पोखरी बनेपछि बाह्रैमास खेती
कुश्मा : सिँचाइ अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने समस्या हटेको छ। सिँचाइ नहुँदा जिल्लाको मुख्य खाद्यान्न उत्पादन हुने कुश्मा नगरपालिका वडा नं. १ पाङका कृषकले खेतबारी बाँझै राख्दै आएका थिए। नजिकै भरपर्दो सिँचाइ स्रोत नहुँदा आकासेपानीको भर परेर रोपाइँ गर्दै आएका किसानको समस्या भने अब हटेर गएको छ।
खेतीयोग्य जमिन माथि सिँचाइ पोखरी निर्माण भएपछि उक्त समस्या हटेको हो। किसानले सिँचाइ अभाव टार्न पोखरी निर्माण गरेका हुन्। खेतीयोग्य जमिन प्रशस्त रहेपनि सिँचाइ अभावमा बाँझो रहेको पाङको नुवार, सुवेदीथरको जमिनमा बाह्रैमहिना सिँचाइ हुने भएको छ।
कुश्मा नगरपालिकाको ६ लाख ५० हजार रुपैयाँ र स्थानीयबासीको श्रमदान एक लाख ३० हजार गरी कुल सात लाख ३० हजार रुपैयाँमा पोखरी निर्माण गरिएको हो। पोखरीमा जम्मा भएको पानीले एक सय ४० घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन्। १९ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ६ फिट गहिराइको पोखरीमा जम्मा भएको पानीले १४ हेक्टर क्षेत्रफलको खेतबारी सिँचाइ हुने भएपछि किसान हर्षित बनेका छन्। पोखरीमा जम्मा हुने पानी ल्याउन र सिँचाइ गर्न कुलो पनि निर्माण गरिएको छ।
आर्थिक अभावका कारण पोखरी निर्माण गर्न नसकेका किसानका लागि नगरपालिकाले साढे ६ लाख रुपैयाँ सहयोग गरेपछि बाँकी श्रमदानबाट खनिएको थियो। पोखरी बनेपछि समयमै सबै किसिमका बालीनाली लगाउन सकिने भएको स्थानीय देवेन्द्र सुवेदीले जानकारी दिए।
उनले भने, ‘धाराको पानी संकलन गरेरै भए पनि समयमै मौसमअनुसार बालीनाली लगाउन पाइने भयो।’ अब आकाशतिर हेरेर बस्नुपर्ने बाध्यता हटेको उनले बताए।
स्थानीय होमनाथ सुृवेदीका अनुसार पोखरी निर्माण भएपछि उत्पादनसमेत बढ्ने अपेक्षा स्थानीयको छ। ‘पहिला धान, मकै, आलु वा अन्य तरकारी रोपेपछि पानी लगाउन पाइँदैनथ्यो। अब भने पोखरीमा संकलन भएको पानीले पालैपालो आ–आफ्नो खेतबारीमा सिँचाइ गर्न पाइने भएको छ’, सुवेदीले भने। उक्त पोखरीको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका थिए। पोखरीले पाङको उर्वर भूमिबाट दोब्बर÷तेब्बर कृषि फसल उत्पादन गरेर आत्मनिर्भर बन्न सहयोग पुर्याउने उनको भनाइ छ।
नगरप्रमुख जोशीले सिँचाइ सुविधा र सडक पुगेकाले विदेश जाने र भौतारिनेभन्दा गाउँमै तरकारी, खाद्यन्न र फलफूल उत्पादनमा लाग्न युवालाई सचेत गराए।