सूचना सिद्धान्त र ज्ञानको क्रान्ति

सूचना सिद्धान्त र ज्ञानको क्रान्ति

महान् गणितज्ञ डेभिट हिल्बर्टको समाधीको ढुंगामा कुँदिएको छ। ‘हामीले जान्नैपर्छ, हामी जान्ने छौं।’ बीसौं शताब्दीको पूर्वाद्र्धमा हिल्बर्टले तेइसवटा चुनौतीपूर्ण वैज्ञानिक समस्या प्रकाशमा ल्याएका थिए। वैज्ञानिक जगत्मा हालसम्म ती समस्या चर्चित छन्। यद्यपि तीमध्ये धेरैको समाधान भइसकेको छ। हिल्बर्टको समयमा पश्चिमी जगत्मा अन्धविश्वास व्यापक रूपमा कायम थियो। प्रकृतिका कतिपय मुद्दामा हामीलाई जानकारी हुँदै हुँदैन भन्ने मान्त्यता सर्वस्वीकार्य थियो। एक वैज्ञानिकले भनेको ल्याटिन भाषाको सूक्ति ‘इग्नोरेमस एट इग्नोरेबिमस (हामीलाई थाहा छैन र हामीलाई थाहा हुने छैन)’ त्यसबेला प्रसिद्ध थियो। त्यसको प्रतिवादमा हिल्बर्टले भनेको ‘प्रयास गरे हरेक प्रश्नको जवाफ सम्भव छ, समस्या समाधान गर्न सकिँदैन भनेर हामीले आफ्नो क्षमतालाई सीमित गर्नु हुँदैन’ अहिलेसम्म वैज्ञानिक जगत्मा प्रेरणाको स्रोत बनेको छ। यहाँ चर्चा गर्न खोजिएको एक वैज्ञानिक क्रान्तिको हो।

२००७ सालको क्रान्तिदेखि माओवादीको हिंसात्मक क्रान्ति सम्पन्न हुँदा पनि नेपालमा क्रान्तिको क्रमभंगता भएको छैन। क्रान्तिलाई फरक किसिमले कहिले हेर्ने ? श्रमिकका समस्या, सर्वहारा वर्गको सर्वोच्चता, पुँजीपतिको आलोचना, वर्गसंघर्ष आदि पहिलो औद्योगिक क्रान्तिका समयका नारामै हामी केन्द्रित छौं, जबकि हाम्रै पुस्ता तेस्रो औद्योगिक क्रान्ति मानिने डिजिटल क्रान्तिको साक्षी छ। सञ्चारका लागि रेडियो, टेलिग्राम वा पत्राचारमा पूर्णरूपले भर परेको पुस्ता जीवितै छ। तस्बिर पत्रबाट मात्र पठाउन सकिने पुस्ताका नागरिक अहिले सात समुद्रपारबाट समेत क्षणभरमै समाचार, सूचना, तस्बिर वा प्रत्यक्ष भिडियोमार्फत सम्पर्क गर्न सक्छन्। यो डिजिटल क्रान्तिको जग नेपालको २००७ सालको क्रान्तिको समयमा स्थापित भएको हो। डिजिटल क्रान्ति हुनुपूर्व टेलिग्राफ, रेडियो, फोन आदिको प्रसारण फरक–फरक प्रविधिद्वारा हुने गरेको थियो। तिनको कार्य क्षमता कमजोर थियो र ती महँगा थिए। सूचनालाई अंकको संकेतावालीले प्रसारण गर्न सकिने एकीकृत सैद्धान्तिक आधार तयार भएपछि सञ्चार प्रणाली एकीकृत, सरल र सुलभ भयो। नेपालमा विश्वविद्यालय खुल्नुभन्दा ११ वर्षअघि (सन् १९४८ मा) यसको सैद्धान्तिक आधार तयार भएको थियो, यद्यपि यसका प्रमुख उपयोगीताको विकास ८० को दशकपछि भयो। कतिपय गरिब मुलुक यो क्रान्तिमार्फत उन्नत भएको तथ्य छ।

सञ्चार पद्धतिमा सूचना भनेको हरफहरूको शाब्दिक अर्थ होइन। यो अक्षर, तस्बिर, ध्वनि आदिलाई मात्रीकरण गर्दा प्रयोग गरिने अंकहरूको संकेतावली हो। त्यसैले अक्षर, तस्बिर, ध्वनि वा भिडियो सबै सूचना हुन्। सन् १९४८ मा एक गणितज्ञ क्लाउड श्याननको अनुसन्धानात्मक कृति ‘ए म्याथम्याटिकल थ्योरी अफ कम्युनिकेसन’ (सञ्चारको एउटा गणितीय सिद्धान्त ) प्रकाशित भयो। सन् १९४९ मा अर्का सहकर्मीसँग मिलेर उनले ‘द म्याथम्याटिकल थ्योरी अफ कम्युनिकेसन’ प्रकाशित गरेपछि त्यो एक बृहत् अध्ययनको विषय बन्यो। यसले सूचनालाई अंकहरूको संकेतावालीको रूपमा भण्डारण र प्रसारण गर्न सकिने सैद्धान्तिक आधार तयार पारेपश्चात् सूचना प्रविधिले गति लियो र त्यसैका आधारमा कालान्तरमा इन्टरनेटको जन्म भयो। त्यही सिद्धान्तका कारणले श्याननलाई वैज्ञानिक जगत्मा सञ्चार सिद्धान्तका पिता भनिन्छ। गुगल, क्वारक्लम, एप्पल जस्ता बृहत् कम्पनीको जननी त्यही अनुसन्धानात्मक ग्रन्थ हो। डिजिटल फोन, फेसबुक, विश्वव्यापीकरण समेत आदि त्यसकै नतिजा हुन्। त्यस्तो के गरे श्याननले ?

श्याननले सूचनालाई शून्य र एक गरी जम्मा दुई अंकको उपयोगले मात्रीकरण गर्ने विधिको प्रतिपादन गरेपश्चात् सूचनाको भण्डारण गर्ने एकाइलाई बाइनरी डिजिटको समासीकृत रूप ‘बिट’ नामकरण गरियो। आठ बिट्सलाई एक बाइट भनियो। हजार बाइटलाई एक किलोबाइट, हजार किलो बाइटलाई एक मेगाबाइट, हजार मेगाबाइटलाई एक जिगाबाइट र हजार जिगाबाइटलाई एक टेराबाइट भनियो। सामान्य कम्प्युटरको क्षमताले नभ्याएर अहिले सूचनाको भण्डारणका लागि क्लाउडको प्रयोग गरिएको छ। अहिले हामी जिगा, एक्जा र पेटाबाइटको युगमा छौं। यसको अपर्याप्तता वैज्ञानिकले महसुस गरिसकेका छन्। ९० को दशकको ४० मेगाबाइटको कम्प्युटरदेखि अहिलेको टेराबाइटको कम्प्युटरसम्म उन्नतिका हिसाबले दस लाख गुणा वृद्धि भइसकेको छ।

सूचना प्राप्त हुनुअघि र यो प्राप्त भएपछिको आश्चर्यता मापन गर्न श्याननले एक सामान्य गणितीय समीकरणमार्फत सूचनाको इन्ट्रोपी परिभाषित गरे। सूचना प्रविधिमा प्रयोग गरिने इन्ट्रोपीले सूचनाको अनिश्चितताको मापन गर्छ। यसरी सूचनालाई कम्प्युटरले मात्रीकरण गरेर अंकको रूपमा भण्डारण गर्छ। अहिलेको सञ्चारमाध्यम इन्टरनेटले ती अंकको प्रसारण गर्छ। इन्ट्रोपीको प्रयोगले गरिएको संकेतीकरणले सूचनाको प्रसारण सहज भएको हो। ठूलो मात्राको सूचना प्रसारण गर्न तीव्र गति भएको इन्टरनेट र विशाल क्षमता भएको च्यानल क्षमता (ब्यान्डविड्थ) को आवश्यकता पर्छ। सूचनाको प्रसारण गर्ने प्रत्येक च्यानलको एक निश्चित सीमा हुने तथ्य पनि श्याननले त्यही ग्रन्थमा प्रकाशित गरेका थिए, जसलाई श्याननको सीमा (श्यानन्स लिमिट) भनिन्छ।

अबका युवा स्नातकले संसारमा भइरहेका वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको विषयमा जान्नैपर्छ।

ठूलो मात्रामा सूचनाको प्रसारण गर्न श्यानन सीमा एक बाधाका रूपमा अहिलेसम्म रहेको छ। सूचना प्रसारणको गति वृद्धि गर्न प्रसारणको च्यानल क्षमता वृद्धि गरेर तदनुरूपका उपकरण निर्माण गर्नुपर्ने हुन्छ। सेलफोन प्रविधिमा प्रत्येक दस वर्षमा नयाँ पुस्ताको विकास भएको छ। नयाँ पुस्ताको फोनमा श्यानन सीमाको वृद्धि भएको हुन्छ। अहिले हामी यस्तो प्रविधिको चौथो पुस्ता (फोरजी) मा छौं। एक जिगाबिट्स प्रतिसेकेन्ड अधिकतम क्षमता भएको अहिलेको प्रचलित फोरजी प्रविधिलाई सन् २०२० सम्ममा अधिकतम क्षमता करिब २० जिगाबिट्स प्रतिसेकेन्ड हुने फाइभजीले विस्थापन गर्दैछ। फाइभजीको आयु पनि करिब दस वर्षको हुने अनुमान गर्न सकिन्छ। आगामी दशकमा छैटौं पुस्ताको प्रविधिको विकासमा अनुसन्धान हुनेछ। यसमा युवा वैज्ञानिकको दरोकार पर्नेछ।

पहिलो औद्योगिक क्रान्ति हुँदा नेपालमा पृथ्वीनारायण शाहको काल थियो। दोस्रो औद्योगिक क्रान्ति हुँदा राणाशासन थियो। ती औद्योगिक क्रान्तिको समयमा नेपालमा एउटा विश्वविद्यालयसमेत थिएन। पहिलो औद्योगिक क्रान्तिले पश्चिमी जगत्लाई सम्पन्न बनायो। बेलायतले संसारमा राज गर्‍यो उनीहरूले औषधी, रासायानिक मलको विकास गरेर खाद्यान्नमा क्रान्ति गरे, उनीहरू समृद्ध भए। यसरी पहिलो र दोस्रो औद्योगिक क्रान्तिको लाभ लिन नसक्ने मुलुक गरिब रहे। सन् १८०० मा करिब २० करोड जनसंख्या भएका पश्चिमी मुलुकले पहिलो औद्योगिक क्रान्तिमार्फत करिब पचास वर्षमा आफ्नो औसत आयमा दोब्बर वृद्धि गरे। दुई अर्बभन्दा बढी जनसंख्या भएको चीन र भारतले दस वर्षमा त्यति नै प्रगति गरे। त्यसैले जहान नेम्बर्गले आफ्नो पुस्तक ‘प्रोग्रेस’ मा भूमण्डलीकरणलाई औद्योगिक क्रान्तिभन्दा पचास गुणा बढी शक्तिशाली भनेका छन्। जसरी चीन र भारतले उन्नति गरेका छन्, नेपालको उन्नतिको बाटो पनि त्यही हो।

डिजिटल क्रान्तिताका नेपालमा विश्वविद्यालय स्थापना भइसकेकाले थोरै मात्रामा भए पनि नेपालका युवा वैज्ञानिक अहिले गुगल, इन्टेल, क्‍‍वालकम, एप्पल, माइक्रोसफ्ट जस्ता बृहत् कम्पनीसँग आबद्ध भएका छन्। भूमण्डलीकरणको कारणले संसारका प्रतिष्ठित अनुसन्धान संस्थामा नेपालीको उपस्थिति छ। ती नागरिक घृणाका पात्र होइनन्, ती सम्मानका हकदार हुन्, प्रेरणाका स्रोत हुन्। कसैले तिनलाई अपमानपूर्वक सम्बोधन गर्छ भने समृद्धिको बाधक त्यही मूर्ख हो।

विश्वव्यापीकरणको युगमा हुन गइरहेको चौथो औद्योगिक क्रान्तिको सँघारमा हामी पूर्ण लोकतान्त्रिक व्यवस्थामा छौं, हामीसँग विश्वविद्यालय छन्, हाम्रा योग्य नागरिक संसारभर सफल पेसाकर्मी भएर बसेका छन्, त्यसैले चौथो औद्योगिक क्रान्तिमा सहभागी हुने वा नहुने त्यो अब हाम्रो रोजाइको विषय हो। यो क्रान्तिले परिवर्तन गर्ने संसारको अवस्थाको मापन गरेर त्यसअनुरूपको नीति लिन नसक्ने देश थचारिने छन्। बिग डेटा, रोबोटिक्स, कृत्रिम बौद्धिकता, स्वचालित कारको क्रान्ति छिटै देखिनेछ। त्यसैले आजको मितिमा क्रान्ति भनेको केवल ज्ञान हो।

दुईवटा संविधानसभाको प्रयासबाट बनेको संविधानपश्चात् पनि अदालतले दोषी ठहर्‍याएको व्यक्तिलाई सरकारले ससम्मान रिहा गरेको छ। अदालतले रिहा गर्न भनेको व्यक्तिलाई सरकारले अदालतबाटै गिरफ्तार गरेको छ। यो तालमेल किन मिल्न सकेन ? सुरक्षा निकायको कामकारबाहीमा संवैधानिक निकायका अधिकारीले बाधा गरेको जात्रा पनि लोकतन्त्रमा देखियो। यात्रा गरिरहेका नागरिकलाई कुनै कारणबिनै रोकिएको छ। सरकार सञ्चालनमा देखिएका प्रत्येक समस्यामा ज्ञानको अपर्याप्तता स्पष्ट देखिन्छ। २०४८ सालदेखि अहिलेसम्म एकनासका गल्ती कमजोरी देखिएका छन्। आलोचना सुन्ने, कमी कमजोरीमा विचार बहस गर्ने र तिनलाई सुधार्ने ज्ञान राजनीतिमा देखिएको छैन। किन ?  किनकि सडकको क्रान्ति भयो, ज्ञानको क्रान्ति भएन।

पहिलो औद्योगिक क्रान्तिदेखि अहिलेसम्म विश्व सय गुणाभन्दा बढी धनी भएको तथ्यले प्रमाणित गरिदिएको छ। त्यसैले उन्नति शून्य योग (जिरो सम) खेल होइन। उद्यमीको लाभलाई श्रमिकको शोषणसँग जोड्ने मूर्खता गर्नु हुँदैन। पहिलो औद्योगिक क्रान्ति हुँदा उन्नतिलाई मानव श्रमसँग जोड्न सकिन्थ्यो, चौथो औद्योगिक क्रान्तिमा यो मानव मस्तिष्कसँग जोडिएको छ। सभा सम्मेलनका लागि विद्यालय बन्द गर्नेलाई क्रान्तिकारी नमानेर अब अपराधी मानिनुपर्छ। राज्यको सबभन्दा ठूलो लगानी उसको नागरिक हो। अब नागरिकलाई ज्ञान, प्रविधि र स्रोतसम्म पहुँच गराएर उनीहरूको क्षमतामार्फत समृद्धिमा जानु सिवाय अर्को बाटो छैन। हिल्बर्टको ‘हामीले जान्नैपर्छ, हामी जान्ने छौं’ भन्ने सूक्ति आज नेपालका विद्यार्थीमाझ सान्दर्भिक भएको छ। अबका युवा स्नातकले संसारमा भइरहेका वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको विषयमा जान्नैपर्छ र तिनले जान्नेछन् भन्ने नारा आज उपयुक्त हुन्छ। ज्ञानमा विश्वास नगर्ने मुर्खले समृद्धिको नारा नदिए हुन्छ। हाइलाइट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.