पक्की सडकले विस्थापित झोलुंगेपुल
तानसेन : पाल्पाको तानसेन नगरपालिका–१४ र गुल्मीको रुरु गाउँपालिका–१ रिडीमा रहेको झोलुंगे पुल २७ वर्षदेखि प्रयोगमा आएको छैन । २०४८ सालमा दुई जिल्ला जोड्ने पक्की पुल निर्माण भएपछि छेउमै रहेको झोलुंगे पुल प्रयोगविहीन भएको हो ।
पाल्पाकै कतिपय स्थानमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । नदी तर्ने क्रममा कतिले ज्यान गुमाए । तर भएका संरचनाहरू बेवारिसे भएकोप्रति भने कसैले चासो दिएनन् । प्रयोगविहीन बनेको रुरु क्षेत्रधाम रिडी खोलाको पुलको पेच किल्ला फुस्किएका छन् । पुलका कयौं बहुमूल्य सामान चोरीसमेत भएका छन् ।
‘हामीले जान्दादेखि नै झोलुंगे पुल यस्तै भताभुंग छ । न त यो मर्मत भयोे न त स्थानान्तरण नै । कयौं पटक बालबालिका खेल्दै गर्दा दुर्घटना भएको छ’, स्थानीय देव थापाले भने । ०१८ सालमा रुरु क्षेत्रमा ठूलो बाढी आई बजारसमेत बगाएपछि तत्कालीन राजा महेन्द्रको निर्देशनमा रुरु क्षेत्रधाममा झोलुंगे पुल निर्माण भएको थियो । स्थानीयले झोलुंगे पुल मर्मत वा स्थानान्तरणको माग गरेका छन् । पुरानो भएकाले सकेसम्म मर्मत गर्नुपर्ने स्थानीय चुडामणि कडेलले बताए ।
एतिहासिक पुल भएकोले मर्मतसम्भार गरी सञ्चालनमा ल्याउने विषयमा तानसेन नगरपालिका वडा नंं १४ र रुरु गाउँपालिका वडा नंं १ बीच छलफल भएको रुरु गाउँपालिका वडाअध्यक्ष रामलाल विकले बताए । पुलको मर्मत सम्भव भएकाले आगामी वर्ष मर्मत गरी सञ्चालनमा ल्याइने रुरु गाउँपालिका वडा नंं १ अध्यक्ष विकले बताए ।
रुरुको मात्रै नभई अन्य नदीमा बनेका पुलसमेत बेबारिसे बनेका छन् । प्रदेश ५ का कतिपय खोलामा बनेका करिब ५० वटा पुल प्रयोगविहीन रहेको अनुमान गरिएको छ । यस्ता पुलहरू पाच–छ वर्षअघि मात्रै बनेका हुन्