तीन वर्षमा काठमाडाैंमा मोनोरेल

तीन वर्षमा काठमाडाैंमा मोनोरेल

काठमाडौं : काठमाडौं उपत्यकाभित्र तीन वर्षमा मोनोरेल सञ्चालन हुने भएको छ । चीनको निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी)ले तीन वर्षभित्र मोनोरेल कुदाउन सकिने गरी सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । सीआरसीसीले काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरलाई उक्त प्रतिवेदन बुझाएको हो । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जनलाई सीआरसीसीका महाप्रबन्धक झावो सिवावोले प्रतिवेदन बुझाएको काठमाडौं महानगरका सहप्रवक्ता नमराज ढकालले जानकारी दिए ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौंबासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चिनियाँ कम्पनीले सम्झौता गरेको समय सीमाभित्रै प्रतिवेदन बुझाएकोमा खुसी प्रकट गरे । ‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौं’, मेयर शाक्यले भने, ‘हामीले केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउनेछौं ।’ उनले मोनोरेल चढेर मात्रै आफू बिदा हुने बताए । ललितपुर महानगरका प्रमुख महर्जनले प्रतिवेदनले सकारात्मक सञ्चार प्रवाह भएको प्रतिक्रिया दिए । ‘ललितपुरमा थोरै भाग पर्छ तर पनि हामी जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्छौं’, उनले भने ।

एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेल सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा तीन वर्षभित्र निर्माण पूरा गर्न सकिने जनाइएको छ । चिनियाँ कम्पनीले निःशुल्क रूपमा ‘फिजिबिलिटी टेस्ट’ गरिदिएको हो । गत जेठ ११ गते ६ महिनाभित्र सीआरसीसी कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने सहमति गरेको थियो । चिनियाँ कम्पनीले दुवै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफू डीपीआरका लागि तयार रहेको जानकारी दिएको छ । सीआरसीसीका महाप्रबन्धक सिवावोले चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिँदै जतिसक्दो छिटो निर्णय दिए डीपीआर तयार गर्न सुरु गर्ने बताए ।

उक्त चिनियाँ कम्पनीलाई विज्ञहरूसँग छलफल गरेर एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने ललितपुरका मेयर महर्जनले बताए । उक्त प्रतिवेदनअनुसार तीन चरणमा निर्माण हुनेछ । ६ महिनाभित्र डीपीआर तयार गर्ने र तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । कोटेश्वर–कलंकी, कलंकी–महाराजगन्ज र महाराजगन्ज–कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेल निर्माण सम्पन्न हुनेछ । तीन हजार यात्रु बोक्न सक्ने मोनोरेल प्रतिघण्टा एक सय किलोमिटरको गतिले कुद्नेछ । फिजिबिलिटी टेस्टले भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिक रूपमा मोनोरेल सञ्चालनका लागि उपयुक्त रहेको देखाएको छ । सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । चक्रपथमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् । मोनोरेलको लिक २७.५ किलोमिटरको हुनेछ जसमा ललितपुरमा १० किलोमिटर पर्छ ।

मेट्रोरेलको सम्भाव्यता अध्ययन गर्न कम्पनी छनोट

यसैबीच नागढुंगाबाट धुलिखेलसम्म ४५ किलोमिटर दुरीमा मेट्रोरेलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले मागेको प्रारम्भिक प्रस्तावमा २३ वटा कम्पनीमध्येबाट ६ वटा छानिएका छन् । यसका लागि आधा दर्जन विदेशी परामर्शदाता छनोट भएका छन् । उनीहरूलाई ३० दिनभित्रै प्रस्ताव पेस गर्ने समय तोकिएको छ । छनोट हुने कम्पनीले मेट्रोरेलको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । उनका अनुसार चीन, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता छनोट भएका हुन् । परामर्शदाता छनोट भएका कम्पनीमा चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोई कम्पनी लिमिटेड, राइट्स इन्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेसन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन्् । यी कम्पनीले दिएको प्रस्तावका आधारमा उत्कृष्टमध्ये एक कम्पनी छनोट हुनेछन् । छनोट भएको डीपीआरको आधारमा मेट्रोरेल निर्माण हुने भएको पनि वाग्लेले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.