छैन गाउँमा एम्बुलेन्स, अकालमै जान्छ ज्यान

छैन गाउँमा एम्बुलेन्स, अकालमै जान्छ ज्यान

ललितपुर : गत चैतमा वाग्मती गाउँपालिका इकुडोलकी सुजाता तामाङलाई घरमै भरुवा बन्दुकले लाग्यो। पेटमा गोली लागेका कराण उनको आन्द्रा बाहिर निस्किएको थियो। तर अस्पताल जान एम्बुलेन्स भएन। चापागाउँबाट एम्बुलेन्स पुग्दा ढिला भयो। अस्पताल नपुग्दै उनको मृत्यु भयो।

यो त एउटा उदाहरण मात्र हो, ललितपुरका धेरैजसो पहाडी क्षेत्र पर्छन्। मकवानपुर र काभ्रेसँग जोडिएको स्थानका सर्वसाधारणले उपचार नपाउँदा समस्या बेहोर्नुपरेको छ। कतिपयले तामाङकै नियति भोग्नुपरेको छ। विशेषगरी वाग्मती, कोन्जोस्योम र महाँकाल गाउँपालिकामा सडक तथा एम्बुलेन्सको सुविधा नहुँदा अकालमै ज्यान जानेको संख्या प्रशस्त रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए।

‘वाग्मती’ गाउँपालिका चार वर्षदेखि एम्बुलेन्सविहीन छ। ‘तत्कालीन गाविस भएको बेला भट्टेडाँडामा एउटा एम्बुलेन्स थियो’, लोप्चनले भने, ‘बिग्रिएपछि मर्मत गरेर गणेशमानसिंह मेमोरियल अस्पतालले चलाइरहेको छ।’ जनताका समस्यालाई दृष्टिगत गरी यो वर्ष एम्बुलेन्स किन्न १० लाख रुपैयाँ छुट्याएको र खरिद प्रक्रिया अगाडि बढाउको छु’, उनले भने, ‘कोही दाता भेटिएमा उत्तम हुन्थ्यो।’

कोन्जोस्योम गाउँपालिका पनि हालसम्म एम्बुलेन्सको सुविधाबाट वञ्चित रहेको प्रमुख गोपीलाल स्याङ्तानले बताए। ‘दसैंसम्म एउटा एम्बुलेन्स किन्न १५ लाख रुपैयाँ छुट्याएको छु’, उनले भने। बिरामीलाई आकस्मिक सेवाका लागि जिल्लाका अस्पतालसँग समन्वय गर्दै आएको उनको भनाइ छ।

लगनखेलबाट करिब ३० किलोमिटर दूरीमा रहेको कोन्जोस्योममा सडक नराम्रो भएको कारण एम्बुलेन्स पुग्न समय लाग्ने उनको बताए। सार्वजनिक सवारीमै बिरामी आवतजावत गर्ने र सिकिस्त बिरामीलाई आफ्नै गाडीमा हालेर पठाएको उनको भनाइ छ। ललितपुरको अर्को गाउँपालिका महाँकालमा भने एउटा एम्बुलेन्स सञ्चालनमा छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिकिस्त बिरामी भएको अवस्थामा बोलाएको सात मिनेटभित्र एम्बुलेन्स पुग्नुपर्छ। तर नेपालको ‘एम्बुलेन्स सञ्चालन निर्देशिका २०७३’ मा यस प्रकारको कुनै समयावधि नतोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका एम्बुलेन्स फाँटमा कार्यरत मोहन रिजालले बताए। ‘नयाँ निर्देशिकामा पनि समयावधि तोकिएको छैन’, उनले भने।

निर्देशिकाले सय शड्ढयादेखि माथिका अस्पतालमा ‘क’ वा ‘ख’ वर्गका एकभन्दा धेरै एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ। तर स्थानीय तहले एम्बुलेन्स सञ्चालन गर्न जिल्ला जनस्वास्थ्यबाट अनुमति लिनुपर्ने प्रावधान रहेको रिजालको भनाइ छ। एम्बुलेन्स किन्न राज्यले भन्सार छुटको व्यवस्था गरेको छ, जसका लागि जिल्ला एम्बुलेन्स सेवा समितिले सिफारिस गर्दै आएको छ। एम्बुलेन्सको नियमन तथा अनुगमन समितिले गर्दै आएको छ। प्रजिअ प्रेमराज जोशीले जिल्लामा एकदुइ वटा मात्रै गुणस्तरीय एम्बुलेन्स देखेको बताए। ‘भ्यानलाई एम्बुलेन्स बनाउनुहुँदैन। एम्बुलेन्समा अक्सिजन, बिरामी सुत्ने ठाउँ, डाक्टर र नर्स बस्ने व्यवस्था हुनुपर्छ’, उनले भने।

नवीकरणबिनै चल्छन् एम्बुलेन्स

ललितपुरमा ४८ वटा एम्बुलेन्स दर्ता भएका छन्। यीबाहेक चार वटा खरिद प्रक्रियामा छन्। तर ४८ वटै एम्बुलेन्स सञ्चालनमा आएदेखि नवीकरण भएका छैनन्। केही दिनअघि सबैलाइ दर्ता गर्न आउन पत्राचार गरिएको रिजालले बताए। ‘सञ्चालकलाइ सुरुमा सम्झाउने र त्यति गर्दा पनि नमानेको अवस्थामा कारवाहीस्वरूप दर्ता खारेजसम्म हुन सक्छ’, उनले भने।

तोकेको भन्दा अन्य ठाउँमा सेवा दिन नपाइने व्यवस्था भए पनि एम्बुलेन्स शव वाहन बनेको जनगुनासो धेरै आएको बताए। तोकिएको भन्दा फरक काम गरेको भेटिए दर्ता खारेज गरिने उनको भनाइ छ। भट्टेडाँडाको एम्बुलेन्स गणेशमानसिंह अस्पतालले गैरकानुनी रूपमा चलाएको विषयमा पनि आवश्यक छानबिन गरिने उनले बताए। ‘प्रत्येक वडामा एकएकवटा एम्बुलेन्स भए सजिलो हुन्थ्यो’, रिजालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.