विद्यार्थी तान्न निःशुल्क पढाइ
दिङ्ला (भोजपुर) : दुर्गम भेगमै निःशुल्क उच्च शिक्षा अध्ययन गर्न पाएपछि जिल्लाको उत्तरी ग्रामीण क्षेत्रका विद्यार्थी जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ। षडानन्द नगरपालिका दिङ्लाबजारमा ८ वर्षदेखि सञ्चालित षडानन्द बहुमुखी क्याम्पसले निःशुल्क स्नातक तहको पढाइ सञ्चालनमा ल्याएको हो।
‘सित्तैमा पढ्न पाउँदा एकातिर खर्च जोगिएको छ भने अर्कोतिर घरकै खाना खाएर पढ्न भ्याइन्छ,’ स्नातक तह शिक्षा संकाय प्रथम वर्षमा अध्ययनरत षडानन्द नगरपालिका मूलपानीकी सपना तामाङले भनिन्, ‘यहाँ पहिले बीएड पढाइ नहुँदा धेरै खर्च गरेर पढ्न कि सदरमुकाम कि त खाँदबारी, धनकुटा, धरान जानुपथ्र्याे, त्यो अहिले छैन।’
स्नातक पढ्न बाहिर जानुपर्ने बाध्यता हटेपछि ग्रामीण भेगका विद्यार्थी उत्साहित बनेका छन्। ‘बालागुरुको पवित्र जन्मथलोमै खोजेजस्तै निःशुल्क स्नातक तह पढ्न पाउँदा हाइसन्चो भएको छ,’ अर्का विद्यार्थी षडानन्द नगरपालिका केउरेनीपानीका सन्तोष श्रेष्ठले भने, ‘अझ मास्टर डिग्रीको क्लास पनि यहीँ भइदिए झन् सुनमा सुगन्ध हुने थियोे।’
गत वर्ष भदौमा षडानन्द नगरपालिकाका जनप्रतिनिधिसँग क्याम्पस व्यवस्थापन समितिको संयुक्त बैठकको निर्णयले नगरपालिका तथा वडाबाट सिफारिस लिएर आउने विद्यार्थीलाई क्याम्पसमा निःशुल्क भर्ना गरिएको थियो।
क्याम्पसले नगरपालिका क्षेत्रबाहेक बाहिरबाट आउने विद्यार्थीलाई पनि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिसमा निःशुल्क भर्ना गरेको जनाएको छ। नगरपालिकाको पहलमा क्याम्पसले शैक्षिक सत्र ०७४/७५ मा स्नातक तह ४ बर्र्से शिक्षा र व्यवस्थापन संकाय प्रथम वर्षमा निःशुल्क भर्ना सुरु गरेको हो।
अहिले स्नातक तहमा शिक्षा संकायअन्तर्गत यसअघि नेपाली र अर्थशास्त्र विषयमा अध्यापन हुँदै आएकोमा अहिले स्वास्थ्य, जनसंख्या, शिक्षा योजना व्यवस्थापन र अंग्रेजी विषयको पठनपाठन सुरु गरिएको छ। क्याम्पसमा १५ जना प्राध्यापक छन्। नगरपालिकालगायत नगरपालिका क्षेत्रका सबै वडाले छुट्याएको बजेटले प्राध्यापकको तलब समायोजन गरिएको जनाएको छ।
४९ जना विद्यार्थीमध्ये ४२ जनाले वडाको सिफारिसबाट निःशुल्क पढिरहेको र अघिल्लो वर्षका बाँकी ७ जनाले पनि नयाँ व्यवस्थासँगै निःशुल्क पढिरहेको क्याम्पसप्रमुख नरेन्द्र बस्नेतले जानकारी गराए।
‘निःशुल्क क्याम्पस पढ्न पाउने भएपछि विपन्न विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने भएकाले विद्यार्थीको संख्यामा वृद्धि आएको छ,’ उनले भने, ‘०६७ सालमा स्थापना भएको क्याम्पसमा स्थापनाकालदेखि नै आर्थिक अभावका साथै विद्यार्थी अभाव थियो।’
जहानियाँ राणाशासनकालमा पनि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्दको विरासतलाई निरन्तरता दिन नगरपालिकाले जोड दिएको उपमेयर मेरिका राईले बताइन्।
उनले भनिन्, ‘उच्च शिक्षाप्रतिको लगाव र चाहनाले दुर्गमका विद्यार्थीलाई टाढाटाढा कष्ट गरेर पढ्नु नपरोस् भनेर यो निर्णय गरेका हौँ।’
नगरपालिकाले क्याम्पसको शैक्षिक र भौतिक विकास गर्न आर्थिक वर्ष ०७४/७५ मा क्याम्पसको भवन निर्माणका लागि १४ लाख ५० हजार विनियोजन गरेको थियो। साथै, क्याम्पस परिसरमै भवन निर्माणका लागि विनियोजित १० लाख लागतमा अर्को पठनपाठन भवन पनि सम्पन्न गरिएको छ।