रोल्पाका ९ स्थानीय तहमा बैंक

रोल्पाका ९ स्थानीय तहमा बैंक

रोल्पा (लिबाङ) : गाउँमा बैंक नहुँदा समस्या भोगिरहेका रोल्पाका स्थानीय तहलाई अहिले सहज भएको छ। हरेक स्थानीय तहमा बैंक पुगेपछि कारोबार सहज भएको हो। गत आर्थिक वर्षमा रोल्पाका गाउँपालिकाले बैंकिङ कारोबार लिबाङमा रहेका बैंकबाट नै गर्नुपरेको थियो।

गाउँपालिकाका कर्मचारीको तलब भत्ता मात्र होइन सम्पूर्ण विकास बजेटका लागि सबै उपभोक्ताले लिबाङ धाउनुपर्दा हैरानी बेहोरे। उपभोक्ता समितिले खाता खोल्न र भुक्तानी लिन सदरमुकाम पुग्नैपर्ने अवस्थाले समय र खर्चको वर्वादी झेल्नुपरेको थियो। यद्यपि, गाउँपालिकामा खुलेका बैंकले ठूलो रकमको कारोबार नगर्दा समस्या उब्जिएको छ।

गत आर्थिक वर्षको अन्त्यतिर माडी गाउँपालिकाको घर्तीगाउँ बजारमा नेपाल बैंकले शाखा स्थापना गर्‍यो। असारको अन्तिममा भुक्तानीको चटारोका बेला गाउँपालिकामै खुलेको बैंकमा खाता खोल्न र भुक्तानी लिन सजिलो भएको थियो। माडीमा बैंक स्थापना भएपछि पश्चिम भेगका गंगादेव, परिवर्तन गाउँपालिकालाई पनि सहज भयो। ‘बैंक स्थापना भएपछि असारको अन्तिममा भुक्तानीका लागि उपभोक्तालाई सजिलो भयो’, माडीगाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले भने। घर्तीगाउँमा ग्लोबल आईएमई बैंकले पनि शाखा स्थापनाको अन्तिम तयारी गरिसकेको छ।

परिवर्तन गाउँपालिकालाई साना रकमको बैंकिङ कारोबारका लागि घर्तीगाउँ वा सदरमुकाम पुग्नुपर्ने अवस्था छैन। साउन १३ गते पुत्लाचौरमा जनता बैंक स्थापना भइसकेको छ। गाउँपालिका परिसरमै बैंक खुलेपछि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी मात्र होइन त्यस भेगका सर्वसाधारणसमेत खुसी भएका छन्। ‘थोरै रकम कारोबारका लागि सदरमुकाम जाँदा अनावश्यक आर्थिक भार पर्ने र समयको वर्वादी हुने अवस्थाको अन्त्य भयो’, अध्यक्ष निमकान्ता डाँगी भन्छन्, ‘चालू आर्थिक वर्षको योजनाको कारोबार गर्न बैंक खुलेपछि सहज हुने भएको छ।’ सदरमुकाम लिबाङदेखि एक दिन टाढाको दूरीमा रहेको यहाँ बैंक खुलेपछि रेमिटेन्सका लागि गाउँले समेत बैंक जान थालेका छन्।

उत्तरी थबाङ गाउँपालिकामा पनि जनता बैंकले शाखा स्थापना गरी कारोबार गर्दै आएको छ। पाँच लाखसम्म कारोबार बैंकबाट भइरहेको छ। बैंक खुलेपछि सेवाग्राहीलाई सजिलो भएको छ। ‘ठूला रकमको भुक्तानीका लागि भने सदरमुकाम पुग्नै पर्ने अवस्थाले गाह्रो बनाएको छ’, थबाङ गाउँपालिका खरिदार अधिकार बुढा भन्छन्। गंगादेव गाउँपालिकामा पनि साउन २७ गते जनता बैंकको शाखा उद्घाटन भई कारोबार सुरु भएको छ। गाउँपालिकाले यो आर्थिक वर्षदेखि सोही शाखाबाट गर्ने तयारी गरेको छ।

लुंग्री गाउँपालिकामा पनि साउन ८ गते नेपाल बैंकको शाखा स्थापना गरिएको छ। छिमेकी गाउँपालिकाको सुलिचौरमा रहेको ग्लोबल आईएमई बैंक र सदरमुकामको बैंकबाट कारोबार गर्दै आएको लुंग्री गाउँपालिकाले वडाचौरबाटै कारोबार गर्ने तयारी छ। जेठ १६ गतेदेखि इन्भेस्टमेन्ट बैंकले त्रिवेणी गाउँपालिकाको जुगारबाट कारोबार गर्दै आएको छ। आर्थिक वर्षको अन्त्यतिर बैंक खुलेपछि साना रकमको कारोबार गर्न निकै सजिलो भएको थियो। सुनील स्मृति गाउँपालिकाले सुलिचौरमा रहेको ग्लोबल बैंकबाट कारोबार गर्दै आएको छ। ठूलो रकमको कारोबारका लागि भने सदरमुकाम धाउनुको विकल्प छैन।

जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामध्ये सुनछहरी गाउँपालिकामा मात्र बैंक खुल्न बाँकी छ। बैंक स्थापना गर्नका लागि भाडाको भवन हेरफेर गरी बैंकका कर्मचारी फर्किएको गाउँपालिका अध्यक्ष आशबहादुर पुन बताउँछन्। रुन्टीगढी गाउँपालिकाको मुकाम होलेरीमा राष्ट्रिय वाणिज्य बैंक र कामना विकास बैंक छन्। ती दुवै बैंकबाट गाउँपालिकाको कारोबार गर्न कठिन भएको प्रशासकीय अधिकृत शर्मिला न्यापाने बताउँछिन्। ‘यहाँका बैंकमा केही उपभोक्ताको खाता खोलिए पनि छिमेकी जिल्ला तुलसीपुरका बैंकबाट भुक्तानी लिनु पर्‍यो। त्यसले उपभोक्ता मारमा परे’, अधिकृत न्यौपाने भन्छन्, ‘बैंकमा कर्मचारी अभाव र ईसीपी क्लियरेन्स क्षमता अभावले बैंकबाट साना रकम भुक्तानीसमेत कठिन भयो।’

गाउँपालिकामा करोडौंको बजेट कारोबार हुने भएकाले बैंकहरूले कारोबारको क्षमता बढाउन आवश्यक रहेको जनप्रतिनिधिको माग छ। रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बैंकको कारोबार बढाउन राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व र राजधानीमा रहेका नेतालाई दवाव दिन पुगे। बैंकको थोरै रकम मात्रको कारोबारले गाउँपालिकामा गाह्रो हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.