पूर्वी नेपालमा भूकम्पको धक्का
इटहरी : पूर्वी नेपालमा बुधबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ। बिहान १० बजेर ३८ बजे भूकम्प गएको हो। भूकम्पका कारण घर, पोलहरू हल्लिएका थिए भने मानिसहरू डरले घरबाट बाहिर निस्किएका थिए।
सुनसरी, मोरङ, झापा लगायतका ठाउँमा धक्का महसुस गरिएको थियो। पाँचथर र इलाममा पनि भूकम्पको धक्का महसुस भएका विवरण आएका छन्।
राष्ट्रिय भूकम्पमापन केन्द्रले नेपाली समय अनुसार १०:३५ बजे भुटान र भारतको मेघालयबीच वनगाई गाउँ केन्द्र बनाएर ६.१ रेक्टरस्केलको भूकम्प गएको र त्यसैको कारण पूर्वी नेपालमा धक्का महसुस भएको जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भे युएसजीएसका अनुसार भारतको असाम राज्यको सप्तग्राम केन्द्र बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
भारतीय मिडियाहरूका अनुसार जम्मु कस्मिरमा पनि भूकम्पको धक्का महसुस भएको छ। बंगलादेशमा पनि भूकम्पको धक्का महसुस भएको समाचार छ।