चेपाङका बा
चितवन : करिब डेढ सय बालबालिकाको जमघट। आवासगृह अनि छेउमा जोडिएको व्यवस्थित भान्छा घर। छेवैमा इ-लाइब्रेरी। माछा पोखरी, गोठ अनि तरकारी फार्म। रत्ननगर-११, मंगलपुरको ‘गामबेसी चेपाङ संरक्षण केन्द्र’ को दृश्य हो यो।
नवआगुन्तकलाई चेपाङ बालबालिकाले स्वागत गर्दै भन्छन् ‘नमस्ते’। गरिबीले पढ्न नपाएका सीमान्त चेपाङ बालबालिका हाँसीखुसी पढिरहेका छन्। उनीसँगै देखिन्छन् एकजना अधबैंसे, केपी किरण शर्मा, ४७। केपी किरणले चेपाङ बालबालिकाको ओठमा खुसी भरेका छन्, अक्षर सिकाउने बस्दोबस्ती गरेर।
चेपाङ बालबालिका पढाउन थालेको एक दशक बितिसक्यो। भन्छन्, ‘बालबालिकासँग रमाउँदारमाउँदै समय बितेको पत्तै पाइनँ।’ उनले खान, लाउन सबै व्यवस्था गरेका छन्। अब त उनलाई ७० नाघेका वृद्धले समेत ‘बा’ भन्न थालेका छन्। छात्रावासमा खेल्दै पढिरहेका बालबालिका घर जानै खोज्दैनन्। चेपाङ बालबालिकाको सहारा बनेका केपी बस्तीवरपर ‘गामबेसी बूढा’ भनेर चिनिन्छन्।
विदेशमा पाँच वर्ष
काठमाडौंको सरस्वती क्याम्पसबाट २०५४ मा स्नातक पास गरेका उनले केही समय पत्रकारिता गरे। पछि दुबईमा श्रम गरेर पाँच वर्ष बिताए। केही पैसा पनि कमाए। फर्किएपछि घुम्न भनेर चेपाङ बस्ती उक्लिए। नजिकबाट नियाले। गरिबीले थिचिएका बस्तीका बालबालिका गालामा सिँगानका टाटा बोकेर हिँडेको देखे। स्कुल जाने उमेरमा गोठालो बन्दै जंगलजंगल डुलिहिँडेको पाए। विद्यालय भए पनि पुग्नै घण्टौं लाग्ने। कुपोषण लागेजस्ता बालबालिका। भित्रभित्रै मन रोयो उनको। त्यसपछि उब्रिएको आधा जिन्दगी चेपाङ बस्तीका बालबालिकाका लागि सर्मपण गर्ने अठोट गरे।
चेपाङ गाँउकै विद्यालयमा पढाउँछिन् उनकी श्रीमती अम्बिका खनाल। एकपटक उनलाई भेट्न जाँदा कपडा पनि नलगाएका बूढा मान्छे देखे। त्यो दृश्यले उनको मन थप छोयो।
रत्ननगर १३, चितवनमा उनको घर हो। श्रीमतीलाई दुई छोरा जिम्मा लगाए। त्यसपछि उनी लागे चेपाङ बस्तीतिर। सुरुमा २५ जना बालबालिका लिएर आए। बिस्तारै बढ्दै गए बालबालिका। अब केपी किरणको दैनिकी बदलियो। विहान उठेदेखि बेलुकी नसुतेसम्म चेपाङ बालबालिकाका लागि खटिन थाले।
त्यही खटाइले करिब तीन सय चेपाङ बालबालिकाको भविष्य बदलिएको छ।
बोरा बोकेर गाउँगाउँ
०६५ सालमा उनले ‘गामबेसीको खबर’ पत्रिका प्रकाशन गरेर त्यसबाट खबरबाहिर ल्याए। पत्रिकाकै आम्दानीलाई उनले २५ बालबालिकालाई तीन वर्षसम्म छात्रवृत्ति दिए। त्यसबाट उपलब्धि नभएपछि तीनै बालबालिकालाई खोलेसिमलमा रहेको विन्देश्वरी आधारभूत विद्यालययको एउटा कोठा मागेर राखे। त्यसपछि बालबालिकाका लागि हरेक दिन बोरा बोकेर गाउँगाउँमा माग्दै हिँड्न थाले। सम्झन्छन्, ‘जहाँ जे पाइन्छ, त्यही संकलन गरियो।’
पहाडबाट चेपाङ बच्चालाई ल्याई मागेर खुवाउने भन्दै उनलाई मान्छेहरूले गिल्ला गरे, हाँसे। पटमूर्ख भने। तर उनी पछि हटेनन्।
उनको अभियान थाहा पाएपछि सिप्रदी ट्रेडिङले पाँच जना बालबालिकालाई खाने बस्ने र लत्ताकपडासहित स्नातकसम्म पढाउने खर्च जिम्मेवारी लियो। साथै पछि योग्यताअनुसारको रोजगार दिने बतायो। सिप्रदीले जिम्मा लिएपछि उनी अर्को अभियानमा लागे।
केपी किरणले दोस्रो अभियानका रूपमा चितवनको विकट काउले, कोराक र लोथरबाट फेरि २७ बालबालिका ल्याए। उनीहरू विद्यालय जान एकदेखि चार घण्टासम्म हिंड्नु पथ्र्यो। बाआमा नभएका अनाथदेखि अपांगता भएकासम्मलाई उनले आफ्नो अभियानमा समेटे। एउटा पुरानो घर भाडामा लिए र पढाउन थाले। दिनँहु गाउँगाउँमा मागेर खुवाउन थाले। हरेक दिन बोरा बोक्दै चामल, तरकारी माग्न गाउँ डुल्ने दैनिकी बन्यो। खाना जोहो गर्नै कठिन भयो। भन्छन्, ‘अभियानलाई मन पराएपछि केही दाता भेटिए। उहाँहरूले सहयोग गर्नु भयो।’ अहिले चेपाङ बालबालिका पढिरहेका छन्। उनी सन्तुष्ट छन्। भन्छन्, ‘व्यक्तिगत जीवनमै रमाएको भए यत्रो सन्तुष्टि कहाँ मिल्थ्यो र ? अहिले धेरै खुसी छु।’
सुरुवातमा उनलाई अभियान संचालन गर्न निकै कठिनाइ भयो। घरभाडा तिर्न नसकेपछि उनले पञ्चतेज आधारभूत विद्यालयले चर्चेको पञ्चकन्या सामुदायिक वनको खालि जग्गामा सानो टहरा बनाए। जग्गा त पाए तर पैसा साथमा थिएन। उधारोमै काम चलाए। पछि विदेशमा रहेका नेपालीले उनलाई साथ दिए। ९ कोठाको भवनमा छात्र र छात्रालाई अलगअलग राख्ने व्यवस्था मिलाएका छन्। खेल्ने स्थान बनाएका छन्।
उनको अभियान मन पराएर सहयोगी बढ्न थालेका छन्। उनी अझै चेपाङ गाँउगाउँ डुल्छन्। उनी जाँदा अभिभावकले आफ्ना बालबच्चालाई पढाइदिन आग्रह गर्छन्। अहिले छात्रावासमा १ सय ३२ बालबालिका छन्। नजिकैको पन्चतेज आधारभूत विद्यालय र जयमंगला माविमा पढ्छन्। अन्य विद्यार्थीसँगको तुलनामा चेपाङ बालबालिका धेरै कमजोर छैनन्। भन्छन्, ‘कतिपय बालबालिकाले राम्रो नम्बर ल्याएका छन्। कोही भरतपुरमा उच्च शिक्षा पढिरहेका छन्।’
अब पहिलाभन्दा सहज भएको उनी बताउँछन्। भन्छन्, ‘पहिलाको तुलनामा अहिले अलि सजिलो छ। दाताहरू भेटिएका छन्।’ कुनै समय आफूलाई मूर्ख भन्नेहरूलाई विद्यार्थीले ल्याएको नतिजाले उत्तर दिइरहेको उनको ठम्याइ छ।
चेपाङ जातिबाट एसएलसी पास गर्नेको संख्या मुस्किलले तीन सयको हाराहारीमा रहेको अनुमान छ। १२ कक्षा पास गरेका एक सय हाराहारीमा छन्। स्नातक तह उत्र्तीण गर्ने २० जना हुनुपर्छ। शर्माकै संरक्षणमा एक सय ५० जना बालबालिका १ कक्षादेखि १० कक्षासम्म आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्।
उनको सरंक्षण र समन्वयमा गरी ३ सय ८७ जनाले विभिन्न स्थानमा पढिरहेका छन्। अहिले एक जना सिभिल इञ्जिनियर, एक जना हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, तीन जनाले सीएमए, दुई जना पशु विज्ञान र एक जनाले उच्च मावि तहमा विज्ञान संकायमा पढिरहेका छन्। उनलाई आफ्नै बुवाझैं सबैजनाले व्यवहार गर्छन्। बालबालिकाहरू खुसी छन्। ‘स्कूल पढ्न धेरै घण्टा हिंडेर जानु पथ्र्यो’, हेमकुमार चेपाङ भन्छन्, ‘केपी बुवाले यहाँ ल्याएपछि हामीलाई केही समस्या छैन, ढुक्कसँग पढ्न पाएका छौं।’
सहयोगी दाता जुटाउन केपीका लागि सामाजिक सञ्जाल साथी बनेको छ। केही समस्या परे दाताहरू जुट्छन्। बेलाबेलामा चितवनकै सामाजिक संघसंस्थाहरूले खाद्यान्नसहित शैक्षिक सामाग्री सहयोग गर्ने गरेका छन्। सहयोग गर्दै आएका नारायणगढस्थित नारायणी मोटर्सका संचालक बालगोपाल चुके भन्छन्, ‘पिछडिएका गरिबलाई भविष्य देखाउन खोज्नु सामान्य कुरा होईन। सके जति सहयोग गर्ने गरेको छु।’
चेपाङ बालबालिकालाई आत्मनिर्भर बनाउन गाईपालन, अर्गानिक तरकारी खेती, माछापालन जस्ता काम पनि उनी सिकाइरहेका छन्। त्यस्तै चेपाङ जातिको अध्ययन अनुसन्धान गर्नेका लागि परिसरभित्र ‘चेपाङ संग्रहालय’ समेत स्थापना गरेका छन्। केपी किरणले दाताकै सहयोगमा ओढारमा बस्दै आएका तीन जना चेपाङ वृद्धको घर बनाएका छन्।
सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ एक हो। यो अति सीमान्तकृत समुदायमा पर्छ। चेपाङ वा प्रजा जातिको जनसंख्या ६८ हजार ३ सय ९९ छ। उनीहरू महाभारत पर्वत शृंखलामा बसोबास गर्छन्।
चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेग तिनको मुख्य बासस्थान हो। खोरिया फाँडेर लगाएको कोदो र मकैले सरदर तीन महिना मात्रै उनीहरूको जीवन चल्छ। त्यसपछि गिठा भ्याकुरको भरमा जीवन गुजार्छन्।
केपी किरण आजभोलि पनि प्राय चेपाङ बस्ती गइरहन्छन्। आङ ढाक्ने लुगा समेत नभएका बुढाबाहरूले बाटोमा हिँड्दै गरेका उनलाई ‘बा’ भनेर बोलाउँछन्। उनी खुसीले गदगद् हुँदै पुलुक्क हेर्छन्। अनि उनीसँगै बसेर घन्टौं गफिन्छन्।