निर्मला हत्या प्रकरण : रोशनीद्वारा आरोप इन्कार, अनिताको बयान बाँकी
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद थपिएको छ। जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएका दिदीबहिनीलाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थप गरिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
प्रहरीले जिल्ला न्यायाधिवक्ताको प्रत्यक्ष समन्वयमा निर्मला बलात्कार र हत्याकाण्डको अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्या आरोपमा प्रहरी थुनामा रहेका ४१ वर्षीय दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य चेकजाँच भइरहेको छ । मानसिक स्वास्थ्य ठीक रहे÷नरहेको र अन्य स्वास्थ्य अवस्था चेक गर्न उनलाई काठमाडौं लगिएको हो ।
यसअघि प्रहरीले बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गरेको थिएन । शुक्रबारदेखि प्रहरीको नयाँ नेतृत्व हाजिर भएसँगै घटनाको प्रारम्भिक चरणबाटै अनुसन्धान थालेको हो ।
रोशनीले गरिन् आरोप इन्कार, अनिताको बयान लिन बाँकी
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् । थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।
सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ । तपाईंहरूमाथि त यस्तो आरोप लागेको छ नि ? भनी सोधिएको प्रश्नमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन् । ‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको हो ।
निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको समेत बयानका क्रममा बताएकी छन् । ‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।
पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको हो । यसअघि पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेपछि प्रहरी सोधपुछ गरेको थियो । हिरासतमा अनुसन्धान क्रममा प्रहरीले आफैंले आवश्यक सोधपुक्ष र बयान लिएको थियो ।
रोशनीलाई बालमैत्री हिरासतमा राख्न निर्देशन
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान गर्न प्रहरी हिरासतमा लिइएकी रोशनी बमलाई बालमैत्री हिरासतमा राखेर मात्रै अनुसन्धान गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले रोशनीलाई बालमैत्री हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन जारी गरेको हो । रोशनीको उमेर १२ वर्ष ११ महिना मात्रै रहेकाले उनलाई बालमैत्री हिरासतमा राख्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिए ।
साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न घरदेखि हिँडेकी १३ वर्षीया निर्मलाको अर्कोदिन निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
प्रहरीले बलात्कारपछि हत्या भएको घटनामा ४१ वर्षीय दिलीपसिंह विष्टको संलग्नता रहेको ठहर गर्दै उनलाई आरोपी बनाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । आन्दोलन हिंसात्मक बनेपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो भने जिल्लाको सुरक्षा नेतृत्वसमेत फेरबदल गरेको थियो । उच्चस्तरीय छानबिन समितिले छानबिनको काम भइरहेको जनाएको छ ।