बिमस्टेकलाई भुटानी शरणार्थीको आग्रह : स्वदेश फिर्तीको पहल गरिदेऊ
दमक : आसन्न बिमस्टेक सम्मेलनमा स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसमक्ष भुटानी शरणार्थीले आग्रह गरेका छन्। यहि भाद्र १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलन आफूहरुका लागि स्वदेश फिर्तीको उपयुक्त माध्यम बन्नसक्ने भन्दै भुटान स्वतन्त्र जनमञ्चले एक विज्ञप्तिमाफर्त जनाएको छ।
बिमस्टेक सम्मेलनमा भुटान र भारतका राष्ट्र तथा सरकार प्रमुखको उपस्थिति हुने भएकाले लामो समयदेखि राख्दै आएको स्वदेश फिर्ताको माग सम्बोधन हुने विश्वास गरिएको मञ्चले जनाएको छ ।
मञ्चका उपाध्यक्ष हर्कजंङ्ग सुब्बाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सम्माननीय प्रधानमन्त्री ज्यूबाट भुटान र भारतबाट पाल्नु हुने सरकार प्रमुख र राष्ट्र प्रमुखसमक्ष हाम्रो समस्या राखी छलफल गरि हामीलाई स्वदेश फिर्तीको पहल कदमी गराइ पाउन बिनम्र अनुरोध गर्दछौं।'
स्वदेश फिर्तीका लागि आफूहरुले सरकारलाई पटक-पटक आग्रह गरे पनि पूरा हुन नसकेको उपाध्यक्ष सुब्बाले बताए। सुब्बाले नेपाल सरकारको प्रयासले मात्र स्वदेश फिर्ताको संभावना नदेखिएको हुँदा बिमस्टेकको फोरमबाट कुरा अघि बढाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। उनले भने, ' हामी नेपालको भूमिमा नेपाल सरकारको संरक्षणमा बस्यौं, अब हामी हाम्रै देश भुटान जान चाहन्छौं यसका लागि बिमस्टेक सम्मेलन उपयुक्त फोरम बनिदिओस्।'
अब बिमस्टेकजस्ता फोरमबाट मात्रै आफूहरुको माग पूरा हुनसक्ने भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक सन्तबिर घलेले बताए। भारत सरकारद्धारा भुटान सरकारलाई राजनैतिक दबाब र अन्र्तराष्ट्रिय कुटनैतिक दबाब सृजना भएमा मात्र समस्या समाधान हुने घलेको ठम्याई छ।
विगत २७ वर्ष यता भुटानबाट लखेटिएपछि नेपालमा आश्रय लिएर बस्दै आएका भुटानी शरणार्थीले सरकारलाई स्वदेश फिर्तीका लागि पहल गरिदिन आग्रह गर्दै आइरहेका छन्। सरकार फेरिएसँगै प्रत्येक पटक स्वदेश फिर्तीको लागि आग्रह गरे पनि अहिलेसम्म उनीहरुको माग पूरा हुन सकेको छैन।
शरणार्थीका लागि दिइएको तीन विकल्प स्वदेश फिर्ती, तेस्रो देश पुर्नबास र स्थानीयकरणमध्ये युएनएचसीआरले तेस्रो देश पुर्नबास कार्यक्रम बन्द गरिसकेको छ। शरणार्थीलाई सहयोग गर्दै आएका विभिन्न दाता पनि बिस्तारै पलायन हुँदै गइरहेका छन्। स्वदेश फिर्ताका लागि भारतले भूमिका नखेलेसम्म शरणार्थीलाई भुटान फर्कने छाँट छैन।
तसर्थ भुटानी शरणार्थीलाई स्थानीयकरण गर्नु बाहेकको अन्य विकल्प नभए जस्तै देखिएको छ। स्थानीयकरणका विषयमा दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले केन्द्रीय सरकारको स्पष्ट दृष्टिकोण नआएसम्म केही भन्न नसकिने बताइन्।
।
९० को दशकमा पूर्वी भुटानबाट लखेटिएका नेपाली भाषी भुटानी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए। सुरुमा झापा र मोरङका विभिन्न ७ स्थानमा शिविर खडा गरेर उनीहरु बसेका थिए । पुर्नबासमा तेस्रो देश गएसँगै भुटानीहरु झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा सिमित हुँदै आएका छन्।
अहिले ५ हजारको हाराहारीमा मात्र शरणार्थीहरु रहेका छन्। एक लाख १२ हजारभन्दा बढी भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे, न्युजील्यान्ड, बेलायत र नेदरल्यान्ड्स पुगिसकेका छन्।