स्वास्थ्य बिमामा आकर्षण
भोजपुर : नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २३औं जिल्लाको रूपमा भोजपुरमा गत ०७४ पुस ३० गतेबाट सुरु स्वास्थ्य बिमा गर्नेको संख्या वृद्धि भएको छ ।
हालसम्म स्वास्थ्य बिमा गर्ने आठ हजार नौ सय ६० जनाबाट बढेर कुल ११ हजार आठ सय ३१ संख्या पुगेको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरले जनाएको छ । जसमा भोजपुर नगरपालिकाबाट दुई हजार सात सय ५१ जना, षडानन्द नगरपालिकाबाट एक हजार एक सय ५७, साल्पासिलिछो गाउँपालिकाबाट आठ सय ८७, टेम्केमैयुङ गाउँपालिकाबाट एक हजार दुई सय ८६ जना, अरुण गाउँपालिकाबाट एक हजार ५३, पौवादुङमा गाउँपालिकाबाट पाँच सय ७०, रामप्रसाद राई गाउँपालिकाबाट नौ सय २४, आमचोक गाउँपालिकाबाट एक हजार आठ सय ८३ र हतुवागढी गाउँपालिकाबाट एक हजार तीन सय २० जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरका अधिकृत रमेश दाहालले जानकारी दिए ।
जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएदेखि हालसम्म सात सय विपन्न घरपरिवारका तीन हजार सात सय ७० जनाले स्वास्थ्य बिमा गरेको र आगामी दिनमा गरिबलाई परिचय पत्रको आधारमा बिमा गराइने दर्ता अधिकृत दाहालले बताए ।
जिल्लाभरका सम्पूर्ण स्वास्थ्य बिमितहरूले जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्र घोरेटार, प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी र प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीबाट सेवा पाइरहेको जनाइएको छ । ‘स्वास्थ्य बिमा कार्यक्रमबाट बहिरंग, अन्तरंग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक, परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ’, दर्ता अधिकृत दाहालले भने, ‘स्वास्थ्य बिमापश्चात बिमितले स्वास्थ्य परीक्षण, एक्स–रेका साथै पाँच सय ३० प्रकारका औषधिको सेवा पाउने व्यवस्था अनुरूप नै सेवा प्रदान गरिरहेका छौं ।’ स्वास्थ्य बिमामा एक घरका पाँच जना बराबर करिब ५० हजार बराबरको निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।