पत्नीको अन्त्येष्टिका लागि नवाज शरीफ जेलमुक्त
लाहोर : भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको छ। शरीफकी पत्नी कुलसुम नवाजको मंगलबार लन्डनमा निधन भएको थियो।
कुलसुमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरीफ र उनकी छोरी मरीयमलाई भ्रष्टाचार आरोपमा थुनामा राखिएको थियो। शरीफ, मरीयम र उनका पति कप्तान मुहम्मद सफदरलाई रावलपिण्डीस्थित जेलमा बन्दी बनाइएको छ। नवाजका भाइ शाहबाज शरीफले पञ्जाब सरकारसमक्ष विवेदन दिएर अन्त्येष्टिका लागि पाँच दिन जेलमुक्त गरिदिन अनुरोध गरेका थिए। पञ्जाब सरकारले १२ घण्टाका लागि मात्रै जेलमुक्त गर्ने सूचना दिएको थियो। शरीफ र उनकी छोरी मरीयमलाई रावलपिण्डीस्थित नूर खान एयरबेसबाट बुधवार लाहोर ल्याइएको छ।
कुलसुमको दाहसंस्कार लाहोरमा गरिने कार्यक्रम रहेको पीएमएलले जनाएको छ। उनीहरू दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरूको जमानतको अवधि बढाउन सक्ने रावलपिण्डी केन्द्रीय कारागारका अधिकारीले जानकारी दिए। स्थानीय सञ्चारमाध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन्। कुसलुमको शव शरीफ परिवारको निवास जाटी उमरामा गाडिने जानकारी दिइएको छ। उनको शव लिन नवाजका भाइ शहवाज बुधवार लन्डन प्रस्थान गरेका छन्। कुलसुमको अन्त्येष्टिमा छोराहरू हसन र हुसैन भने अनुपस्थित रहने बताइएको छ। विदेशमा सम्पत्ति राखेको उजुरीमा अदालतले उनीहरूलाई भगौडा घोषित गरेको छ।
नवनज र मरीयम पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनीहरू पाकिस्तान फर्किएका थिए।
राजनीतिमा सक्रिय ६८ वर्षीया कुलसुमले नवाज शरीफको राजनीति अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनलाई क्यान्सर भएको गत वर्ष अगस्तमा पत्ता लागेको थियो। महिनौंदेखि लन्डनस्थित निजी अस्पतालमा उनको उपचार भइरहेको थियो। सर्वोच्च अदालतले नवाजलाई अयोग्य घोषणा गरेपछि त्यस क्षेत्रबाट चुनाव लडी विजयी भएकी थिइन्। पाकिस्तानमा सैन्य कुबाट नवाज निर्वासित भएका बेला उनले पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्।
नवाज शरीफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसुमको निधनप्रति दुःख प्रकट गरेका छन्। यसैगरी भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि कुलसुमप्रति शोक प्रकट गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !