ज्यान जोखिममा राखेर खोला तर्छन् विद्यार्थी

ज्यान जोखिममा राखेर खोला तर्छन् विद्यार्थी

चुलाचुली : रतुवा खोलामा बाढी आउँदा इलाम चुलाचुली–५ की रेश्मा राई कलेज जान पाइनन् । झापा दमकस्थित हिमालय माविमा कक्षा ११ मा अध्ययनरत उनले असारयता बाढीकै कारण नौ दिन पढाइ छुट्टाउनुप¥यो । अहिले पनि बेला–बेला बाढीले कहिले घरबाट कलेज त कहिले कलेजबाट घर जान रोक्छ ।

चुलाचुली–५ र दमकबीचको रतुवा खोलामा पुल नहुँदा वर्षायाममा दमक पढ्न जाने विद्यार्थीले दैनिक सास्ती भोग्नुपरेको छ । ‘खोलाको सतह घट्दा एकापसमा हात समाएर खोला तर्छौं’, आँपझोलाकी रेश्माले भनिन्, ‘पानी परेको र खोला बढेको समयमा कलेज जानै पाइँदैन ।’

अर्की छात्रा तुलसा खनालले कलेज पुग्ने÷नपुग्ने टुंगो खोला किनारमा पुग्दा मात्रै थाहा हुने सुनाइन् । भनिन्, ‘कतिको त खोला तर्दा–तर्दै साइकल र किताब नै बगाएको पनि छ ।’

उनीहरूका अनुसार साइकल काँधमा हालेर यो खोला तर्नुपर्ने बाध्यता छ । ‘बिहान कलेज जाँदा खोलामा बाढी आएको हुँदैन, बेलुका घर फर्किंदा बाढी आएर खोला तर्नै सकिँदैन’, खोला किनारमा भेटिएकी अञ्जुली लिम्बूले भनिन्, ‘कति पटक त राति १०–११ बजेसम्म पनि खोला घट्छ कि भन्दै पर्खिएर बसेका छौं ।’

छात्रा सुनीता राईका अनुसार बिहान कलेज जान भनेर आउँदा खोलामा बाढी आइरहेको हुन्छ । ‘कसरी खोला तर्ने ? कति पटक त क्याम्पस नै छुटाएका छौं’, उनले भनिन्, ‘इलामतर्फ नजिकै कलेज नहुँदा ज्यान जोखिममा राखेरै पढ्नुको विकल्प छैन ।’

चुलाचुलीबाट दमक अध्ययनकै लागि १ सय ५० छात्रछात्राले दैनिक ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर दमक आएर खोलामा पुल हाल्ने भनेको धेरै पटक सुनेको सुनीताले बताइन् । तर, आफूहरूजस्ता विद्यार्थी र स्थानीयको पीडा नेताले नबुझेको उनको गुनासो छ । ‘इलाम र झापा दुवै जिल्लाका नेता देशका उच्च स्थानमा पुगे तर कसैले एउटा झोलुंगे पुलसमेत हाल्न पहल गरेनन्’, उनले भनिन्, ‘अहिले त दमककै केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, पहल गरे हुने हो ।’

इलामको यही क्षेत्रबाट जितेका सुवास नेम्बाङ सभामुख भइसके तर जनताका समस्या समाधानमा चासो नदिएको स्थानीय सञ्जय बस्नेतले बताए । ‘खोलामा पुल नभएकै कारण इलामका बिरामीले उपचार पाउँदैनन्’, उनले भने, ‘कतिले त समयमा उपचार नपाएर ज्यानै गुमाए । साइकल, मोटरसाइकल र मान्छेसहित सामान बगाएको त लेखाजोखा नै छैन ।’

खोलामा पुल बन्छ भनेको सुनेकै १५ वर्ष भए पनि अहिलेसम्म पिलरसम्म हाल्ने नभएको उनले सुनाए । यो क्षेत्रमा पुल नहुँदा चुलाचुली–५ स्थित आँपझोला र बुकुवाका स्थानीयले बढी दुःख पाउँछन् । यहाँका करिब ३ सय घरधुरीको दैनिकी चलाउन ज्याला, मजदुरीदेखि दैनिक उपभोग्य सामानका लागि खोला तरेरै दमक जानुपर्ने बाध्यता छ । उनीहरू वर्षौंदेखि जोखिम मोलेरै खोला तरिरहेका छन् । पुल नहुँदा दमक जान जोखिम रहेको बुकुवाका ध्रुव विश्वकर्माले बताए । ‘हाम्रो दैनिकी दमकसँग जोडिएको छ, मजदुरी गर्नदेखि दैनिक उपभोग्य सामान ल्याउन खोला तरेरै दमक जानुपर्ने बध्यता छ’, उनले भने, ‘तर, हाम्रो बाध्यतालाई कसैले बुझेन ।’

स्थानीय भीमकुमारी राईका अनुसार यहाँको दुःख न झापाले देखेको छ न त इलामले नै । ‘यहाँ एउटा झोलुंगे पुल मात्र बनाइदिए पनि धेरै सहज हुने थियो’, उनले भनिन् । पुल बनाउने हल्ला धेरै सुने पनि अहिलेसम्म नबनेको उनको भनाइ छ । भनिन् ,‘पुल बनाउने भन्ने हल्ला भएको त धेरै वर्ष भयो तर अहिलेसम्म बनेको छैन ।’ जनप्रतिनिधिबाट केही आस पलाए पनि दुई जिल्ला जोड्ने पुल भएकाले दुवैतर्फका जनप्रतिनिधिले यस विषयमा गम्भीर रुपमा नसोचेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.