स्थिर विदेशी विनिमय दर

स्थिर विदेशी विनिमय दर

परोक्ष विधिअनुसार विदेशी विनिमय दर भन्नाले एक विदेशी मुद्रा (विमु) किन्नलाई तिर्नपर्ने कुल नेपाली रुपैयाँलाई जनाउँछ। प्रत्यक्ष विधि भनेको एक नेपाली रुपैयाँले आउने अन्य विमु जनाउँछ। नेपालमा परोक्ष विधिअनुसार विनिमय दर प्रकाशित हुने हुँदा हिजोको तुलनामा आज थोरै नेपाली रुपैयाँमा एक विमु किन्न सकिन्छ। नेपाली मुद्रा अधिमूल्यन भएको मानिन्छ भने त्यही विमु किन्न बढी रुपैयाँ तिर्न परेमा अवमूल्यन भएको मानिन्छ।

अन्तर्राष्ट्रिय वस्तु तथा सेवा व्यापार, श्रम, ब्याज, लाभांश र ट्रान्सफरबाट प्राप्त आम्दानी तथा ऋण र लगानी फिर्ताबाट प्राप्त हुने विमुलाई स्वदेशी मुद्रामा परिवर्तन गर्दा विनिमय दर अधिमूल्यन भएको अवस्थामा थोरै रुपैयाँ प्राप्त हुन्छ। सोही शीर्षकमा भुक्तानी दिनुपर्दा पनि थोरै रुपैयाँ तिर्दा हुन्छ भने अवमूल्यन हुँदा आम्दानी गर्नेलाई धेरै रकम प्राप्त हुनुका साथै भुक्तानी दिनुपर्दा पनि धेरै रुपैयाँ लाग्ने हुन्छ। त्यस्तै विदेशी सम्पत्ति सञ्चिती भएकालाई अवमूल्यन हुँदा नाफा र अधिमूल्यन हुँदा घाटा हुन्छ भने विदेशी दायित्व भुक्तान गर्नुपर्नेलाई अवमूल्यन हँदा घाटा र अवमूल्यन हुँदा नाफा हुन्छ। यिनै घटबढबाट हुने नाफा घाटाले अन्तर्राष्ट्रिय व्यापार तथा लगानीमा अनिश्चितताको वातावरण सिर्जना गरी अर्थतन्त्रको समग्र उत्पादनमा नकारात्मक असर पर्छ। तसर्थ विनिमय दरमा स्थायित्व अथवा अर्थतन्त्रअनुकूल राख्न राज्यले आफ्ना मौद्रिक, वित्तीय, पुँजी खाता परिवत्र्यता तथा संरचनात्मक परिवर्तन नीतिअन्तर्गतका विभिन्न उपकरणको निरन्तर प्रयोग गरिराखेका हुन्छन्।

नेपालको भारतसँग कुल वैदेशिक व्यापारमा वस्तु व्यापारको अंश ६७ प्रतिशत, सेवा व्यापारतर्फ पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका सेवा अन्य राष्ट्रको तुलनामा अत्यधिक छ। खुला सिमाना तथा प्रवेशाज्ञा नचाहिने हुँदा भारतीय श्रमिक नेपालमा र नेपाली श्रमिक भारतमा धेरै रहेकाले श्रम बजार लचिलो छ। पछिल्लो वैदेशिक लगानी सर्वेक्षणअनुसार कुल लगानीको २० प्रतिशत र औद्योगिक क्षेत्रको अंश मात्र हेर्ने हो भने ४० प्रतिशत भारतीय लगानी छ।

मुद्रास्फीतिलाई असर पार्ने तत्व उस्तै रहेको अवस्थामा भारतले मुद्रास्फीति नियन्त्रण तथा विनिमय दर स्थायित्व प्राप्त गर्न परिचालन गर्ने मौद्रिक तथा विदेशी विनिमय नीति र हामीले अवलम्बन गर्नुपर्ने उक्त नीति उस्तै रहन सक्ने अवस्थालाई ध्यानमा राखी भारतीय मुद्रासँग स्थिर विनिमय दर प्रणालीलाई कायम गरिएको हो।

भारुको अन्य मुद्रासँगको विनिमय दरका आधारमा नेपाली रुपैयाँको अन्य मुद्रासँगको विनिमय दर तोकिने र भारुसँगै परिवर्तन हुने अन्य मुद्रासँग भने परिवत्र्य विनिमय दर प्रणाली कायम हुन जान्छ। सानो अर्थतन्त्र, त्यसमा पनि सीमित देशसँग ठूलो हिस्सामा कारोबार रहँदा, उक्त देशमा हुने उतारचढावले नेपाली मुद्राको विनिमय दरमा ठूलो प्रभाव पर्छ।

भारतीय मुद्रासँगको स्थिर विनिमय दर प्रणालीलाई यदाकदा स्वाधीनतासँग जोडेर पनि बहस हुने गरेको पाइन्छ। अन्तर्राष्ट्रिय मुद्राकोषको २०१६ को प्रतिवेदनअनुसार विश्वका १३ प्रतिशत देश हार्ड पेग, ३९.६ प्रतिशत देश सफ्ट पेग, ३७ प्रतिशत देश परिवत्र्य प्रणाली र १०.४ प्रतिशत देश अन्य विनिमय प्रणालीमा रहेको देखाएको छ। नेपालले अवलम्बन गरेको प्रणाली सफ्ट पेगअन्तर्गत पर्छ। २०१३ सम्म चीन, थाइल्यान्ड, मलेसियाजस्ता ठूला अर्थतन्त्रले अमेरिकी डलरसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका थिए।

विनिमय दर प्रणाली परिवर्तन गर्दा बजारलाई आफ्नो मुद्राको मूल्य स्थिर रहने विश्वास दिलाउन सक्ने प्रशस्त आधार तयार गर्नु जरुरी हुन्छ।

अहिले चीन तथा मलेसियाले विभिन्न मुद्रा डालोसँग स्थिर रहने प्रणाली र थाइल्यान्डले परिवत्र्य प्रणाली अवलम्बन गरेको छ। अन्य देशको मुद्रा नागरिकले अत्यधिक रूपमा स्वदेशी रुपैयाँसरह चलनचल्तीका लागि प्रयोग गर्दा मुद्राको परिमाण कम आकलन भई खुकुलो मौद्रक नीति अवलम्बन गर्दा मुद्रास्फीति निम्तिन सक्ने र कसिलो मौद्रिक नीति अवलम्बन गर्दा उत्पादन घट्न सक्ने हुँदा समग्र मौद्रिक नीतिको प्रभावकारितामा नकारात्मक असर पर्न जान सक्छ। तसर्थ अन्य देशको मुद्रालाई स्वदेशी मुद्रासरह प्रयोग हुन दिनुलाई स्वाधीनताको विषय बनाउन सकिन्छ। तर स्थिर विनिमय दर प्रणाली परिवर्तन गर्नुपर्दा भने अर्थतन्त्रको कुल कल्याणको अवस्थामा कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयलाई महŒव दिन जरुरी हुन्छ।

परिवत्र्य विनिमय प्रणाली अवलम्बन गर्दा, विनिमय दरको निर्धारण माग तथा आपूर्तिले गर्छ। वस्तु, सेवा तथा श्रमको आयात/निर्यातको अवस्थाका साथै स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्याजदरबीचको भिन्नताले हुने वैदेशिक पुँजी प्रवाहले माग तथा आपूर्तिको अवस्था निर्धारण गर्छ। नेपालमा पुँजी खाता परिवत्र्य नरहेकाले ब्याजदरबाट हुने पुँजी कारोबार न्यून रहन्छ। हाल भारतसँग अत्यधिक व्यापार घाटा रहेकाले भारतीय मुद्राको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुनुपर्ने र अन्य मुद्रामा खर्चको तुलनामा आम्दानी बढिरहेको हुँदा अन्य मुद्राको तुलनामा अधिमूल्यन हुनुपर्ने देखिन्छ।

आजको विनिमय दर भारुसँग १.६०, डलरसँग ११२ र भारुको डलरसँग ७० रहेको छ। भारुसँगको दर १.७० राखियो र अन्य दर यथावत् रह्यो भने बजारले पहिला एक डलरलाई ७० भारु बनाउँछ, ७० भारुलाई नेपाली ११९ बनाउँछ। सट्टेबाजहरूबाट हुनसक्ने यस्ता व्यापारले गर्दा विदेशी विनिमय दरको निर्धारण सामान्य वस्तुको जस्तो छुट्टाछुट्टै नभई समग्र राष्ट्रको मुद्राको अन्तर्राष्ट्रिय विनिमय दर एकैपटक निर्धारण हुन्छ। तसर्थ अहिलेको स्थिर विनिमय दरबाट परिवत्र्य विनिमय दर अवलम्बन गरियो भने भारुसँग नेपाली मुद्रा अवमूल्यन हुन्छ भन्ने आम मान्यता सही नहुन सक्छ। अवमूल्यन भएको अवस्थामा भारुसँग मात्र नभई अन्य मुद्रासँग पनि अवमूल्यन हुने र अधिमूल्यन हुँदा पनि सोहीअनुसार हुन्छ।

नेपालमा स्थिर प्रणालीबाट परिवत्र्य प्रणाली अवलम्बन गर्दा विमुको अवस्था के हुन सक्छ र यसको प्रभाव कसलाई/कसरी पर्न सक्छ भन्ने आकलन देशको शोधनान्तर स्थिति तथा अन्तर्राष्ट्रिय लगानीको अवस्थाबाट गर्न सकिन्छ। नेपालको सन् २०००/०१ देखि २०१७/१८ सम्मको तथ्यांक हेर्दा समग्र सोधानान्तर स्थिति जम्मा तीनपटक मात्र घाटामा रहेको र चालू खाता जम्मा पाँचपटक मात्र घाटामा रहेको देखिन्छ। नेपालको २०७४/७५ को अन्तर्राष्ट्रिय लगानीको अवस्था हेर्दा कुल सम्पत्ति ११.३८ खर्व र कुल दावित्व ८.२० खर्ब रही ३.२८ खर्बको खुद सम्पत्ति रहेको अवस्था छ। यस तथ्यलाई हेर्दा नेपाली रुपैयाँ अधिमूल्यन हुनुपर्ने देखिन्छ। यसको विपरीत नेपाली मुद्रा अवमूल्यन भएको अवस्थामा दायित्वको तुलनामा सम्पत्ति सञ्चयकर्तालाई बढी फाइदा हुन्छ।

समग्रमा, नेपालको वर्तमान अवस्था हेर्दा विमु अधिमूल्यन अथवा अवमूल्यन भए पनि राज्यलाई वैदेशिक दायित्व भुक्तान गर्न समस्या छैन, यद्यपि नाफा गर्ने र घाटा बेहोर्ने पक्ष भने फरक छन्। सम्पत्तितर्फको ९० प्रतिशत सम्पत्ति राष्ट्र बैंकसँग छ र दायित्वतर्फ ६४ प्रतिशत सरकारको ऋण र २३ प्रतिशत प्रत्यक्ष लगानी छ। तसर्थ विमु घटबढ हुँदा सरकार अथवा विदेशी लगानीकर्ताको सम्पत्तिमा बढी प्रभाव पर्ने देखिन्छ भने निजी क्षेत्रलाई चालु कारोबारमा बढी प्रभाव पर्ने देखिन्छ।

यस वर्ष नेपालको चालू खाता घाटा १० अर्बबाट बढेर २४५ अर्ब रहेको र खुद सम्पत्ति ४.३ खर्बबाट घटेर ३.१८ खर्ब रहेको अवस्था हेर्दा नेपाली मुद्रा अवमूल्यन हुनसक्ने अनुमान बजारले गर्न सक्ने सम्भावना छ। यस्तो अवस्थामा विदेशी आम्दानी तथा सम्पत्ति हुनेले आजको सट्टा भोलि सटही गर्दा फाइदा हुने हुँदा आफ्नो आम्दानी विदेशमै होल्ड गर्छन्, आयात गर्दा आजभन्दा भोलि बढी रकम लाग्ने हुँदा आयतकर्ताले आजै धेरै सामान अर्डर गर्न थाल्छन् र लगानीकर्ता तथा ऋणीहरूले आजभन्दा भोलि सटही गर्दा कम विमु पाइने हुँदा अग्रिम सटही माग गर्छन्। यसका साथै लगानीकर्ताले नेपाली रुपैयाँ अवमूल्यन हुने अनुमान गर्दा विमुमा लगानीको प्रतिफल कम हुन जाँदा लगानी गर्ने सम्भावना घट्छ। यी सबै कारणले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहँदा पनि विदेशी मुद्राको मागमा अत्यधिक चाप पर्न गई स्वदेशी मुद्रा अवमूल्यन हुन जान्छ। त्यसैलै विनिमय दर प्रणाली परिवर्तन गर्दा बजारलाई आफ्नो मुद्राको मूल्य स्थिर रहने विश्वास दिलाउन सक्ने प्रशस्त आधार तयार गर्नु जरुरी हुन्छ।


—पौडेल नेपाल राष्ट्रबैंकका उपनिर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.