सर्पले डसे भगवान् भरोसा !
उपचार केन्द्र २५–३० किलोमिटर टाढा
केचना : नजिकै मेची अञ्चल अस्पताल छ तर यहाँ सर्पले डसेका बिरामीको उपचार हुँदैन । जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई सर्पले डसे २५–३० किलोमिटर उत्तरी क्षेत्रमा रहेको चारआली आइपुग्नुपर्छ । दमक वा कन्काई पुग्न झन् धेरै समय लाग्छ । ‘यो क्षेत्रका स्थानीय सामान्य विष भएका सर्पले डस्यो भने त उपचार केन्द्रमा पुगी उपचार गरी घर फर्किन्छन्’, भद्रपुरका डिल्लीराम पोखरेलले भने, ‘तर, विषालु सर्पले डस्यो भने त लास मात्र घर फर्किन्छ या सास भन्ने टुंगो हुँदैन ।’
खोला तथा जंगलले घेरिएको भद्रपुर नगरमा अत्यधिक गर्मी हुन्छ । वर्षायाममा विषालु सर्पको बिगबिगी बढ्छ । धेरैले समयमा उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्छ । वर्षात्मा जताततै जलमग्न हुँदा र गर्मीमा जंगलका सर्प बस्ती हुँदै घरभित्र पस्ने गरेको स्थानीय बताउँछन् । ‘कुन बेला कस्तो सर्पले डस्छ, थाहा हुँदैन्’, भद्रपुरका श्याम लिम्बूले भने, ‘समयमै उपचार पाइएला भन्ने आसै हुँदैन ।’ हिउँदभन्दा वर्षायाममा सर्पको डरले रात बिताउनुपर्ने उनले गुनासो गरे ।
तेकै अवस्थामा हालै झापा कचनकवल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईलाई सर्पले डस्यो । समयमा सर्पदंश उपचार केन्द्रसम्म पुर्याउन नसक्दा उनको ज्यानै गयो ।
भद्रपुर नगर क्षेत्रमा सर्पदंशको उपचार केन्द्र सञ्चालन हुन सके धेरैको ज्यान बच्ने र कचनकवलबाट बालुवाडी सबै क्षेत्रका स्थानीयले सेवा पाउने कचनकवलका हेमबहादुर भट्टराईले बताए । भने, ‘उपचारकै लागि घण्टौं धाउनुपर्ने बाध्यतामा छन्, कसरी ज्यान बच्ला ? ’ सर्पदंश उपचार केन्द्र स्थापनाका लागि सरकार र जनप्रतिनिधिले चासो नदिएको उनले सुनाए भट्टराईले बताए ।
मेची अञ्चल अस्पतालको अनुगमन गर्न सोमबार भद्रपुर पुगेका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई नगरस्तरीय सर्पदंश उपचार केन्द्र स्थापनाको माग गर्दै युवा संघ नगर कमिटीले ज्ञापनपत्र बुझाएको थियो । स्वास्थ्य संस्था पुग्न लामो दूरी तय गर्नुपर्दा धेरैले अकालमै ज्यान गुमाउनुपरेको अवस्थालाई ध्यान दिई मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संघका नगर अध्यक्ष डिल्लीराम पोखरेलले बताए । ‘अहिलेसम्म नागरिकको आवाज कसैले सुनेनन्’, उनले भने, ‘जनप्रतिनिधिको योजनामा पनि सर्पदंश उपचार केन्द्र प्राथमिकतामा नपरेकाले मन्त्रीलाई नै ज्ञापनपत्र बुझायौं ।’ मन्त्री घिमिरेले चालू आर्थिक वर्ष नै केन्द्र स्थापनाका लागि बजेट निकासाको पहल गरिने आश्वासन दिएका थिए ।
सर्पले डस्दा भद्रपुर–१ लाहुरे चोकका विशाल लिम्बूका ३ वर्षीय छोरा बेबोको मृत्यु भयो । केही दिनअघि सर्पले डसेपछि उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
झापामा तीनवटा उपचार केन्द्र छन् । चारआलीमा लामो समयदेखि उपचार केन्द्र सञ्चालनमा छ । केही समयअघि कन्काई नगरपालिकाको सुरुंगामा केन्द्र स्थापना भयो भने दमकमा एक दशकभन्दा धेरै समयदेखि केन्द्र सञ्चालनमा छ ।
पूर्व–पश्चिम राजमार्गनजिकै तीनवटा उपचार केन्द्र हुँदा आसपासका स्थानीयलाई सहज छ । तर, ग्रामीण क्षेत्रका बासिन्दा भने समस्यामा छन् । समयमा उपचार नपाउँदा ज्यान गुमाउनेमा पनि ग्रामीण क्षेत्र र उपचार केन्द्रबाट टाढा रहेका नागरिक नै बढी रहेको प्रहरी तथ्यांकले देखाएको छ ।
असारयता मात्र झापामा १२ भन्दा बढीले सर्पको डसाइबाट ज्यान गुमाएका छन् । उपचारमा संलग्न प्राविधिकका अनुसार झापामा कोब्रा (गोमन) र करेत तथा पहाडी क्षेत्रमा भाइपर नामक विषालु सर्प पाइने गरेको छ । गोमन र करेत धेरै विषालु मानिन्छन् । यसले डस्ने बेला निकालेको न्युरो टक्सिन भेनमले स्नायु र श्वासप्रश्वासमा असर पुर्याउँछ । प्राथमिक उपचार नपाए यसले डसेको २० देखि ३० मिनेटमा ज्यान जाने चारआलीस्थित उपचार केन्द्रका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए ।
पूर्व–पश्चिम राजमार्गनजिकै तीनवटा सर्पदंश उपचार केन्द्र हुँदा आसपासका स्थानीयलाई सहज छ । तर, ग्रामीण क्षेत्रका बासिन्दा भने समस्यामा छन् ।
सेतो गोमनले खुट्टामा डस्दा सोमबार पनि बिर्तामोड नगरपालिका–७ का विष्टो मुर्मुकी छोरी १२ वर्षीया सकुरमुनीको मृत्यु भएको थियो । उनलाई सर्पले डस्नासाथ चारआलीस्थित उपचार केन्द्र पुर्याइएको थियो । गोमनको विष चाँडो फैलिने हुँदा बचाउने सम्भावना कम हुने चिकित्सक बताउँछन् ।
०००
चारआलीको सर्पदंश उपचार केन्द्रमा उपचार गर्दै बिरामी । रविन भट्टराई