मन्त्रीको अनुगमन आैपचारिकतामै सीमित

मन्त्रीको अनुगमन आैपचारिकतामै सीमित

बिर्तामोड : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बुधबार बिहान झापाको बिर्तामोड र अर्जुनधारा क्षेत्रमा सञ्चालित खानेपानी उद्योगको अनुगमनका लागि बिर्तामोड ओर्लिए ।

यसक्षेत्रमा सञ्चालित करिब आधा दर्जन खानेपानी उद्योगले मापदण्ड पूरा गरेर सञ्चालन गरेका छन् या छैनन्, कर्मचारी व्यवस्थापन र उद्योगको सञ्चालनदेखि उत्पादित पानीको गुणस्तरीयता छापामार शैलीमै अनुगमन गर्ने उनको लक्ष्य थियो ।

तर मन्त्री आउने र अनुगमन हुने प्रचार भने अघिल्लो दिनबाटै भएकाले अनुगमन औपचारिकतामा सीमित बन्यो । अनुगमनमा पुग्ने उद्योगका उद्योगीले मन्त्री आउने सुइको पाएपछि आवश्यक सबै कागजपत्र तयारी गरेका थिए भने उद्योगलाई पनि सफा बनाएर राखेका थिए । बुधबार घरेलु तथा साना उद्योग र नगरपालिकाका कर्मचारीले मन्त्रीले अनुगमन गर्ने खानेपानी उत्पादक उद्योगको नामावली तयार पारेका थिए र सोही नामावली हेर्दै मन्त्री पनि कर्मचारीको पछि लागे ।

सुरुमा बिर्तामोडमा रहेको तृष्णा प्रशोधित पिउने पानीको उद्योगमा पुग्दा सामान्य फोहोर र मेसिन राखिएको स्थान पाटेसन नगरिएको बाहेक सबै ठिकै थियो । कर्मचारी र सञ्चालक पनि मन्त्री कुरेरै बसेजस्तो देखिन्थे । कर्मचारीले देखाएबमोजिम मन्त्रीले पनि कागजपत्र हेरेर नमुना लिन अनुगमनमा पुगेका कर्मचारीलाई निर्देशन दिई अर्को उद्योगतर्फ लागे । मन्त्रीको अनुगमन हुने भन्ने पहिल्यै सूचना पाएका उद्योगीले सबै तन्दुरुस्त राखेका थिए । मन्त्री घिमिरेले सामान्य व्यवस्थापन र सरसफाइमा ध्यान दिन उद्योगीलाई निर्देशन दिएको र उत्पादित पानीको नमुना परीक्षणपछि उत्पादित पानीको विषयमा सञ्चारकर्मीलाई जानकारी दिने बताए ।

तृष्णाको अनुगमनपछि नजिकै रहेको लाइफलाइन पिउने पानीमा पुग्दा पनि उद्योगी र कर्मचारीलाई मन्त्री आउने पहिल्यै जानकारी भएको थाहा थियो । उनीहरूले प्रत्येक कोठा पानीले सफा गरेर पुछ्नसमेत भ्याएका थिए । सोही स्थानमा काम गर्ने एक कर्मचारीले बिहानैदेखि उद्योगको सफाइ गरेर काम सुरु गरेको बताए । ‘सधैं यस्तो हुँदैन थियो आज के रहेछ भनेको त मन्त्री आउने कार्यक्रम पो रहेछ ।’ उनले भने ।

अनुगमन गरिएका सबै उद्योग प्रायः चिटिक्क पारेर राखिएको थियो भने कर्मचारी पनि अनुशासित रूपमा उद्योगमा लगाउने कपडा लगाएर काम गरिरहेका भेटिए । मन्त्रीले उद्योगीलाई सफा गर्न र मानव स्वास्थ्यमा महŒवपूर्ण रहेको पानीको शुद्धतामा ख्याल गर्न निर्देशन दिए र आफूसँगै गएका कर्मचारीलाई पानीको नमुना बोक्न आग्रह गरेर फर्किए । मानव स्वास्थ्यलाई हानि पु‍¥याउने ‘कोलिफर्म’ भएको पानी बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएपछि अनुगमनमा निस्किएका मन्त्री आउने सूचना उद्योगमा पहिल्यै पुगेकाले मन्त्रीले व्यवस्थापन र नमुना संकलन गर्नेबाहेक खासै ठूलो उपलब्धि भेटेनन् । मन्त्री घिमिरेले अनुगमनपछि सञ्चारकर्मीमाझ हाल उद्योग सञ्चालनदेखि व्यवस्थापनका सबै विषयको अवलोकन र अनुगमन गरिएको साथै पानीको विषयमा नमुना परीक्षणपछि मात्र बोल्न मिल्ने बताए । उनले व्यवस्थापन र सरसफाइमा ठूलो समस्या नपाएको बताए ।

‘झापामा हुने प्रायः अनुगमनको पहिल्यै व्यापारी र उद्योगीले सुइको पाउछन्, अनि कहाँबाट गलत कुरा फेला पर्नु ? ’ तृष्णा खानेपानी उद्योग नजिकैका स्थानीय यदुनाथ खरेलले भने । अनुगमन हल्ला गरेर गरेको कारण उद्योगको व्यवस्थापन र फोहोरको कुरा मन्त्रीले प्रत्यक्ष देख्न नपाएको स्थानीयको आरोप छ । ‘यस अघिसम्म झापाका खानेपानी उद्योगको अनुगमन न त नगरपालिकाले नै गरेको थियो न त घरेलुले नै, अहिले मन्त्री आउने भएपछि कर्मचारी उद्योगको नाम लिएर उद्योग खोज्दै हिँडे ।’ अर्जुनधारा नगरपालिकाका स्थानीय हरिशंखर घिमिरेले बताए । अनुगमनमा उद्योग देखाउँदै हिँड्ने बिर्तामोड नगरपालिकाका कर्मचारी र घरेलुका कर्मचारीले उद्योग नभेट्दा स्थानीयलाई सोध्दै हिँडेका थिए ।

तृष्णा र लाइफलाइन प्रशोधित पानीको अनुगमन गरी गोर्खा पानी उद्योग खोज्दै पश्चिम बसपार्क पुगेका मन्त्रीसहितको कर्मचारी र प्रहरी टोली उद्योग भएको स्थान नभेटेर अर्को उद्योगतर्फ लागेको थियो । बुधबार अनुगमन गरिएका उद्योगबाट संकलन गरिएको नमुना क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर लगिने र रिपोर्ट आएपछि सोहीअनुरूप उद्योगलाई कारवाही गर्ने या नगर्ने निर्णय गरिने अनुगमनमा खटिएका मन्त्री घिमिरेले बताए ।

०००

उद्योगको अनुगमन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे । रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.