स्थानीय सरकारको बजेट : प्राथमिकतामा परेनन् बालबालिका
कालिकोट : स्थानीय सरकारको बजेटको प्राथमिकतामा बालबालिका नपरेको पाइएको छ। मुलुकको संघीय संरचनाअनुसार गठित जिल्लाका ९ वटा स्थानीय तहले गत वर्ष खर्च गरेको बजेट र चालु आवको विनियोजित बजेट हेर्दा स्थानीय सरकारको बजेटको प्राथमिकतामा बालबालिका नपरेको पाइएको हो।
जिल्लामा तीन वटा नगरपालिका र ६ वटा गाउँपालिका छन्। गत आवमा कुनै पनि स्थानीय तहले बालबालिका क्षेत्रमा छुट्टै बजेट विनियोजन गरी खर्च नगरेको पाइएको छ। सबैजसो स्थानीय तहले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि एकमुष्ट थोरै बजेट विनियोजन गरेका छन्। स्थानीय तह सञ्चालन कार्यविधि २०७४ मै बालबालिकाको क्षेत्रमा छुट्टै बजेट विनियोजन गर्नुपर्ने व्यवस्था नभएका कारण बजेटको प्राथमिकतामा बालबालिका नपरेको जनप्रतिनिधिको भनाइ छ। पहिले साविकका स्थानीय निकायले कुल बजेटको १५ प्रतिशत बालबालिकाको क्षेत्रमा अनिवार्य विनियोजन गरी खर्च गर्नुपर्ने कानुनी व्यवस्था थियो।
त्यस्तै, खाँडाचक्र नगरपालिकाले चालु आर्थिक वर्षमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत लक्षित वर्गको क्षेत्रमा खर्च गर्ने गरी ३३ लाख बजेट विनियोजन गरेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगिनीका अनुसार गत वर्ष पनि ३० लाख बजेट विनियोजन गरी खर्च गरेको छ। चालु आर्थिक वर्षमा नगरमा कुल ४२ करोड बजेट छ।
यस्तै, तिलागुफा नगरपालिकाले चालु आवको कुल ३५ करोड ३५ लाख बजेटमा १० लाख बालबालिका, महिलालगायत लक्षित वर्गमा बजेट विनियोजन गरेको छ। नगरले गत आवमा बालबालिकाको क्षेत्रमा ५ लाख मात्र खर्च गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पाण्डेले बताए। नरहरिनाथ गाउँपालिका पनि चालु आर्थिक वर्षको कुल बजेट २६ करोडमा १४ लाख ५० हजार बालबालिका, महिलालगायत लक्षित वर्गकोे क्षेत्रमा बजेट विनियोजन गरेको छ। नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गत आवमा बालबालिकाको क्षेत्रमा ९ लाख बजेट खर्च भएको बताए।
यस्तै, शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डिबी शाहीले चालु आर्थिक वर्षको कुल २३ करोड ८५ लाख बजेटमा ४० लाख महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत लक्षित वर्गमा बजेट विनियोजन गरेको जानकारी दिए। उनले गत आवमा पनि लक्षित वर्गका क्षेत्रमा ४० लाख नै खर्च भएको बताए। यस्तै, पलाँता गाउँपालिकाले पनि चालु आर्थिक वर्षको कुल २६ करोड बजेटमा २४ लाख विनियोजन गरेको छ। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गत आवमा बालबालिकाका क्षेत्रमा २१ लाख बजेट खर्च गरिएको बताए।
यस्तै, जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले महिला, बालबालिकालगायत लक्षित वर्षको क्षेत्रमा यस वर्ष २५ लाख बजेट विनियोजन गरिएको र गत वर्ष १५ लाख खर्च भएको बताए। जिल्लाको सबैजसो स्थानीय तहले बजेटमा सडकलाई पहिलो प्राथमिकता दिएका छन्। उनीहरूले वार्षिक ५ करोडभन्दा बढी बजेट सडकमै केन्द्रित गरेका छन्। त्यसपछि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा बजेटलाई विनियोजन गरेका छन्। स्थानीय तहले बजेटलाई सडकमा केन्द्रित गर्ने र डोजरमार्फत काम गर्दा आफूहरूको आयआर्जन गर्ने बाटै बन्द भएको स्थानीय नागरिकको भनाइ छ।