जिल्ला अदालतले रिहा गरे लगत्तै प्रकाण्ड फेरि पक्राउ: भोजपुरबाट दाङ लगियो
भोजपुर : नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेको छ। ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरेलगत्तै पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको छ।
प्रकाण्डमाथि लागेको अभियोगमध्ये टेम्के मैयुङ गाउँपालिका ६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विस्फोट गराइएको ज्यान मार्ने मुद्दामा थप प्रमाणबाट बुझ्दै जाने क्रममा ठहरे बमोजिम हुनेगरी २५ हजार नगद, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा भएको बम विस्फोटको मुद्दामा २५ हजार नगद र साल्पासिलिछो गाउँपालिका २, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गराएको प्रमाणबाट बुझ्दै जाने क्रममा ठहरे बमोजिम हुनेगरी १० हजार नगद गरी ६० हजार नगद धरौटीमा रिहा गरिएको जिल्ला अदालतका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी केशवकुमार थेबेले प्रकाण्डलाई बुधबार अदालतबाट रिहापछि तत्काल पुनः पक्राउ गरी दाङ लगिएको कारण नखुलेको बताए।
ज्यान मार्ने उद्योग र विस्फोट पदार्थ मुद्दा अन्र्तगत गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विस्फोट गराइएको थियो।
विस्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए। राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको जीप विस्फोटमा क्षतिग्रस्त बनेको थियो। विस्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाइरिङ समेत गरेका थिए।
यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो। उनीसहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायतविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको अदालतले जनाएको छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति भोजपुर ल्याइएको थियो।