समस्या नबुझेको मजदुरको अरोप छ।
उनीहरू लामो समयदेखि काम गर्दै आएको गिरीबन्दु टी–स्टेटमा कहिले विद्युत्को समस्या त कहिले शौचालयको समस्या छ। अहिले चिया मजदुरले विद्युत्को समस्या सुल्झाएको छ। शौचालयको समस्या समाधानतिर पनि गएको मजदुर बताउँछन्। तर आवासगृह चुहिने समस्या भने जस्ताको त्यस्तै छ।
दुई दशकअघि निर्माण गरिएको मजदुर आवास गृहको मर्मत नहुँदा हिउँदभन्दा वर्षात्को समयमा मजदुरलाई बढी समस्या हुने गरेको छ।
‘दिनभर काम गरेर लखतरान भएका हामी आनन्दले सुत्न पाउँदैनौ’, चिया मजदुर जमुना मुण्डा गुनासो गर्छिन्। सरकारले केही दिनअघि मात्र चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारि श्रमिक तोकेको थियो। जसमा श्रमिकका लागि आधारभूत पारि श्रमिक ६ हजार चार सय ६९ र महँगी भत्ता चार हजार तीा सय १२ गरी मासिक १० हजार सात सय ८१ पारि श्रमिक तोकेको छ। तर, उनीहरू तोकेको ज्याला पाउँदैनन्। यसका लागि कम्पनीसँग मजदुर नेताले पहल गरिरहेको बताउने गरे पनि हालसम्म निकास आएको छैन।
अहिले पनि यो कम्पनीमा कार्यरत चिया मजदुरले दैनिक दुई सय ७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन्। त्यसका लागि ३२ केजी चिया टिप्नै पर्ने कम्पनीको नियम छ। ३३ केजी अर्थात् त्यो भन्दामाथि प्रतिकेजी दुई रुपैयाँ ५० पैसाका दरले थपिँदै जाने मजदुर बताउँछन्। यता मजदुरको समस्याबारे कम्पनी सञ्चालक छत्रबहादुर गिरीसँग सम्पर्क गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन।
नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघसँग आबद्ध मेची अञ्चलका चिया बगानमा कार्यरत मजदुर विभिन्न माग राख्दै आन्दोलनमा छन्। श्रम ऐन, २०४८ अनुसार एक वर्ष सेवा पूरा गरेपछि स्वतःस्थायी हुने व्यवस्था हुँदाहुँदै चिया बगानमा निरन्तर लामो समयसम्म काम गरेका कामदारलाई स्थायी नगरिएको आरोप उनीहरूको छ।
क्षेत्रफलका आधारमा प्रतिएक हेक्टर क्षेत्रफल बराबर एकजना कामदारलाई अनिवार्य स्थायी गरिनुपर्ने माग उनीहरूको छ। चिया मजदुरले पाउँदै आएको ज्यालाले एउटा परिवारको जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेको मजदुरको भनाइ छ।