डराउँदै पानी पिउँछन् होलियावासी

डराउँदै पानी पिउँछन् होलियावासी

होलिया, बाँके : ‘नल्का (हेण्डपम्प) को पानी सफा हुन्छ । बाल्टीमा राखेको पानी एक घण्टा नबित्दै दूधमा तर लागे जस्तो हुन्छ’, डुडुवा गाउँपालिका–१ खडैंचाका ९० वर्षीय खेलावन बाहुनले आपूmले पिउने पानीबारे अनुभव सुनाए, ‘त्यस्तो पानीले धुँदा लुगा पनि पहेंलो हुन्छ ।’ २०६५ सालमा युनिसेफको सहयोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेले घर–घरमा आर्सेनिक परीक्षण गरेको थियो । परीक्षणमा साबिक नेपालगन्ज नगरपालिकाका १२ र ५, राधापुर गाविसका ८ र ९ वडा, होलिया र बासुदेवपुरमा आर्सेनिक भेटिएको थियो ।

जिल्लामा सबैभन्दा बढी आर्सेनिकको जोखिममा होलिया गाउँ परेको थियो । १० वर्ष यता होलिया क्षेत्रमा न आर्सेनिक परीक्षण भएको छ न पानी शुद्धिकरण विधी नै अपनाइएको छ । वर्षायाममा राहत वितरण गर्ने टोलीले पानी शुद्धिकरणका लागि वाटर गार्ड दिए पनि स्थानीय डराउँदै ‘मन्द विष’ मानिने आर्सेनिक रसायनयुक्त पानी पिउन बाध्य छन् ।

खेलावन भन्छन्, ‘यस्तो पानी खानु हुन्न भनेर अर्ति लाउने धेरै हुन्छन् तर नल्काको पानी के भएको हो कोही भन्दैनन् । जोखिम हुन्छ भन्ने डर भए पनि खान बाध्य छौं ।’ उनका छिमेकी भगवान दिन मौर्य (५२) पनि आर्सेनिकको खतरा छ भनेर पत्ता लगाउने सरकारले पानीको विकल्प दिन नसकेकोमा दिक्क छन् । ‘हेर्दा राम्रो पानी आउँछ, खान्छौं । भाँडामा राख्दा हेर्दा हेर्दै पानी मैलो देखिन्छ के भएको हो ? कसैले भन्दैनन्’, उनले गुनासो गरे ।

राप्ती नदीको छेवैमा रहेको यो गाउँमा हेण्डपम्प गाड्दा कम्तीमा १५ फिटमै पानी आउँछ । कम गहिराइमै पानी आउँदा कम पाइप प्रयोग हुने र खर्च पनि कम हुने भएकाले स्थानीय गहिराइसम्म हेण्डपम्प गाड्दैनन् । यहाँका हेण्डपम्प १५ फिटदेखि मुस्किलले ५० फिट गहिराइमा गाडिएका छन् । यस्तो पानीमा आइरन र आर्सेनिकको सम्भावना रहने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

वर्षायाममा एक दिन राहत लिएर जानेले पानी कसरी शुद्ध बनाउने भनेर सिकाउँछन् । केही दिनलाई मात्र पुग्ने वाटरगार्ड दिन्छन् । ‘नल्काको पानी असुरक्षित छ । स्वास्थ्यका लागि हानिकारक छ भनेर सित्तैमा वाटरगार्ड पाउँदा हालेर खान्छन् । सकिएपछि किनेर चाहीँ हाल्दैनन्’, स्थानीय युवा प्रेमलाल मौर्यले गाउँको यर्थाथता बताए ।

होलियामा २५ वटा हेण्डपम्पको नमूनामध्ये सात वटामा आर्सेनिक भेटिएको थियो । यहाँको पानीमा अझै धेरै आर्सेनिक भएको आशंका गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका प्रमुख राजकुमार चौधरीले होलियामा तत्कालीन आर्सेनिक परीक्षणको रिपोर्टबारे प्रष्ट पार्दै भने, ‘५० पीपीबीभन्दा बढी आर्सेनिक रसायन भएको पानी मात्र पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । नमूनामा होलियामा ७० पीपीबीसम्म भेटिएको छ ।’

रिपोर्ट त आयो तर क–कसको हेण्डपम्पमा आर्सेनिक पाइयो भन्ने खानेपानी कार्यालयसँग तथ्यांक छैन । न त स्थानीयलाई हेण्डपम्पको पानी खान योग्य छैन भनिएको छ । शुरुमा सफा देखिने पानी केही समयमै फोहर हुँदा स्थानीयमा अनुमानका आधारमा आर्सेनिक हो कि भन्ने डर छ । तर प्रमुख चौधरी लुगा फोहर हुने वा पानी धमिलो हुँदैमा आर्सेनिक हो भनेर नडराउन आग्रह गर्छन् । ‘आइरन बढी भएको पानीले लुगा धुँदा पहेंलो हुन्छ । अरु कारण पनि हुनसक्छन् । यही कारण डराउनु पर्दैन’, उनले प्रस्ट्याए ।

कार्यालयका अनुसार जिल्लामा ८ प्रतिशत वासिन्दा स्वच्छ र शुद्ध खानेपानीबाट बञ्चित छन् । जिल्लाका ९३ हजार चार सय दुई घरधुरीमध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहँुच छैन । स्वच्छ खानेपानी पिउनेमध्ये ८० प्रतिशतले हेण्डपम्पको र २० प्रतिशतमा मात्र पाइपलाइनको पानी पुगेको छ । नमूना परीक्षणमा भेटिएको आर्सेनिकले जिल्लाका अन्य भेगका हेण्डपम्पको पानीमा पनि आर्सेनिक हुनसक्ने कार्यालयको आशंका छ ।

आर्सेनिकयुक्त पानी लामो समय खाँदा छालामा रोग देखिन सक्छ । यस्तो पानीले छाला, कलेजोको सिरोसिस, मुटु (उच्च रक्तचाप) र श्वासप्रश्वाससम्बन्धी रोगको सम्भावना रहने भेरी अञ्चल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्रि चापागाईले बताए । ‘आर्सेनिकयुक्त पानी खाँदा शरीरको जुनसुकै अंगलाई हानी पुग्न सक्छ’, डा. चापागाई भन्छन्, ‘शुरुमा छाला कालो हुन्छ । हत्केला र पैतलामा खस्रोदाना आउँछ । नङ ट्ट्ने, सेतो हुने समस्या आउँछ । अन्तिममा क्यान्सर पनि हुन सक्छ ।’

०००

डुडुवा गाउँपालिका–१ खडैंचामा फोहर पानीको ताल बनेको हेण्डपम्पको पानी पिउँदै साना बालबालिका । शंकरप्रसाद खनाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.