निर्मला हत्या प्रकरण : फेरि सुरु भयो आन्दोलन
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन सुरु भएको छ। महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै बिहीबारदेखि सुरु गरेको हो। भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो।
उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो। समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबाबमूलक आन्दोलनका कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन्।
‘निर्मलाका हत्यारा पक्राउ पर्नुपर्ने र निर्मलाले न्याय पाउनुपर्ने हाम्रो सुरुदेखिको माग हो’, संयोजक श्रेष्ठले भनिन्, ‘माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहन्छ।’ तीजमा कालो पहिरन लगाएर विरोध सुरु गरेका महिलाले बिहीबार महेन्द्रनगर बजारमा थाल ठटाएर प्रदर्शन गरेका छन्।
उनीहरूले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयअगाडि धर्नासमेत दिए। ‘हामी निर्मलाका हत्यारा पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम गरिरहनेछौं’, अधिकारकर्मी प्रीतिधीर भण्डारीले भनिन्, ‘यो आन्दोलन भनेकै निर्मलालाई न्याय दिलाउन हो।’
नेविसंघ कञ्चनपुरले समेत बिहीबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ। ‘निर्मलाका हत्यारा अहिलेसम्म सरकारले पक्राउ गरेको छैन’, नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘सरकारलाई दबाब दिनकै लागि हाम्रो चरणबद्ध आन्दोलन सुरु भएको हो।’ उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलन क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्नेलगायत माग आफूहरूले माग अघि सारेको बताए।
नेविसंघका जिल्ला नेता किशोरप्रसाद जोशीले अबको आन्दोलन सरकारले हत्यारा पत्ता नलगाउन्जेलको हुने बताए।
दबाब सिर्जना गर्नकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मी काठमाडौं पुगेका छन्। काठमाडौंैमा दबाबमूलक कार्यक्रमअन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाजलगायतसँग भेटभाट गर्ने कार्यक्रम छ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन। प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनीसमेत रिहा भइसकेका छन्।
प्रहरीले अनुसन्धान क्रममा अब शंकास्पद रहेका सबैको डीएनए परीक्षण गर्ने लगायत अनुसन्धान साँघुरो बनाउँदै लैजाने बताएको छ। ‘अनुसन्धान निकै सिरियस भएर गरिरहेका छौं’, डीएसपी कृष्णराज ओझाले भने, ‘अब डीएनए परीक्षण शंका लागेका मानिसको समेत गरिन्छ।’
साउन १० गते साथी रोशनीको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया बालिका निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका–२ र १८ को सीमामा पर्ने निम्बुखेडा खोलानजिकै उखुबारीमा शव भेटिएको थियो। निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै डेढ महिनादेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनमय बनेको छ।