मञ्चमा वासुदेव : प्रेम, वासना र नसाको उल्झन
काठमाडौं : टेबलमाथि लागूपदार्थले भरिएको बक्स, सँगै कार्पेटमाथि ढलिरहेको अचेत युवा, सोफामाथि असरल्ल लत्ताकपडा। अनि, नेपत्थमा बजिरहेछ निरन्तर ज्याज म्युजिक। एक्कासि कसैले ढोका ढकढक्याउँछ। ड्रग्स खाएर झुम्म परेका देव (सन्दीप श्रेष्ठ) रन्थनिँदै ढोका खोल्छन्। त्यहाँ ऊ देख्छ, वासु (आयुष प्याकुरेल ) लाई। वासु र देव साथी हुन्।
२० लाख रुपैयाँले भरिएको ब्याग र एउटा सुटकेससहित वासु देवको कोठामा आएको छ। बुवासँग झगडा भएपछि पैसा चोरेर वासु देवको कोठामा आएको छ। यो थाहा पाउनासाथ देव डराउँछ र वासुलाई आफ्नै घर फर्कन आग्रह गर्न थाल्छ। तर वासु मान्दैन। कोठाको भित्तापट्टि दराज, बायाँपट्टि कम्प्युटर र कुनातिर भान्साकोठाका सामग्री हेर्दै वासु घर नफर्कने जिद्दी गर्न थाल्छ।
दुई साथीबीच एकछिन मतभेद हुन्छ। अन्तमा दुवैजना चोरेको पैसाले ड्रग्स किन्ने सहमतिमा पुग्छन्। ड्रग्सकै कारोबार गरेर टन्न पैसा कमाउने उनीहरू सोच्छन्। यो काममा देवकी प्रेमिका ईशालाई पनि सामेल गराइन्छ। साथै श्लेषा (ईशाकी साथी) पनि संलग्न हुन्छिन्।
आफ्ना आमाबुवासँग छुट्टिएर बसेका देव एक्लै एउटा कोठा लिएर बसेका छन्। देव भन्छन्, ‘मैले मेरा बुवाआमालाई स्वतन्तत्रा दिएको छु।’ देवा आफू निडर र कन्फिडेन्ट भएको सबैलाई बताइरहन्छ। तर उनी सानासाना कुरामा प्रत्येक पल डराई रहन्छन्। उनी जिन्दगीमा केही बन्न चाहन्छन् तर के बन्ने उनलाई थाहा छैन। फिल्मका पारखी देव कहिले हिरो बन्ने कुरा गर्छन् त कहिले फिल्मको निर्देशक बन्ने सपना देख्छन्। तर वास्तवमा उनी दिनरात नसामा हुन्छन् र लागूपदार्थको कारोबारमा पनि संलग्न भइरहेका छन्। देवकी प्रेमिका ईशा पनि उसको साथमा छे। यी दुई छिनभरमै सम्बन्धविच्छेद गर्ने र लागूपदार्थका लागि छिनभरमै मिल्ने स्वभावका छन्।
यता वासु भने पारिवारिक झमेलामा फसेको छ। दिनरात बुवासँगको झगडा, दिदीको आफ्नै श्रीमान्बाट हत्या र आमाको साथ नपाएका वासु यसै पनि अल्लारे स्वभावका छन्। तर लागूपदार्थ सेवन भर्खरै मात्र सुरु गरेका वासु कसैको पे्रममा छन्। र, आफूले मन पराएकी केटी जसरी पनि पाउन चाहन्छ। वासु र देवको जीवनमा माया, ड्रग्स र कामवासनाको इच्छाबाहेक अन्य कुराका लागि समय नै हुँदैन।
अन्त्यमा बढी ड्रग्स सेवनका कारण अर्को एक साथीको मृत्युको खबरले देव निकै डराउँछ र वासु भने बिलकुल भयभीत हुँदैन। लागूपदार्थले कसैको ज्यान लिए पनि दुवै फेरि ड्रग्स नै सेवनमा रमाउँछन्।
सन्दीप श्रेष्ठ र नवीन भट्टको निर्देशन रहेको नाटक वासुदेवको लेखन सन्दीप श्रेष्ठले नै गरेका हुन्। आयुष प्याकुरेल, सन्दीप श्रेष्ठ, सुरभि सापकोटा र आभा नेपालले मञ्चमा प्रस्तुति दिएका थिए।
फोर क्युब इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको नाटक वासुदेव भदौ ३१ गतेसम्म कुञ्ज नाटकघरमा मञ्चन भइरहेको छ। प्रेम, वासना र नसाको उल्झनमा युवाले गर्ने कयौं गल्तीलाई नाटकमा समावेश गरिएको छ। साथै नाटकमा अहिलेका युवावर्गलाई लक्षित गरी युवावस्थामा आई पर्ने कयौं अन्योल र अपरिपक्वताबीचको संघर्ष प्रस्तुत गरिएको छ।