संविधान दिवस ‘कालो दिन’ का रुपमा मनाउने राजपाको तयारी
जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई ‘कालो दिनको’ रुपमा मनाउन तयारी थालेको छ।
नेपालको संविधान २०७२ जारी भएका असोज ३ गते धुमधामका साथ मनाउने तयारी संघीय सरकारले गरिरहेका बेला राजपाले कालो दिनको पमा बनाउने तयारी गरेको हो।
राजपाका केन्द्रीय अध्यक्ष मण्डलकोे बैठकले मधेसका जिल्लामा मात्र सिमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु गर्ने भन्दै तयारी गरिरहेको छ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जिल्लामा परिपत्र जारी गरी असोज ३ गते विरोध प्रर्दशनका साथै साँझ सात बजेदेखि सवा सात बजेसम्म बत्ति निभाएर ‘ब्ल्याक आउट’ गर्ने निर्देशन दिइएको छ। साथै अध्यक्ष मण्डलका सबै अध्यक्षलाई विरोध कार्यक्रमका लागि विभिन्न जिल्लाहरुको जिम्मेवारी सुम्पिएको राजपा नेपालका महासचिव केशव झाले बताए।
कैलाली, कञ्चनपुर, बाँके, बर्दियामा राजेन्द्र महतो र अनिल झा, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा महेन्द्र राय यादव, बारामा महन्थ ठाकुर, सुनसरी मोरंगमा राजकिशोर यादव र झापामा शरत सिंह भण्डारीले विरोध सभाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। त्यसैगरी प्रदेश २ मा राजपाको तर्फबाट सरकारको मन्त्रीमण्डलमा रहेका नेताले विरोध कार्यक्रमहरु गर्ने तयारी रहेको छ।
संविधानलाई स्वीकार गरेर तीनै तहको निर्वाचनमा सहभागी भई प्रदेश २ को सरकारको नेतृत्व समेत गरेर सत्ताको सुख भोगिरहेको राजपा नेपालले संविधान दिवसको दिन कालो दिन मनाउने कुरालाई सर्वसाधारण जनताले पचाउन सकिराखेका छैनन्। तर, राजपाले जनताको भावना अनुरुप संविधान संशोधन होस् भन्ने अभिप्रायले नै विरोधको कार्यक्रमलाई परिवर्तित गरि सत्ताबाट पनि दबाब सिर्जना गरिराखेको महासचिव झाको भनाइ छ।
मधेस आन्दोलनको अर्को प्रमुख घटक संघीय समाजवादी फोरम नेपालले आफ्नो रणनीति सार्वजनिक गरेको छैन्। तर, फोरमका केही नेताहरुले भने संविधान दिवसको दिन आफूहरु खुलेर संविधानको विरोधमा उत्रिने बताएका छन्।
संघीय संसदमा फोरमका प्रमुख सचेतक उमाशंकर अरगडिया भन्छन्, ‘पार्टीले जे सुकै निर्णय लिएपनि म संविधान दिवसको कार्यक्रमहरुलाई बहिष्कार गर्नेछु।’
अर्को तर्फ मधेसमा विखण्डनको मांग गर्दै अभियान चलाउँदै आएको सि.के राउत समूहले पनि असोज ३ गते कालो दिनको रुपमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ। सिके राउतको समूहले ३ गते ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको छ।
संविधान निर्माणको क्रममा भएको ६ महिने मधेस आन्दोलनका बेला तत्कालीन मधेसी मोर्चाले आह्वान गरेको ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमका दिन जनकपुरमा मात्रै राज्य पक्षको तर्फबाट चारजनाको गोली हानी हत्या भएको थियो भने दर्जनौं घाईते भएका थिए।