नापीको नक्सामै लिम्पियाधुरा गायब
काठमाडौं : कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ ।
भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्।
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको पुष्टि गरे । यो उनले विभागको नेतृत्व गर्नुभन्दा पहिल्यैको घटना हो । ‘नक्सा बनाउँदा तत्कालीन दरबार र शाही नेपाली सेनाको तत्कालीन जंगी अड्डाले लिम्पियाधुरा नराख्न आदेश दिएका थिए’, उनले भने, ‘त्यही कारण विभागको कित्ता नापी कालापानी र लिपुलेकभन्दा पर गएन ।’
लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ ।
नापी एवं सीमाविज्ञ श्रेष्ठले लिपुलेक छुट्दा ३ सय १० वर्गकिलोमिटर जमिन गुमाउनु परेको बताए । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ । तर लिम्पियाधुरा भने जानी–जानी छुटाइएको छ,’ उनले भने, ‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो ।’ उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पनि लिपुलेकलाई नै आधार मानेर नक्सा बनाइएको स्वीकार गरे । ‘प्रमाणका आधारमा लिपुलेकलाई नै आधार बनाएर नक्सा बनाइएको छ । लिम्पियाधुरा हाम्रो दाबी हो । हाम्रा पुराना नक्सामा पनि लिपुलेकलाई सीमा मानिएको छ’, उनले भने, ‘२०१७÷१८ सालदेखि यही नक्सा प्रयोग भइरहेको छ ।’
त्यसअघिको नक्सा किन खुम्च्याइयो भन्नेबारे भने उनले प्रस्ट्याएनन् । कालापानी नै हटाएको नक्सा जताजतै प्रयोग भएको सम्बन्धमा विभागले पटक–पटक ध्यानाकर्षण गराएको उनले सुनाए । ‘हामीले नक्सा गलत भएको कुरा बाहिर ल्यायौं । तर, अहिले हामीमाथि नै प्रहार भइरहेको छ’, उनले भने ।
सीमासम्बन्धी अध्येता रतन भण्डारीले कालापानी चासो राख्ने विभागकै नक्सामा लिम्पियाधुरा नहुनु दुःखद भएको बताए । सरकार र नापी विभागकै कारण यस्तो त्रुटि भएको उनको भनाइ छ । ‘नापी विभागकै नक्सामा लिम्पियाधुरा नहुनु राष्ट्रियताप्रतिकै गम्भीर षडयन्त्र हो’, उनले भने । उनका अनुसार, सुगौलीसन्धि अघि र पछि तत्कालीन इष्ट इण्डिया कम्पनी र सर्भे अफ इण्डियाले प्रकाशित गरेका नक्सामा महाकालीको उदगमस्थल प्रस्ट रूपमा लिम्पियाधुरा उल्लेख छ । सन्धिअनुसार लिम्पियाधुरा उद्गमस्थल कालीपूर्वका कुटी, नाभी, गुञ्जी, तिंकर र छांगरुलगायत गाउँ नेपालका भएको उनले बताए ।
‘सन् १८५६ पछि इष्ट इण्डिया कम्पनीले नक्सामार्फत महाकालीको शिरमाथि अतिक्रमण सुरु ग¥यो’, उनले थपे, ‘लिम्पियाधुरा उद्गमस्थल काली नदीको ठाउँमा लिपुलेकबाट आउने लिपु खोलालाई काली भन्न थालियो । लिम्पियाधुरा लिपुलेकबाट ३० किलोमिटर पश्चिम छ ।’
नापी विभागद्वारा प्रकाशित नक्सामा महाकालीको उद्गमस्थल लिम्पियाधुरा नदेखाई च्याङ्ला भञ्ज्याङ र लिपुलेकलाई देखाइएको उनको भनाइ छ । भण्डारीले विभागले हालसम्म तीनपटक प्रकाशित गरेको नक्सा नै गलत रहेको दाबी गरे । ‘सन् १९७५, १९७९ र १९९३ मा नापी विभागले नक्सा प्रकाशित गरेको थियो’, उनले भने, ‘पटकैपिच्छे गलत छ ।’ भारतले कालापानीमा सानो पोखरी बनाएर त्यसैलाई महाकाली उद्गमस्थल भन्दै प्रचार गरेको उनको भनाइ छ । गलत नक्सा वितरण गरेको भन्दै सरकार र नापी विभागविरुद्ध मुद्दा हाल्ने आफ्नो तयारी रहेको उनले बताए ।
'दरबारको आग्रहमा छोडियो'
बुद्धिनारायण श्रेष्ठ, पूर्वमहानिर्देशक, नापी विभाग
कति सालबाट लिम्पियाधुरा नेपाली नक्साबाट हटेको हो ?
नापी विभागबाट २०३६ सालमा भएको पहिलो नापीमा लिम्पियाधुरा छुटेको छ । नक्सामा कालापानी र लिपुलेक नेपालतिरै छ ।
त्यसबेला नापी विभागका प्रमुख को हुनुहुन्थ्यो ?
महानिर्देशक अर्जुनबहादुर बस्नेत हुनुहुन्थ्यो । म योजना तथा प्राविधिक शाखाको प्रमुख थिएँ । बस्नेतपछि विभागको महानिर्देशक म नै हुँ ।
लिम्पियाधुराबारे दरबार र सेनासँग किन राय लिनुपर्ने अवस्था आयो ?
त्यसबेला हरेक संवेदनशील विषयमा फाइल मन्त्रालय, मन्त्री हुँदै दरबार पठाउनु पर्थ्यो । दरबारले नै अन्तिम सदर गर्थ्यो । उसले नापीका फाइलमा टिप्पणी गरेर सेना लगायतको राय पनि लिन्थ्यो । भारतलाई धेरै चिड्याउनु हुन्न भनेर दरबारले त्यस्तो गरेको मेरो अनुमान छ ।
तपाईलाई यसबारे कसरी थाहा भयो ?
म विभागको योजना तथा प्राविधिक शाखाको प्रमुख थिएँ । मलाई थाहा नहुने कुरै भएन ।
यसबारे तपाईंले आवाज उठाउनुभएन ?
मेरो कार्यभारमा त्यसबेला यो परेन । मेरो पालामा तराईको मात्र नापी भयो । पहाडको नभएकाले मैले यस विषयमा आफ्नो कार्यकालमा काम गर्न नै पाइनँ ।
काली नदीदेखि कता पर्छ लिम्पियाधुरा ?
काली अर्थात् महाकाली नदीको उदगम स्थल लिम्पियाधुरा हो । सुगौली सन्धी ताकाको नक्सामा महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भएको स्पष्टसँग उल्लेख छ । पुराना नक्सा र अभिलेखमा काली नदीको उद्मस्थल लिम्पियाधुरा भएकामा दुईमत छैन । पुराना सबै प्रमाणका आधारमा लिम्पिधुरासम्मको भूभाग नेपालको नै हो ।
यो समस्याको समाधान के हुनसक्छ ?
यो प्राविधिक तहबाट समाधान हुने विषय होइन । दुवै देशका पुराना नक्सा र दस्तावेज राखेर कुटनीतिक र राजनीति तहबाट समाधान गर्नुपर्छ । राज्यलाई दबाब उत्पन्न नभएसम्म सुनुवाई हुदैन । जनदबाब र विज्ञ दबाब आवश्यक छ । समस्या चर्काउनुभन्दा समाधान गर्नुपर्छ । नेपालको सार्वोभौमिकता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा आँच नआउने गरी यसको समाधान गरिनुपर्छ ।
२०३० सालमा गृह मन्त्रालयका अधिकारी पुरुषोत्तम रेग्मी संयोजकत्वको समितिले गरेको स्थलगत प्रतिवेदनमा लिम्पियाधुरा नेपालको सीमा भएको उल्लेख छ । त्यस्तै २०३८ सालको दार्चुलाका प्रमुख जिल्ला अधिकारी द्वारीकानाथ ढुङ्गेल र २०४५ सालमा प्रजिअ डिल्लीराज जोशीको प्रतिवेदनमा पनि लिम्पियाधुरा नेपालमै रहेको प्रतिवेदन पेस गरिएको थियो ।