श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सीरसेना लुम्बिनी भ्रमणमा आएका छन् । सम्मेलन समापन भएपछि उनी लुम्बिनी भ्रमणमा आएका हुन् । उनको लुम्बिनी भ्रमणलाई नीजी भ्रमण भएको बताइएको छ । काठमाडौँबाट प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदैँ लुम्बिनी पुगेका हुन् ।
उनले लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि त्यहाँ हुने विशेष पूजामा उनी सहभागी हुनेछन् । मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गर्ने कार्यक्रम समेत रहेको छ । उनले श्रीलंकाद्धारा निर्मित गुम्बाको समेत अवलोकन गर्नेछन् । त्यसपश्चात श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरीध्वज राईले जानकारी दिए ।
श्रींलकमा सस्शत्र विरोधी समूह लिबरेसन अफ तमिल टाईगर इलम (लिट्टे) अस्तित्व श्रीलंकामा नरहेपनि तमिल सामुदायको संजाल संसारभार रहेकोले श्रीलंकाका राष्ट्रपतिलाई तामिल समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ ।
सोही अनुसार लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिको लुम्बिनी भ्रमणको क्रममा उनको सुरक्षाको लागि देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सस्शत्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको छ । श्रीलंकाका राष्ट्रपतिलाई भीभीआइपी सुरक्षा उपलब्ध गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकरी उदय बहादुर रानाले बताए ।
उनले भने ‘उनी कहाँ कहाँ जान्छन् त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ र त्यही अनुसार कार्यान्वयन भइरहेको छ । उनको सुरक्षामा कुनै कमी रहेको छैन ।