निर्मला हत्याप्रकरण : आफन्त भन्छन्, न्यायको आशा मर्यो
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उच्चस्तरीय छानबिन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । केसीको राजीनामाले घटनाको सत्यतथ्य बाहिर आउनेमा शंका बढेर गएको हो ।
प्रहरीको नयाँ अनुसन्धान टोली र सीआईबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका हुन् । अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमाको पनि छोरीले अब न्याय पाउने आशा मरेको बताए ।
‘मैले त अहिलेसम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आस मर्न थाल्यो ।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीले केही दिनअघि एक टीभी अन्तर्वार्तामा दिएको अभिव्यक्तिले नै छोरीले न्याय पाउने आशा मारिसकेको थियो ।’ वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनले बताए ।
सरकारले नै अपराधी बचाउन खोजेपछि आफूहरूको छोरीले न्याय पाउने अब कुनै सम्भावना नदेखेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘छोरीका हत्यारा पक्राउ पर्लान् र छोरीलाई न्याय देला भन्ने आशा थियो’, उनले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ ।’ डेढ महिनासम्म पनि न्यायको आस जीवितै राखे पनि अब भने त्यो पनि मरेको उनको भनाइ छ ।
समितिका सदस्यले राजीनामा दिएपछि निर्मलालाई न्याय दिने अभियानमा क्रियाशील रहेकाहरूसमेत सशंकित बनेका छन् । ‘छानबिन समितिका एक सदस्यको राजीनामाले झन् खतरा देखिएको छ’, अधिकारकर्मी एवं अधिवक्ता पुनम चन्दले भनिन्, ‘हत्यारा जोगाउन अब झन् चलखेल हुने देखियो ।’ समितिकै सदस्यले आफ्नो समितिको छानबिनमा असहमति राखेर राजीनामा दिइसकेपछि आशंका बढेको उनले बताइन् ।
अधिकारकर्मी शारदा चन्दले घटनाको अनुसन्धान गर्न गठित समितिकै सदस्यको राजीनामा आउनुले निर्मलाले न्याय पाउला भन्नेमा आशंका बढाएको बताइन् । ‘ छानबिन समितिका सदस्यको राजीनामापछि वास्तविक हत्यारा पक्राउ पर्दैनन् भन्ने प्रस्ट भएको छ’, उनले भनिन् ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने समितिको काम छानबिन गर्ने मात्रै भएकाले समितिका सदस्यको राजीनामाले अनुसन्धानमा असर नपर्ने जनाएको छ । ‘समितिले हामीलाई अनुसन्धानमा केही सहयोग गर्न सक्ने हो तर सदस्यकै राजीनामा आए पनि समितिलाई आवश्यक भए अर्को मानिस थप गर्न सक्ला’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले भने । प्रहरीको अनुसन्धानमा भने समितिका सदस्यले राजीनामा गर्दा कुनै असर नपर्ने बताए ।
उच्चस्तरीय छानबिन समिति पनि सदस्यको एक्कासि आएको राजीनामाले अचम्भित बनेको छ । समितिका संयोजक हरिप्रसाद मैनालीले रिपोर्ट लेख्ने काम भइरहेकै बेला सदस्यको राजीनामा कसरी आयो आफूलाई जानकारी नभएको बताए ।
‘हामी १५ दिनसम्म एकसाथ भएरै घटनाको छानबिन गरेका हौं’, उनले भने, ‘अहिले छानबिनपश्चात् रिपोर्ट लेख्ने काम सुरु गर्ने तयारी थियो, उहाँले राजीनामा दिएको थाहा भयो ।’ मैनालीले छानबिन क्रममा उहाँको कुनै मतभिन्नता नरहेको प्रस्ट पारे ।
संयोजक मैनालीले गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार नै समितिले छानबिन गरेको बताए । उनले निलम्बित एसपी डिल्लीराज विष्ट र प्रहरी प्रधान कार्यालयमा तानिएका अन्य प्रहरी अधिकृतहरूसँग सोधपुछ बाँकी नै रहेका बेला सदस्यले राजीनामा दिएको बताए । सरकारले छानबिन समितिको १५ दिन म्याद थप गरेको छ ।
उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन् । उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘म्याद थप भएपछि समितिमा बसेर अरू काम गर्न मैले उपयुक्त ठानिनँ’, उनले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ ।’
‘घटनाको छानबिन क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाइटेड नेसन ह्युम्यान राइट्स अफिस अफ द हाई कमिसन, मानवअधिकार सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत् नागरिक समाज र राजनीतिक दललगायतलाई मेरो जीवन रक्षाका लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु’, केसीले हस्तलिखित जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको अर्काे दिन भीमदत्त नगरपालिका–२ र १८ को निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।