नानीबाबुसँग वरिष्ठ पत्रकार किशाेर नेपालका मनका कुरा

नानीबाबुसँग वरिष्ठ पत्रकार किशाेर नेपालका मनका कुरा

मैले पितृवात्सल्यको अनुभव गर्न पाइनँ । म पाँच वर्षको हुँदा नै बुवा बित्नुभयो । उहाँ प्रायः भारततिरै बस्नुुहुन्थ्यो । बुवा निकै विद्वान हुनुहुन्थ्यो, पुराण वाचन गर्नुुहुन्थ्यो । उहाँ राजपरिवारको पण्डितमध्येको एक हुनुहुँदो रहेछ । आमा पनि उतै जागिर खानुहुन्थ्यो । म भने फुपूहरूका साथमा काठमाडौंमै बस्थेँ । त्यतिबेला हामी खिचापोखरीबाट पुुरानो बानेश्वर सरेका थियौं ।

हाम्रो समय संक्रमणकालीन अवस्था जस्तै थियो । हामीभन्दा अगाडिको पुस्ताले जहानियाँ राणाशासनका विरुद्ध आन्दोलन गर्‍यो । संस्कृत पढ्ने विद्यार्थीले जयतु संस्कृतम् आन्दोलन गरे । हामीबीचको पुस्ता भर्खर हुुर्कंदै थियौं । हामीले २०१५ सालमा आमचुनाव भएपछि मात्रै राजनीतिक कुराहरू थाहा पायौं । मलाई पनि चुनावको बेलामा झन्डा बोकेर यताउता दौडिएको सम्झना आइरहन्छ ।

हामी केटाकेटी हुँदा काठमाडौं सहरको रूपमा विकास हुन थालेको मात्र थियो । बानेश्वर गाउँ पनि होइन, सहर पनि हुँदै होइन, काँठ पनि होइन जस्तै थियो । हाल पुरानो बानेश्वरको ट्राफिक भएको ठाउँमा सानो बजारको आभास हुन्थ्यो । त्यहाँ केही कपडा, किराना, घिउचाकु, तमाखु, हलुवाई पसल आदि थिए । गौशाला र चाबहिल पनि यस्तै थियो । डिल्लीबजार अलि ठूलो जस्तो लाग्थ्यो । हाम्रो बत्तीसपुतलीको गल्लीमा ४ बजेपछि हिँड्न डर लाग्थ्यो । हामी गीत गाउँदै, सुुसेल्दै, कराउँदै हिँड्थ्यौं ।

हाम्रो पालामा अहिले जस्तो पढ्ने सुविधा थिएन । मेरो प्रारम्भिक पढाइ आदर्श विद्या श्रमबाट सुरु भयो । पछि त्यो स्कुल लडेपछि राम मन्दिरमा सर्‍यो । त्यसबेला पशुपतिमा शारदा विद्या श्रम र चाबहिलमा पशुपति हाइस्कुल थिए । कक्षा ९ र १० मा सरकारी छात्रवृत्ति पाएर म दरबार हाइस्कुल गएँ । एसएलसी परीक्षा दिनेबेलामा म बुटवल पुगेको थिएँ । मेरो केन्द्र भने काठमाडौं तोकिएको थियो । कान्छी दिदीको विवाह भैरहवामा भएकाले म त्यता पुगेको हुँ । बुटवलमा रहँदा म सडक विभागमा ज्यालादारी गर्थें । त्यो सुपरभाइजर जस्तै जागिर थियो ।

हाम्रो स्कुले जीवन अहिलेभन्दा फरक थियो । सबेरै उठेर ठूलो झोला बोकेर जानु पर्ने बाध्यता थिएन । हामी हिँडेरै स्कुल जान्थ्यौं । स्कुल ढिलो पुग्दा सरहरूले छड्के आँखाले हेर्नुुहुन्थ्यो । नेपाली पढाउने कृष्णप्रसाद सरले साह्रै राम्रोसँग पढाउनुुहुन्थ्यो । पाठ नबुझाउँदा पिट्ने चलन थियो । हिजोआज त्यो चलन पूरै हटेको छ ।

मैले बाल्यकालमा खासै उपद्रो गरिनँ । म गाई चराउन पनि जान्थेँ । हामी निगुरो च्याउ खोजेर ल्याउँथ्यौं । च्याउ खान मिल्ने कि नमिल्ने भनेर दिदीहरूले निक्र्योल गर्थे । हामी वागमतीमा पौडी खेल्न जान्थ्यौं । उतिबेला वागमती स्निग्ध, सफा र कञ्चन थियो । गौरीघाट र आर्यघाटको बीचमा सूर्यघाट थियो । त्यहाँको दहमा भुँमरी पथ्र्यो । पौडी खेल्न सिपालु साथीहरू मात्र त्यहाँ जान्थे । हालको तीनकुने नजिकै पनि त्यस्तै खतरनाक दह थियो । एकटक पौडी खेल्दाखेल्दै मैले पनि पानी खाएँ । मलाई साथीहरूले दुर्घटना हुनबाट बचाए ।

म घरबाट एक दुई पैसा खर्च पाउँथे । त्यतिबेला अहिलेजस्तो किनेर खाने ठाउँ पनि हुँदैनथ्यो । घरमा बाहिर खाएको थाहा हुन्छ भन्ने डर पनि उत्तिकेै हुन्थ्यो । हामी भकुण्डो पनि खेल्थ्यौं । त्यसबेला रबरले बनेको सानो भकुण्डो किन्न पाइन्थ्यो । दीपक जंगम, उज्ज्वल शर्मा, भोला चालिसे, भोलानाथ बस्नेत आदि मेरा खेल्ने साथी थिए । दिदीबहिनीसँग लुकामारी खेल्दा पनि उत्तिकै मज्जा आउँथ्यो ।

भाइबहिनीको रुचि एकातिर हुन्छ, परिवारको अर्कोतिर । त्यकारण अभिभावकको सल्लाहमा आफ्नो रुचिको काममा हात हाल्नुपर्छ । हरेक काममा लगनशीलता चाहिन्छ । नत्र सोचेको काममा सफलता हात पार्न गाह्रो हुन्छ । म सुरुदेखि अरूको लेखाइ देखेर लोभिन्थेँ । खुब ध्यान दिएर पढथेँ ।

माधव घिमिरेका कविता, लेखनाथ पौड्यालका कविता, भीमनिधि तिवारीका नाटक, गुरुप्रसाद मैनाली, विजय मल्ल, गोविन्दबहादुर मल्लका कथाले मलाई खुब आकर्षित गरेको थियो । तुलसी दिवस, द्वारिका श्रेष्ठ, भूपि शेरचनका कविता पढिरहन्थेँ । मलाई पनि त्यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । पढ्दै गएपछि ममा पनि आत्मविश्वास बढ्दै गयो । एक पटक मेरो रचना रूपरेखामा पठाएको थिएँ, छापिएछ । त्यतिबेला मेरो खुसीको सीमा नै रहेन । त्यसपछि नै मैले लेखेरै खान्छु भन्ने संकल्प लिएँ ।

प्रायः हामी एकै खाले लेखिरहेका हुन्छौं । शब्द र शैलीको विकल्प खोज्दैनौं । लेखाइमा जहिल्यै फरकपन चाहिन्छ, नत्र लेखाइ जीवन्त बन्न सक्दैन । कुनै पनि कुरा सिकेर सकिँदैन । जिज्ञासाले प्रश्न पनि जन्माउँछ । हामीमा हर काममा आत्मविश्वास पनि चाहिन्छ । मेरा साथीहरूले गरेको काम गर्न सक्छु भन्ने भएपछि काम गर्न सहज हुन्छ ।

शैलेन्द्र साकारका कथा कविता ज्यादै राम्रा छन् । उनले साहित्य के हो भन्दा ‘साहित्य हजार भोल्टको बिजुलीको नाङ्गो तार छुँदा उत्पन्न हुने भट्काझैं हुनुपर्छ ’ भनेर जवाफ दिए । हो साहित्य झट्का दिन सक्ने हुनुपर्छ । सत्य कुरा पनि त्यही हो । हामी सबैमा त्यस्तै राम्रो लेख्छु भन्ने आत्मविश्वास चाहिन्छ । आत्मविश्वास पनि आफैंले जगाउने हो अरूले हाइन ।

हाम्रो समाज विचित्रको छ । यहाँ हरेक तह र तप्काका थरीथरीका मान्छे बसोबास गर्छन् । तिनीहरूका बीचमा संवादको आवश्यकता पर्छ । यो संवादको थालनी नै पत्रकारिता हो । पछिल्लो समय सञ्चार एउटा शास्त्रको रूपमा विकास हुँदै आएको छ । पत्रकारिता यसकै अंग भएको छ । तर पनि पत्रकारितामा नयाँपन देखिन छाडेको छ । हरेक बिहान सबै अखबारहरूमा एकरूपता देखिन्छ । लेखाइमा विविधता भएन भने हाम्रो उद्देश्य पूरा हुन गाह्रो हुन्छ ।

(वरिष्ठ पत्रकार नेपालसँग समीरबाबु कट्टेलले गरेको कुुराकानीमा आधारित ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.