मोरङ सेमिफाइनलमा

मोरङ सेमिफाइनलमा

बेलबारी : मोरङ फुटबल एकेडेमी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको खेलमैदानमा सोमबार भएको खेलमा विदेशी पाहुना टोली भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ५-० को फराकिलो गोल अन्तरले स्तब्ध बनाउँदै मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । वर्षाका कारण हिलाम्य बनेको मैदानमा पाहुना टोली खर्साङले सन्तोषजनक खेल पस्कन नसकेको फाइदा राष्ट्रिय र विदेशी खेलाडीसहित मैदानमा आएको मोरङले लियो ।

एकपक्षीय खेलमा मोरङको सनसनीपूर्ण जितका लागि कप्तान सन्तोष न्यौपानेले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । मोरङका तर्फबाट कर्ण लिम्बू र शौजन राईले एक÷एक गोल गरे । प्रतियोगिताको म्यान अफ दी म्याच घोषित न्यौपानेले खेलको १६औं मिनेटमै गोलको खाता खोलेर मोरङलाई अग्रता दिलाएका थिए । एक्लै अघि बढेका उनले विपक्षी गोलरक्षक निगम सिंहलाई बिट गर्दै बललाई पोस्टको दिशा दिँदा खर्साङ दबाबमा पर्‍यो । त्यसको तीन मिनेटमै मोरङले अग्रता दोब्बर बनाउँदा खर्साङ सम्हालिन सकेन । १९औं मिनेटमा विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बललाई कर्ण लिम्बूले नियन्त्रणमा लिएर पोस्टको दर्शन गराउँदा मोरङ २-० गोल अन्तरले अघि बढ्यो ।

खर्साङका विरेन प्रधानले डिबक्सभित्र मोरङका शौजन राईलाई फल गरेपछि ७०औं मिनेटमा रेफ्री मदन काफ्ले मोरङलाई पेनाल्टी सुटआउटको अवसर दिन चुकेनन् । सन्तोषले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक निगम सिंहलाई ठोक्किएर रिवान्ड भए पनि पुनः उनैले त्यसलाई पोस्टको दिशा दिन सक्दा खेल ३-० अन्तरमा पुग्यो । ७३औं मिनेटमा मोरङले खेललाई ४-० को अन्तरमा पुर्‍यायो । वान टु वान पासको मद्दतबाट बललाई जाली चुमाउँदै सन्तोषले ह्याट्रिक पूरा गर्दा खर्साङको हार निश्चितजस्तै बन्यो । खेलको इन्जुरी समयमा गोल थपेर खर्साङमाथि ५-० अन्तरको फराकिलो जित आफ्नो टिमलाई दिलाउन शौजन राई सफल भए ।

खेलको दोस्रो मिनेटमै कर्ण लिम्बूले विपक्षी गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई खर्साङका खेलाडीले क्लियर गरेर आफ्नो टिमको सुरुआती संकट टारेका थिए । ३२औं मिनेटमै विपक्षी गोलरक्षक निगम सिंह अगाडि बढेको मौकामा उनैले गरेको प्रहारलाई पनि खर्साङका विरेन प्रधानले क्लियर गरिदिए । ३७औं मिनेटमा गोलरक्षक सिंह अगाडि बढेको मौकामा पनि कर्ण खाली पोस्टमा गोल गर्नबाट चुके । गोलरक्षक अगाडि बढेको अवस्थामा ५७औं मिनेटमा पनि उनको प्रहारमा विपक्षी खेलाडी विरेन बाधक बने । ६६औं मिनेटमा मोरङका शौजन राईको प्रहार क्रस बारमा लागेर फर्कियो ।

मोरङका सामु फितलो प्रदर्शन गरेर निरीह बनेको खर्साङले २५औं मिनेटमा गोल फर्काउने अवसरलाई सदुपयोग गर्न सकेन । निवार रानाको प्रहारमा मोरङका गोलरक्षक किशोर गिरी बाधक बने । २९औं मिनेटमा खर्साङका राजीव प्रधानको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन । ३९औं मिनेटमा रोहन राई वान भर्सेस वानमा चुक्दा पहिलो हाफमा खर्साङले गोल फर्काउन सकेन । मध्यान्तरपछि ६०औं मिनेटमा राजीव प्रधानको प्रहारलाई मोरङका गोलरक्षक गिरीले उत्कृष्ट ढंगबाट बचाउ गरेर आफ्नो टिमका विरुद्ध गोल हुनबाट जोगाए । ८०औं मिनेटमा आदर्श तामाङ चुक्दा खर्साङले खेलमा सान्त्वना गोल पनि फर्काउने अवसर पनि गुमायो । मंगलबारको खेलमा रेडहर्ष क्लब इलाम र अन्डर १८ राष्ट्रिय टिमबीच प्रतिस्पर्धा हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.