पाँच मेगावाटको सोलार विद्युत् परियोजना

पाँच मेगावाटको सोलार विद्युत् परियोजना

दमौली : शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा पाँच मेगावाटको सोलार विद्युत् उत्पादन गरिने भएको छ। सोलार फार्म प्रालि अन्तर्गतको बेलचौतारा सोलार आयोजनाले एक महिनाभित्रै काम थालेर अबको एक वर्षभित्र पाँच मेगावाट विद्युत् राष्ट्रिय सोलार प्रणालीमा उपलब्ध गराउने लक्ष्य राखेको प्रबन्धक तिलबहादुर आलेले जानकारी दिए। बेलायतका गैरआवासीय नेपालीसहित स्थानीय उद्यमीको ५० करोड लगानीको आयोजनाले थप स्थानीयको सेयर पनि लगानीका रूपमा लिने लक्ष्य राखेको आलेले बताए। यसका लागि स्थानीयसँग अन्तक्र्रियासमेत गरिएको छ। अन्तक्र्रियाबाट स्थानीयस्तरमा समेत लगानी जुट्नेमा आशावादी बनेका छौं। हाल कम्पनीमा बेलायतका गैरआवासीय नेपाली मोहन गुरुङ, लेखनाथ पाण्डे, स्थानीय शंकर गुरुङ र तिलबहादुर आले संस्थापक छन्। उनीहरूले स्थानीयस्तरबाट उठेको लगानीपछि आफूहरूले थप लगानी गर्ने योजना बनाएका छन्। गैरआवासीय नेपाली संघ यूकेमार्फत पनि आयोजनामा लगानी हुनेछ।

झन्झटिलो प्रक्रियाले पीपीएमा ढिला

नेपाल विद्युत् प्राधिकरणको जटिल प्रक्रियाका कारण सर्भे सकेको लामो समयपछिमात्र विद्युत् खरिद सम्झौता भएको छ। कम्पनीले २०७३ साल माघमा सर्भेको अनुमति लिएर काम सके पनि सोलार विद्युत् खरिदका विषयमा नीति नै नबन्दा विद्युत् खरिद सम्झौतामा निकै ढिलाइ भएको प्रबन्धक आलेले बताए। तर, पछिल्लो तीन महिनामा छोटो समयमा भएको कामका कारण हालै मात्र प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा विद्युत् खरिद सम्झौता भएको उनले बताए। ‘प्राधिकरणका कार्यकारी कुलमान घिसिङज्यूको तदारुकताले पहिले ढिला भए पनि अहिले सहजसँग सम्झौता भयो’, उनले भने। आलेले २०७६ भादौ महिनामा विद्युत् उत्पादन गर्ने गरी प्रक्रिया सुरु भएको बताए। ‘अबको एक महिनामा निर्माण सुरु हुन्छ’, उनले भने,‘६ महिनामा निर्माणको काम सकेर बाँकी समयमा प्रसारणका तयारी सक्नेछौं।’

एक सय रोपनी जग्गामा प्लान्ट

डेनमार्कको सन् एनर्जी कम्पनीले अल्पविकसित मुलुकमा सहज लागतमा विद्युत् उत्पादन गर्न विकास गरेको विशेष प्रविधिमार्फत् सोलार विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ। दमौलीको सबस्टेसन वा बेलचौतारामा निर्माणाधीन सबस्टेसनमा विद्युत् दिने गरी तयारी गरिएको छ। यसका लागि भानुभक्त क्याम्पसको एक सय रोपनी जग्गा प्रतिवर्ष साढे १३ लाख रुपैयाँ भाडामा लिइएको छ।

बेलायतका गैरआवासीय नेपालीसहित स्थानीय उद्यमीको ५० करोड लगानीमा आयोजना बन्ने।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर थापाले स्थानीयस्तरमा विद्युत्समेत उत्पादन हुने र क्याम्पसलाई समेत लाभ हुने भएकाले १० वर्षका लागि जग्गा भाडामा दिएको बताए। ‘यो देशकै लागि उदाहरणीय काम पनि हो भनेर सघाएक हौं’, उनले भने, ‘२२ हजार ६ सय ४२ प्यानलमार्फत उत्पादन हुने विद्युत् सीधै राष्ट्रिय प्रसारणमा जोडिनेछ। ब्याट्रीबिनै विद्युत् ग्रिडमा जानेछ।’ आलेका अनुसार यो प्रविधि सहज र सस्तो पनि छ। हालसम्म यस क्षेत्रमा काम नगरेको भए पनि तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको गुरुङले बताए।

विद्युत् प्राधिकरणसँग कम्पनीसँगै अपि सोलार कम्पनीलेसमेत सोलार विद्युत् उत्पादनका लागि सम्झौता गरेको छ। सम्झौता भएकै समयमा विद्युत् उत्पादन भएमा सोलार फार्म राष्ट्रिय ग्रिडमा सोलार विद्युत् दिने पहिलो कम्पनी हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.