न्यूनतम मापदण्डबिनै पेट्रोल पम्प सञ्चालनमा
बिर्तामोड : झापाको बिर्तामोडमा रहेका पेट्रोल पम्पमा तेल हाल्न रोकिएका सवारी साधनका यात्रु र यातायातका कर्मचारी दिशापिसाब गर्न नजिकै रहेका झाडी र अदुवा खोलातिर दौडन्छन् । त्यसरी जान असहज हुनेहरू चालकलाई अन्यत्र रोक्न लगाई शौच गर्छन् । बिर्तामोड क्षेत्रका कतिपय सार्वजनिक शौचालयमा समेत ताला लगाएकाले बिर्तामोड क्षेत्रका पम्पमा तेल हाल्न सवारी रोकिएका बेला यात्रुलाई आपत नै पर्छ ।
वषौंदेखि झापाको बिर्तामोड क्षेत्रमा सञ्चालनमा रहेका डिजेल र पेट्रोल पम्पहरूले पम्प सञ्चालनको निश्चित मापदण्डसमेत पालना गरेका छैनन् । बजार क्षेत्रमा रहेका पम्पहरू त झनै अस्तव्यस्त छन् । त्यस्ता पम्पहरूमा पार्किङस्थल र सवारी घुमाउन चाहिने पर्याप्त ठाउँ नै छैन । आगलागी भइहाले नियन्त्रणका लागि आवश्यक उपकरणहरूको व्यवस्था पनि गरिएको छैन ।
बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका १२ वटा पेट्रोल पम्पमध्ये नयाँ तीन वटाबाहेक सबैको अवस्था भद्रगोल छ । मध्य बजारको बीचैमा सानो ठाउँमा पम्प सञ्चालन गर्दा आगलागीको जोखिम पनि बढेर गएको छ ।
पेट्रोल पम्पबाट हुन सक्ने क्षतिबाट त्रसित स्थानीयले गुनासो गर्न थालेपछि नगरपालिकाले समेत अनुगमन गरी नगर क्षेत्रका पम्पको अवस्थाको विषयमा प्रतिवेदन तयार गरेको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । उनले बताएअनुसार नगरपालिकाले गरेको अनुगमनमा नगर क्षेत्रका सडक नै मिचेर केही पम्प ४० वर्षदेखि सञ्चालनमा रहेका, सार्वजनिक शौचालय, धारा र बाथरुमदेखि अत्यावश्यक वारुणयन्त्रको समेत व्यवस्था नभएको पाइएको छ ।
बिर्तामोड चोक निजिकै रहेका गणेश अटो मोबाइल्स, जय हनुमान ट्रेड, न्यू दुर्गा अटो मोबाइल्स, सुगम पेट्रोल पम्प र बोलबम आयल सप्लायर्स जोखिमपूर्ण अवस्थामा सञ्चालनमा रहेका नगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती पम्पका सार्वजनिक शौचालयमा ताला लगाएको, केहीको नदेख्ने भित्रको स्थानलाई सार्वजनिक शौचालय भनिएको र अधिकांश पम्प साँघुरो स्थानमा सञ्चालन गरी बारुणयन्त्रको समेत व्यवस्था नगरेको पाइएको प्रवक्ता पाण्डेले बताए । ‘सामान्यतः पम्पमा तेल हाल्न यात्रुबाहक वा अन्य सवारीसाधन रोक्दा यात्रुले सहजै देख्ने वा पुग्ने स्थानमा शौचालयको व्यवस्था हुनुपर्छ, त्यो अवस्था छैन’, उनले भने, ‘कुनै समय आगलागी भइहाले नियन्त्रणका लागि आवश्यक उपकरण सहजै भेट्ने स्थानमा व्यवस्थापनसमेत गरेको देखिँदैन ।’ उनका अनुसार पेट्रोल पम्पको असावधानीका कारण बजार नै आगलागीको जोखिममा रहेको देखिएको छ ।
नगरपालिकाका प्रवक्ता पाण्डेले तयार पारेको प्रतिवेदनमा बिर्तामोडस्थित अदुवा खोला नजिकै रहेको गणेश अटोमोबाइल्स साँघुरो ठाउँमा सञ्चालित छ, शौचालयसमेत भित्र सहज स्थानमा नरहेको उल्लेख गरिएको छ ।
यस्तै चारपानेमा रहेको आश्मा पेट्रोल पम्प, बिर्तामोड नगरपालिका–१ मा रहेको हनुमान पेट्रोल पम्प, बिर्तामोड चोकनजिकै रहेको जय हनुमान ट्रेडमा बारुणयन्त्र जथाभावी राख्नुका साथै सार्वजनिक शौचालयभित्र बनाइएको उल्लेख गरिएको छ । ती पम्प सडक क्षेत्रमै निर्माण गर्नुको साथै पम्पभित्र मापदण्डविपरीत अन्य पसलसमेत सञ्चालन गरको भेटिएको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताए ।
उनका अनुसार बिर्तामोडको न्यू दुर्गा प्रेटोल पम्पमा त झनै पम्पको शौचालय क्षेत्रमा खाने नुनको स्टोर गरेको भेटिएको थियो भने शौचालयमा चाबी लगाएको पाइएको छ । यस्तै बिर्तामोड–६ स्थित बुट्टाबारीमा रहेको नवीन पेट्रोल पम्पले निर्माण गरेको शौचालय पुग्नै दुई मिनेट लागेको नगरपालिकाले जानकारी दिएको छ ।
बिर्तामोडकै सुगम पेट्रोल पम्पमा पनि बाहिर सहज स्थानमा शौचालय नबनाई भित्र कलरको स्टोर रहेको स्थानमा भएकै शौचालयलाई प्रयोग गरिएको पाइएको छ । अनुगमनका क्रममा पुराना पम्पको अवस्था दयनीय भेटिए पनि नयाँ तथा भर्खरै खुलेका पेट्रोल पम्पले भने मापदण्डलाई पछ्याएका नगरपालिकाले अनुगमनका क्रममा भेटेको थियो ।
बिर्तामोड नगरपालिका–१ मा रहेको लक्ष्मी आयल सप्लायर्स नामक पम्पमा अपांगमैत्री शौचालय निर्माण गरेको पाइएको अनुगमन टोलीका संयोजक बिर्तामोड नगरपालिकाका प्रवक्ता पाण्डेले बताए । बिर्तामोड क्षेत्रका केहीबाहेक अधिकांश पम्पले नियम पालना नगरेकाले सुधार नगरे नियमबमोजिम नगरपालिकाले कारबाही प्रक्रिया सुरु गरेको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।