नानीबाबुसँग भाषाविद् शरच्चन्द्र वस्तीका मनका कुरा
मेरो जन्म करिब ६ दशक पूूर्व धरानमा भएको हो। मेरो प्रारम्भिक शिक्षा घरैबाट सुरु भयो। हाम्रो पालामा विद्यालयहरू ज्यादै कम थिए। हाम्रो टोलमा पढ्ने, पढाउने वातावरण थियो। बुवा क्याम्पस पढाउनुहुन्थ्यो। बाह्मण बस्ती भएकाले म ज्यादै सात्विक वातावरणमा हुर्किएँ।
हालको चन्द्र संस्कृत मावि खुलेपछि म त्यहाँ गएर पढ्न थालेँ। विद्यालयको वातावरण ज्यादै रमाइलो थियो। लोकनाथ लुइँटेल गुरुले आफ्नो थोरै तलबबाट उबारेर विभिन्न प्रतियोगिता गराउनुहुन्थ्यो। पुरस्कारको व्यवस्था समेत उहाँ आफैंले गर्नुहुन्थ्यो। चन्द्र संस्कृत माविमा पढे पनि म परीक्षा दिन भने वनारस जान्थेँ। त्यसकारण मेरो पहिलो डिग्री नै संस्कृतको हो। एकपटक म हजुरआमासँग वनारस गएको थिएँ। त्यतिबेला ११ वर्षको थिएँ हुँला। केही समय बसेर फर्किएँ। त्यसपछि पनि यता पढ्ने परीक्षा भने वनारसबाट नै दिने क्रम चलिरह्यो। हाम्रो पालामा पढ्ने भनेकै कण्ठस्थ गर्ने र बुझ्ने भन्ने हुन्थ्यो। व्याकरण, साहित्य पढ्दाजस्ताको तस्तै पाठ बुझाउने चलन थियो। ज्ञान प्राप्त गर्ने र बढीभन्दा बढी गहिराइमा पुग्ने उद्देश्य हुन्थ्यो। त्यसबेला पढेपछि जागिर खाने, व्यवसाय गर्ने जस्ता उद्देश्य थिएनन्।
परीक्षा सकेपछि दुई महिना छुट्टी हुन्थ्यो। त्यो समय मेरा लागि महत्वपूर्ण थियो। म साँझ साढे ६ बजेतिर सुत्थेँ। बिहान १ नबज्दै उठिसक्थेँ। बिहान ७ बजेसम्म लाल्टिनको उज्यालोमा एकोहोरो पढिरहन्थेँ। बिदाको समयमा आगामी कक्षामा पढाइ हुने किताब एकसरो छिचोल्थेँ। क्याम्पस जाँदा किताब बोकेर जाँदिनथेँ। गुरुले पढाउँदा पाठ दोहोर्याए जस्तै लाग्थ्यो। अरूले देख्दा मैले खासै मेहनत गरेजस्तो पनि देखिँदैनथ्यो। तर रिजल्ट आउँदा मेरै नम्बर धेरै आउँथ्यो। लेखाइमा पनि मेरो आत्मविश्वास थियो।
शास्त्रीको परीक्षामा विश्वविद्यालय फस्ट भएँ। त्यसबेला १५ वर्षको रेकर्ड ब्रेक भएछ। मेरो र दोस्रो हुने साथीको नम्बरमा ७५ अंकको फरक थियो। विद्यालय र क्याम्पसमा पढ्दा विभिन्न प्रतियोगितामा म पुरस्कृत भइरहन्थेँ। त्यतिबेला अन्ताक्षरी खेलिन्थ्यो। हामी संस्कृतका श्लोकको अन्ताक्षरी खेल्थ्यौं। संस्कृतमा घबाट सुरू हुने श्लोकको संख्या ज्यादै कम हुन्छ। यो थाहा पाएपछि मैले दर्जनौं किताब पढेर घ मा अन्त्य हुने श्लोक भेला पारेर कण्ठ पारें।
मेरो पालो आउनासाथ घमा अन्त्य हुने श्लोक भन्थें। साथीहरूलाई घबाट श्लोक सुरू गर्न हम्मे हम्मे पथ्र्यो। यसकारण म सधैं प्रथम हुन्थें। एक पटक ४० जनाको सहभागी हुँदा पनि म नै प्रथम भएको थिएँ। म संस्कृतमा कविता लेख्न सिपालु थिएँ। पूर्वमध्यमा पढ्दा आचार्यका विद्यार्थीलाई चिट चोराउँथे। आचार्य अन्तिम वर्षको परीक्षामा कविता रचना गर्नुपथ्र्यो। कविताको शीर्षक मेरोमा आइपुग्थ्यो। म कविता कोरेर पठाइदिन्थे। २१ वर्षकै उमेरमा आचार्य पास भइसकेको थिएँ। २२ वर्षको हुँदादेखि दाङको क्याम्पसमा पढाउन थालेँ। त्यसको दुई वर्ष पछिदेखि हालसम्म पद्मकन्या क्याम्पसमा पढाउँदैछु।
हिजोआज भाषामा जे कमजोरी छ त्यो नै शुद्धमानक हो भनेर हल्ला फिजाइँदैछ। यसले भाषा प्रयोगकर्तालाई उँभो लाउँदैन।
संस्कृतमा शलाका परीक्षा भन्ने हुन्छ। त्यसमा किताबको बीचमा औंलो वा सिन्को राखेर पल्टाउँदा जहाँ पल्टिन्छ त्यहाँको सोध्ने गरिन्छ। त्यसरी सोध्दा म जहाँको पनि खरर भन्न सक्थेँ। हाम्रो घरमा नेपाली र हिन्दी पत्रिका आउँथे। पत्रिकाहरू पनि ध्यानपूर्वक पढ्थेँ।
बुवाले मेरा कुनै पनि कामलाई राम्रो गरिस् भनेर मैले थाहा पाउनेगरी खुलेर प्रशंसा गर्नु हुन्नथ्यो। बुवाले म १० वर्षमा हिँड्दै गर्दा सरस्वती पूजाका दिन ‘अइउण ऋलृक’ आदि गरिएका १४ सूत्र सिकाउनुभयो र कण्ठस्थ पार्न भन्नुभयो। बुवा फर्किंदा म खेलिरहेको थिएँ। बोलाएर भन्न लगाउनुभयो। मैलै खरर भनेँ। त्यो बेला बुवा अत्यन्तै खुसी हुनुभयो।
हाम्रो घरको वातावरण अनुशासित थियो। बिनाकाम घर बाहिर जाने चलन थिएन। हामी डन्डिबियो, कपर्दी खेल्थ्यौं। खेलसामग्री प्रायः आफैं बनाउँथ्यौं। किताब राख्ने खटिया समेत म आफैं बनाउँथे। गते र बार देखाउने काठको क्यालेण्डर समेत बनाएको थिएँ। त्यसबेला अहिले जस्तो क्यालेण्डर छापिँदैनथे। घरको सामान्य काम पनि सघाउँथ्यौं। सानामा म फूलको खुबै सौखिन थिएँ। आफैंले करिब दुई किलोमिटर टाढा खोलाबाट सानो कुलो खनेर ल्याएको थिएँ। त्यही पानीले फूलबारी भिजाउँथे।
भाइबहिनीले आफूले पढेको कुरा बुझेर मात्र पढ्ने बानी बसाल्नुपर्छ। त्यसो भएन भने परीक्षापछि पढेको कुरा दिमागमा रहँदैन। पढेको सबै कुरा आँखा चिम्लेर अन्धविश्वास गर्ने गर्नु हुँदैन। पढेको कतिपय कुरा भौतिक वा मानसिक रूपमा प्रयोग गरेर पनि हेर्नुपर्छ। प्रयोगपछि विश्वास लाग्यो भने त्यो ज्ञान हुन्छ। पढेको कुरा जस्ताको तस्तै बोक्नु बोझ हो। त्यसमा ज्ञान हुँदैन। त्यसकारण नयाँ ढंगले सोच्ने बानी गर्नुपर्छ। किताब, शिक्षक र विद्यालय विद्यार्थीका सहयोगी मात्र हुन्।
बुझेर पढ्दा कण्ठस्थ पार्न कुनै गाह्रो छैन। यो दिमाग तेज पार्ने एउटा उपाय पनि हो। पढ्दा एकाग्रता भए तीन चार पटक पढ्दा कण्ठस्थ हुन्छ। बेलुकाको पढाइ भन्दा बिहानको पढाइ राम्रो हुन्छ। कक्षामा जानुपूर्व शिक्षकले पढाउने विषयवस्तु एकपटक हेरेर जाने बानी गर्नुपर्छ। यसले सटिक प्रश्न गर्न पनि सजिलो हुन्छ। लेख्ने अभ्यास भएन भने परीक्षाको तयारी राम्रो गर्न सकिँदैन।
हामीले हाम्रो भाषा शुद्धसँग लेख्न र बोल्न जान्नुपर्छ। हिजोआज भाषामा जे जे कमजोरी छन् त्यो नै शुद्ध मानक हो भनेर हल्ला फिँजाइँदैछ। यसले भाषाका प्रयोगकर्तालाई उँभो लाउँदैन। शुद्ध लेख्न अभ्यास चाहिन्छ। कुनै पनि कुरा छोटोमा लेख्ने गर्नुपर्छ। परीक्षामा पनि यस्तो उत्तर राम्रो मानिन्छ। संस्कृतमा एउटा उक्ति छ ‘मितं च सारं च वचो हि वाग्मिता।’ थोरै र सारपूर्ण बोली नै राम्रो हो।
(भाषाविद् वस्तीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)